एसिड लागेका दुई बालक डिस्चार्ज, किशोरीको शल्यक्रिया गरिने – Nepal Press

एसिड लागेका दुई बालक डिस्चार्ज, किशोरीको शल्यक्रिया गरिने

काठमाडौं । होली खेल्ने क्रममा एसिड छ्यापिएर घाइते भएकामध्ये दुई बालक सामान्य उपचारपछि घर फर्केका छन् । अनुहारमा एसिड लागेकी एक किशोरीको भने उपचार जारी रहेको छ ।

हिजो साँखुस्थित शंखरापुर नगरपालिका- १ चापागाउँमा होली खेल्ने क्रममा एसिड प्रहार हुँदा ३ जना घाइते भएका थिए । साँखुको नविन ग्राम विद्यालयको कम्पाउण्डमा होली खेलिरहेका ३ जनामाथि एसिड प्रहार भएको थियो ।

घटनामा १६ वर्षीया अस्मिता तामाङ, ११ वर्षका सविन तामाङ र ९ वर्षीय विशाल तामाङ घाइते भएका छन् ।

एसिड लागेका तीनै जनालाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । सविन र विशालको हात धेरै एसिड लागेको छ । अस्मिताको भने अनुहारमा एसिड लागेकाले उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.सन्तोष विक्रम भण्डारीले नेपाल प्रेससँग भने, ‘दुई बालकको अवस्था सामान्य भएकाले हामीले डिस्चार्ज गरिदिएका छौं । अस्मिताको चाहिँ अनुहारमा धेरै जलन छ । उनको भोलि शल्यक्रिया हुन्छ ।’

अस्मिताका आफन्तहरु अस्पतालमा छन् । उनी बोल्न सक्ने अवस्थामा रहेको भण्डारीले बताए । स्कुल कम्पाउण्डभित्र केशव नेपालले सञ्चालन गरेको क्यान्टिनको दूध डेरीमा राखिएको एसिड प्रहार भएको थियो ।

प्रहरी प्रभाग साँखुकी प्रहरी निरीक्षक जानुकादेवी खरेलका अनुसार डेरीमा राखेको बोतलको एसिडलाई पानी सम्झेर छ्यापेका थिए ।
एसिड प्रहार गर्ने दुई किशोर अहिले प्रहरी नियन्त्रणमा छन् । उनीहरुको पनि हातमा एसिड लागेको छ ।

 याे पनि पढ्नुहाेस्

होली खेल्दा झुक्किएर एसिड छ्यापियो, तीन बालबालिका घाइते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर