एमालेमा लागेका दुई सांसदलाई कारवाही गर्ने माओवादीको तयारी, सांसदद्वय कारबाही भोग्न तयार – Nepal Press

एमालेमा लागेका दुई सांसदलाई कारवाही गर्ने माओवादीको तयारी, सांसदद्वय कारबाही भोग्न तयार

रुपन्देही । लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र लुम्बिनी प्रदेशले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर दुवै सांसदहरुले त्यसको जवाफ दिनुपर्ने कुनै कारण नभएको विचार सार्वजनिक गरेका छन् ।

रुपन्देहीबाट निर्वाचित सांसद दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित सांसद दिनेश पन्थीले माओवादी केन्द्रको संसदीय दललाई स्पष्टीकरण बुझउन आवश्यक नरहेको बताएका हुन् । पार्टीले स्पष्टीकरण बुझाउन दिएको समय पूरा भइसकेको छ । उनीहरु दुवैजनाले स्पष्टीकरणको पत्र प्राप्त भएको भएपनि फोनमार्फत जवाफ दिनु नपर्ने भन्दै प्रमुख सचेतकलाई जानकारी गराएको बताए ।

तर माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्तीले भने पार्टीको निर्णयविपरीत एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका रुपन्देहीका सांसद दधिराम न्यौपाने र गुल्मीका सांसद दिनेश पन्थीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

पार्टीको संसदीय दलको बैठकमा बोलाउँदा दुवै सांसद नगएपछि स्पष्टिकरण सोधिएको बताउँदै घर्तीले दुवै सांसद निलम्बन गरेको सूचना केही दिनमा नै प्रदेशसभा सचिवालयमा दिने र संसद सचिवालयमा सूचना पुग्नसाथ सांसदबाट हट्ने बताएका छन् ।

रुपन्देहीका सांसद दधिराम न्यौपानेले आफ्नो धारण पहिले नै सार्वजनिक गरिसकेकाले स्पष्टीकरणको जवाफ दिन आवश्यक नै नरहेको बताए । न्यौपानेले सांसद पद गएपनि एमाले नछाड्ने भनेर यसअघि नै सार्वजनिक गरिसकेको बताए ।
एमालेमा लागेका गुल्मीका सांसद दिनेश पन्थीले पनि स्पष्टीकरण दिनुको कुनै औचित्य नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर