बागलुङको होली मेलामा यसरी भयो झमेला – Nepal Press

बागलुङको होली मेलामा यसरी भयो झमेला

दुई गाउँपालिकाबीच आरोप-प्रत्यारोप, गाउँका युवा फरार

पोखरा । बागलुङ बडिगाड गाउँपालिका १० दलिङमा होली पूर्णिमाका दिन वर्सेनि मेला लाग्ने गर्छ । मेलास्थल बागलुङ, प्युठान र गल्मीको सीमाना भएकाले सबैतिरबाट मेला भर्न आउँछन् र रंगको पर्वमा रमाउँछन् ।

हरेक वर्ष जस्तो यसपालि पनि आइतबार दर्लिङमा बडिगाडबासी मेलामा रमाइरहेका थिए । गत वर्ष कोरोना महामारीका कारण खुलेर रमाउन नपाएकाले पनि उनीहरूमा अतिरिक्त उमंग थियो ।

साँझ करिब ४ बजेतिर गाउँमा एक हुल प्रवेश गर्‍यो । उनीहरूले मेलामा रमाइरहेका स्थानीय युवा-युवतीलाई जबर्जस्ती रंग दल्न खोजे । अनि विवाद शुरू भयो । बडिगाड गाउँपालिकाकी एक युवतीलाई इच्छाविपरीत रंग दलिदिएपछि शुरू भएको विवादले उग्ररूप लिएको प्रहरीले जनाएको छ ।

‘मृतक पक्षले बडिगाडकी युवतीलाई जबरजस्ती रंग दल्न थालेपछि झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले नेपाल प्रेससँग भने ।

झडपमा २ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा निसी खोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका २९ वर्षीय दीपक दमाई छन् । उनीहरूको शव मेलास्थलनजिकै रहेको भीरबाट करिब ५ सय मिटर तल भेटिएको थियो ।

उनीहरूसँगै मेला भर्न गएका निसीखोलाका केही युवा शुरूमा सम्पर्कविहीन भएपनि अहिले सबै सम्पर्कमा आइसकेको र घाइतेहरूको उपचार भइरहेको निसीखोला गाउँपालिका-७ का वडाध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए ।

घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालय बागलुङको टोली घटनास्थल पुगेको छ ।

दुई गाउँपालिकाबीच आरोप-प्रत्यारोप

होलीविशेष मेलामा झडपपछि मृत्यु भएका ३६ वर्षीय कुँवर नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता हुन् । उनी नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य छन् । सोही घटनामा मृत्यु भएका दमाई पनि कांग्रेस कार्यकर्ता नै हुन् । त्यसैले घटनालाई कांग्रेसले राजनीतिक रंग दिन खोजेको छ ।

कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी घटनामा आफ्ना कार्यकर्ता मारिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । निसीखोला गाउँपालिका-७ वडाध्यक्ष तेजेन्द्र कुँवर पनि बडिगाड गाउँपालिकाका युवाले योजनाबद्ध तरिकाले घटना गराएको बताउँछन् ।

‘त्यहाँ सधैँ होली खेल्ने चलन थियो । यसपालि पनि त्यसैको निरन्तरता हो,’ वडाध्यक्ष कुँवरलले नेपाल प्रेससँग भने, ‘हिजो (आइतबार) ४ बजेको घटना एकदमै योजनाबद्ध तरिकाले घटाइएको देखिन्छ ।’

मृतकसहितको टोलीले युवतीलाई जबर्जस्ती रंग लगाइदिएको र मदिरापान गरेको कुरा आफूलाई थाहा नभएको उनले बताए ।

युवतीलाई जबरजस्ती रंग दल्न थालेपछि विवाद शुरू भएको हो रे नि ? भन्ने प्रश्नमा उनले भने, ‘युवती भन्ने थाहा भएन । केटा-केटाचाहिँ होली खेलेका हुन् ।’

बडिगाड गाउँपालिकाले भने निसीखोला गाउँपालिकाकै युवाहरू दोषी भएको आरोप लगाएको छ । बडिगाड-७ वडाध्यक्ष वीरेन्द्र बुढामगरले निसी खोलाका युवा मदिरासेवन गरेर स्थानीय युवतीलाई जबर्जस्ती रंग दल्न थालेपछि बताए ।

‘दोहोरो झडप भएको हो । होलीमा मेला लाग्ने भएकाले बेनी, बागलुङ सबै ठाउँका मान्छे आएका थिए,’ वडाध्यक्ष मगरले नेपालप्रेससँग भने, ‘उनीहरू रक्सी खाएर आएका थिए । उनीहरुले युवतीलाई जबर्जस्ती होली दल्न थालेपछि झडप हो ।’

गाउँका युवा फरार !

घटनापछि अहिले प्रहरीले घटनामा संलग्नको खोजी तीब्र पारेको छ । घटनाका मुख्य आरोपीहरूको पहिचान भइसकेको तर, ती सबै फरार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

‘घटनामा संलग्नको पहिचान भइसकेको छ । नियन्त्रणमा लिन गाउँमा टोली परिचालन भइसकेको छ,’ एसपी मगरले भने, ‘अहिले गाउँका सबै युवा फरार छन् ।’

प्रत्यक्षदर्शी यसो भन्छन्  :-

हामीले रोक्न खोज्दा सुनेनन् घटनाबारे जानकारी लिन गाउँमा प्रहरी परिचालित भएपछि मेला भर्न गएकाहरू सम्पर्कबाहिर छन् । सोमबार नेपाल प्रेसको सम्पर्कमा आएका एक प्रत्यक्षदर्र्शीले घटनालाई राजनीतिक दिन खोजे पनि आफूलाई त्यस्तो नलागेको बताए । निसीखोला-७ राजकुटका ती प्रत्यक्षदर्शीले नाम नखोल्ने शर्तमा भने, ‘घटनालाई मिडियाले राजनीतिक रुप दिन खोजिरहेका छन् । तर, त्यस्तो होइन । मेलाबाटै शुरू भएको विवाद हो ।’

उनको भनाइ जस्ताको तस्तैः मेला भर्न हामी १२ बजेतिर त्यहाँ पुगेका थियौं । त्यहाँ ठूलो लेक छ । लेकको टुप्पोमा सम्म (समथर) मैदान छ । त्यहीँ मेला लाग्ने हो । त्यहाँ वरिपरि हजारौं मिटर अग्ला भीर पनि छन् । त्यहाँबाट हाम्रो घर फर्किन लगभग २ घन्टाको आरोलो झर्नुपर्छ । घर फर्किने भनेर हतारमा थियौं । त्यही मेलामा १२/१३ जनाको टोलीले एउटा मान्छेलाई धेकेल्दै हिँडेको मैले पनि देखेको हो । उनी को हुन् मैले चिनिनँ । धकेल्दै अराजक शैलीमा हिँडेका हाम्रै गाउँका साथीहरु थिए । रोक्न पनि खोजेको हो । तर, कहाँ सुन्छन् र ? खुला मैदानमा झगडा नगरेर उनीहरु भीरतिर गएछन् ! मेलाको तल्तिर अल्लि डरलाग्दो भीर छ । उनीहरु त्यही अप्ठेरो ठाउँमा आएर झगडा गरेछन् । त्यहाँ हामी जंगलको बाटो हिँडेर गएका थियौं । अलि तल्तिर मोटरबाटो पनि छ । हामी हिँडेर आउने भएपछि जंगलकै बाटो आयौं । फेरि राजकुटकै भनेपछि हामी पनि असुरक्षित नै थियौं । तल मोटरबाटोबाट आउनेलाई बाटो ढुकेर समाउँदै फेरि पनि कुटेको भन्ने कुरा आयो । हामीले पछि मात्रै थाहा पायौं । हामीचाहिँ त्यहाँ ५/६ जनाको टोली गएका थियौं । यो घटनालाई मिडियाले राजनीतिक रुप दिन खोजिरहेका छन् । तर, मेरो विचारमा चाहिँ त्यस्तो होइन । मेलाबाटै शुरू भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर