माधव पक्षधर एमालेको बैठक जारी, साबिक नेकपामै फर्किन पौडेलको लिखित प्रस्ताव – Nepal Press

माधव पक्षधर एमालेको बैठक जारी, साबिक नेकपामै फर्किन पौडेलको लिखित प्रस्ताव

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक आज पनि जारी रहेको छ । एमालेमै बसेर संघर्ष गर्ने कि अलग पार्टी गठन गरेर माओवादी केन्द्रसँग एकीकरणमा जाने भन्ने विषयमा सदस्यहरुको फरक फरक राय आएको बैठकका एक सहभागीले बताएका छन् ।

कलंकीस्थित मेगा पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्य डा. विजय पौडेलले लिखित प्रस्ताव पेश गर्दै कुनै पनि हालतमा केपी ओलीको नेतृत्व स्वीकार गरेर, सानातिना शर्त राखेर बस्न नहुने बताएका छन् । उनले चाँडो साबिक नेकपाकै संरचनाहरुमा फिर्ता हुनपर्ने मत राखेका छन् ।

पौडेलले भनेका छन्- हामीभित्रको यौटा प्रवृति देखेर म धेरै दुःखी भएको छु । कमरेडहरू एकताको लागि चिन्तित हुनुहुन्छ । यो राम्रो कुरा हो तर बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता जोगाउन विल्कुलै चिन्तित नहुने तर प्रतिगमनकारी भनेर आफैंले त्यति ठूलो संघर्ष गरेको प्रवृति संग झिना-मसिना शर्त राखेर एकता गर्न तयार हुने प्रवृति आफैंमा पश्चगामी दिशातिर अभिमुख छ । यसो नगरौं, सही बाटो रोजौं । त्यो भनेको नाम जेसुकै होस्, बनिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक संरचनामा फर्कौं । अनि बाँकी अरु कम्युनिस्ट घटकसँग पनि एकताका लागि पहल गरौं ।

माधव नेपाल र झलनाथ खनालसहितका नेताहरु सहभागी बैठकमा २०७५ जेठ २ गतेको अवस्थामा फर्किए मिल्न सकिने, नत्र समस्या हुने आम राय आएको केन्द्रीय सदस्य देवशंकर पौडेलले बताए । पार्टी विभाजन गर्ने कि भित्रै बस्ने भन्नेमा ठूलो मतान्तर नरहेको उनको भनाइ छ ।

शुक्रवार बसेको माधव पक्षधर बैठकले एमालेमै बसेर संघर्ष गर्ने भन्दै संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावलको स्पष्टिकरण नकारात्मक ढंगले आएको भन्दै कारवाहीको भागिदार हुने बताएको सन्दर्भमा बैठकमा थप कदमबारे छलफल भइरहेको छ ।


प्रतिक्रिया

One thought on “माधव पक्षधर एमालेको बैठक जारी, साबिक नेकपामै फर्किन पौडेलको लिखित प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर