सुदूरपश्चिम प्रदेशमा माओवादीको सरकार ढालेर एमालेको बनाउने गृहकार्य थालियो – Nepal Press

सुदूरपश्चिम प्रदेशमा माओवादीको सरकार ढालेर एमालेको बनाउने गृहकार्य थालियो

मुख्यमन्त्रीमा पठानसिंहसँगै तीनजनाको चर्चा

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु भएको छ । एमालेले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएर पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालेको हो ।

साविक माओवादी केन्द्रका नेता लेखराज भट्टको प्रस्तावमा मुख्यमन्त्री भट्टलाई एमालेले समर्थन गरेको थियो । अहिले एमालेका सुदूरपश्चिम प्रदेश ईन्चार्ज रहेका लेखराजले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने बताइसकेका छन् ।

एमाले–माओवादी एकता भंग भएसँगै भट्ट नेतृत्वको सरकार अल्पमतमा परेको छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् ।

प्रदेश सरकार सञ्चालनको लागि २७ जना सांसद आवश्यक पर्छ । एमालेले कुनै एक पार्टीसँग सहकार्य गरेर नयाँ सरकार गठन गर्न सक्ने भएको हुँदा अहिलेको सरकारविरुद्ध दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको एमाले कैलाली अध्यक्ष रतन थापाले बताए ।

‘केन्द्रमा माओवादीले समर्थन फिर्ता नलिएकाले यहाँ पनि हामीले फिर्ता नलिएका हौँ’ उनले भने ‘केन्द्रमा फिर्ता लिएकै दिन यहाँको सरकार ढल्छ ।’

प्रदेशसभामा एमालेमा ७ जना समानुपातिक सांसद छन् । तीमध्ये ६ जना माधवकुमार नेपाल पक्षमा छन् भने १ जना ओली पक्षमा छन् । समानुपातिक सांसदलाई हटाएर भए पनि सरकार गठन गर्ने एमालेको तयारी छ ।

एमालेले मुख्यमन्त्रीका लागि अघि सारेका बोहरा यसअघि भौतिक योजना तथा निर्माणमन्त्री थिए ।

एमाले भित्र बोहरासँगै मुख्यमन्त्रीमा प्रकाश शाह र तारालामा तामाङको पनि चर्चा छ । शाह माओवादीसँग एकता हुनुअघि एमालेको संसदीय दलका नेता थिए । उनी अहिले आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । तामाङ एमालेका प्रमुख हुन् ।

एमालेले काँग्रेससँग सहकार्य गरेर सकार बनाउने अवस्था आए काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल मुख्यमन्त्री बन्न सक्ने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर