‘छिटै समर्थन फिर्ता लिन्छौं, सुदूरपश्चिममा एमालेकै सरकार बन्छ’ – Nepal Press
नेपाल टक

‘छिटै समर्थन फिर्ता लिन्छौं, सुदूरपश्चिममा एमालेकै सरकार बन्छ’

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्य थालेको छ । पछिल्लो समय एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र इन्चार्ज लेखराज भट्ट अहिलेको सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउने कसरतमा जुटेका छन् ।

अहिले प्रदेशसभामा एमालेका २५ जना सांसद छन् । दुई जना सांसद आफ्नो पक्षमा तान्न सके एमालेको नेतृत्वमा सरकार बन्ने स्थिति छ । तर एमालेकै केही सांसद मावध नेपाल समूहका छन् । उनीहरुले एमालेको नेतृत्वमा सरकार बनाउन साथ दिन्छन् कि दिँदैनन् भन्ने अनिश्चित छ ।

एमालेले सरकार बनाउन अन्य दलसँग छलफल गर्न कार्यदल गठन गरेको छ । प्रस्तुत छ, यसै परिवेशबीच एमालेका प्रदेश अध्यक्ष कर्ण थापासँग भानुभक्त आचार्यले गरेको कुराकानी-

अहिलेको सुदूरपश्चिम प्रदेश सरकार ढालेर एमालेको नेतृत्वमा बनाउने चर्चा चुलिएको छ । खासमा के हो ?

वर्तमान प्रदेश सरकार अत्यन्त अलोकप्रिय छ । यसले जनताको कुनै पनि भावना समेट्न सकेन । कार्यकर्ताको भावना पनि समेट्न सकेन । चुनावी घोषणापत्र अनुसार पनि काम गर्न सकेन ।

सरकारको नीति पनि प्रस्ट छैन । क्रियाकलापमा पनि सुस्त छ । स्वार्थ केन्द्रित भएर भष्ट्ररुपमा सरकार अघि बढेको छ । यसकारण यो सरकारलाई हामीले परिवर्तन गर्नुपर्छ । त्यसका लागि हामीले सबै राजनैतिक दलसँग छलफल गर्न एउटा कार्यदल बनाएका छौं ।

कार्यदलको संयोजक पार्टीको सुदूरपश्चिम प्रदेशको सह–इन्चार्ज महेश्वर पाठक र सदस्यहरूमा कैलाली अध्यक्ष रतन थापा र एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री झपट बोहरा हुनुहुन्छ । हामीले अहिले हरेक सम्भावनालाई हेर्छौं ।

सबैसँग खुला छलफल र बहस गर्छाै । त्यसमा हामीसँग मिल्न आउने जुनसुकै राजनैतिक पार्टीसँग मिलेर हामी अगाडि बढ्छौं । हाम्रो पक्षमा बहुमत पुग्नेभएपछि अहिलेको सरकार ढालेर हाम्रो नेतृत्वमा बनाउने नै हो ।

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनुहुन्न । अनि सरकारको आलोचना गर्न नि छाड्नुहुन्न । यो त दोहोरो चरित्र भएन र ?

हामी छिटै समर्थन फिर्ता लिने तयारीमा छौं । यो सरकारलाई हाम्रो समर्थन व्यवहारिक रूपमा नभएको कुरा सिद्ध भइसकेको छ ।

हामीले औपचारिक रूपमा फिर्ता लिनको लागि केही प्राविधिक पक्ष छन् । सबै प्रक्रियाहरू हेरेर हामीले औपचारिक रूपमा नै छिटै समर्थन फिर्ता लिन्छौं ।

संघीय सरकारमा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको भएर यता नि अड्किएको हो कि ?

संयोग र समय कुन बेला पर्छ भन्ने ठ्याक्कै भएन । राजनैतिक हिसाबले हामीले समर्थन फिर्ता लिइनै सकेका छौं ।

संघीय सरकारमा माओवादी केन्द्रले गुन लगाउनको लागि समर्थन फिर्ता नलिएको होइन । समर्थन फिर्ता लिएपछि अर्काे विकल्पमा जान सक्ने स्थिति नभएर हो ।

समय र संयोग कहिले हुन्छ, बेग्लै कुरा हो । हामी छिटै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेभित्र ओली पक्ष अल्पमतमा छ भनिन्छ । दलको नेता र प्रमुख सचेतक पनि माधव नेपाल पक्षमा छन् । यस्तो अवस्थामा सरकार परिवर्तन गर्न सहज छ र ?

उहाँहरूसँग कुराकानी भइरहेको छ । नेकपा एमालेको नीति निर्देशन मानेर एमालेमै रहन्छौ भन्नुभयो भने उहाँहरूलाई हामीले केही अन्यथा गर्ने कुरा छैन ।

पार्टीको नेतृत्व पनि नमान्ने, नीति, निर्देशन पनि नमान्नेलाई विधानबमोजिम काराबाही हुन्छ । हामी जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छौं ।

छिटै संसदीय दलको बैठक बस्ने कुरा छ । दलको बैठकमा नआउनेलाई के गर्नु हुन्छ ?

सांसद साथीहरूसँग छलफल गरिरहेका छौं । अब पार्टीको नीति नेतृत्व र निर्णय स्वीकार नगर्नेहरू माथि विधान बमोजिमको कारबाही प्रक्रिया अघि बढ्छ ।

यस्तो स्थितिमा एमालेको नेतृत्वमा कसरी सरकार बन्न सम्भव छ ? चुनौती त धेरै देखियो नि !

कुनै चुनौती छैन, बरु स्पष्ट पार्न आवश्यक छ । मूल नेतृत्वबाट छुटेर जानेहरुका लागि चुनौती हुने हो । हामीमा केही समस्या छैन ।

माधव नेपाल र भीम रावलहरुले फागुन २८ गतेको केन्द्रीय कमिटीले गरेको निर्णय मान्दिनँ भन्नु भएको छ । अब के हुन्छ ?

उहाँहरुमाथि कारबाही प्रक्रिया अघि बढिसकेको छ । कारबाहीका विभिन्न चरण हुन्छन् । स्पष्टीकरण सोध्नु आफैंमा कारबाही हो । जुन विधानबमोजिम नै भएको छ ।

उहाँहरूले स्पष्टीकरण पनि नकारात्मक छ । पार्टीको हितमा छैन । उहाँहरूले गल्तीको महसुस गर्नुभएको छैन । यो पार्टीमा नबस्ने, पार्टीलाई ध्वस्त पार्ने र अर्काे कुनै पार्टी निर्माण गर्ने उहाँहरूको खेल हो ।

प्रचण्डसँग उहाँहरूको अवैध सम्बन्ध अहिले पनि छ । त्यो अवैध सम्बन्धलाई वैध बनाउनुको लागि उहाँहरू प्रयत्नमा हुनुहुन्छ । अहिले जति पनि खेल भइरहेको छ, यो अवैध सम्बन्धको परिणति हो ।

बढीमा कतिसम्मको कारबाही हुनसक्छ ?

पार्टी सदस्यबाट निस्कासनसम्मको कारबाही पनि हुन सक्छ ।

पार्टीको जिम्मेवारी निलम्बन गर्ने कारबाही पनि हुन सक्छ । अब उहाँहरू यो पार्टीमा रहनुहुन्न । रहने मनस्थिति नै छैन । घटना घटाउने, यहाँ भित्र केही मान्छेलाई आफ्नो पक्षमा पार्ने र ती आफ्नो पक्षका केही मान्छे लिएर कतै जाने उहाँहरूको रणनीति छ ।

माधव नेपाल र उहाँको गुट नै नेकपाको एकता हुन नदिने निर्णायक हुन् । अहिले एमालेको एकता भाँड्न उहाँहरु लागिरहनु भएको छ । हाम्रो भीम रावलको भूमिका बढी नकारात्मक छ ।

उहाँहरु त पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भनिरहनु भएको नि !

यस्तोलाई अन्तरसंघर्ष भनिँदैन । यो अराजकता र अनुशासनहीनताको पराकाष्ठा हो । अन्तरसंर्घष भनेको त पार्टीको कमिटी भित्र हुन्छ । विचारमा हुन्छ । लक्ष्य र उद्देश्यमा हुन्छ । उहाँहरू त्यसमा हुनुहुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर