पहिलो पुस्ताका चर्चित कम्युनिस्ट नेता विष्णु बहादुर मानन्धरको निधन – Nepal Press

पहिलो पुस्ताका चर्चित कम्युनिस्ट नेता विष्णु बहादुर मानन्धरको निधन

काठमाडौं । नेपालको पहिलो पुस्ताका कम्युनिस्ट नेता विष्णुवहादुर मानन्धरको ९१ वर्षको उमेरमा साेमबार निधन भएको छ । निमोनिया भएपछि पाटन अस्पतालमा भर्ना भएका मानन्धरको उपचारकै क्रममा निधन भएको उनीसँग ४० वर्षभन्दा बढी सँगै काम गरेका माओवादी स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

कुनै बेला आजका एमाले र माओवादीभन्दा धेरै ठूलो पार्टीको महासचिव थिए मानन्धर । २०१४ सालमा नेकपाको केन्द्रीय सदस्य बनेका मानन्धरले केशरजंग रायमााझीबाट फुटेर अलग पार्टी बनाएका थिए ।

नेकपा विभिन्न कालखण्डमा नेकपा (प्रजातान्त्रिक) हुँदै नेकपा संयुक्त बनेको थियो । उनी २६ वर्ष सो पार्टीको महासचिव थिए । उनी पछिल्लो समय अवकाश जीवनमा थिए ।

उनका छोरा सुनील मानन्धर माओवादी केन्द्रको नेता छन् । मानन्धरको नेतृत्वको पार्टीले २०४८ सालको निर्वाचनमा संसदमा चार सिट जितेर तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको थियो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा समेत भाग लिएका मानन्धर नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अग्रज नेता हुन् । कुनै पनि राजनीतिक लाभको पदमा नपुगी विदा हुने थोरैमध्येका एक नेता उनी हुन् ।

रौतहटका जमिन्दार परिवारका मानन्धरले किसान आन्दोलनको अगुवाई गरेका थिए । मानन्धरको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर