१९८४ पछि रंगशालामा नेपाललाई पहिलो उपाधि – Nepal Press

१९८४ पछि रंगशालामा नेपाललाई पहिलो उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले १९८४ पछि दशरथ रंगशालमा पहिलो उपाधि थ्री नेसन्स कप जितेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलको नतिजामा पराजित गर्‍यो ।

पछिल्ला सात खेलमा गोल गर्न असफल रहेको नेपाली राष्ट्रिय टोलीका लागि संजोग राईले १८ महिनापछि गोल गरेका थिए । कर्नरमार्फत रिबाउन्डमा आएको बललाई १८औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै संजोगले नेपाललाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा विशाल राईले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । उनले संजोग राईको पासमार्फत् पेनाल्टी एरिया भित्रबाट बंगलादेशका गोलकिपरलाई बिट गर्दै शानदार गोल गरेका थिए ।

दोस्रो हाफको सुरुआतदेखि नै खेलमा फर्किन निरन्तर प्रयासरत बंगलादेशका लागि सब्स्टिच्युट खेलाडी महबुबुर रहमानले ८३औं मिनेटमा एक गोल फर्काएका थिए ।

कर्नरमार्फत आएको क्रसलाई रहमानले हेडरमार्फत जाली चुमाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

प्रतियोगिताको च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर तथा उपविजेता बंगलादेशले ३ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

विश्व कप तथा एएफसी एसियन कपको छनोटका खेलहरू स्थगित भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले थ्री नेसन्स कपको आयोजना गरेको थियो । नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणको फाइनलमा नेपालले बंगलादेशलाई नै ४-२ गोलको नतिजामा पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।

त्यसपछि १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपाल बंगलादेशसँग नै १-० को नतिजामा पराजित भएको थियो । १९९९ को फाइनलमा खेलाडीको रूपमा पराजित भएका बाल गोपाल महर्जनले प्रशिक्षकको रूपमा त्यो हारको बदला लिएका छन् ।

सन् २००५ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेको बंगलादेश पुन: एक पटक उपविजेतामा सीमित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर