सूचना प्रविधि, हुण्डी र सहकारी संस्थामार्फत् बैकिङ कसुर बढ्दो – Nepal Press

सूचना प्रविधि, हुण्डी र सहकारी संस्थामार्फत् बैकिङ कसुर बढ्दो

काठमाडौं । नेपाल राष्ट्र बैंक, महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीबीच बैकिङ कसुर नियन्त्रणको विषयमा छलफल भएको छ ।
। नेपाल राष्ट्रको बैंक कानुन महाशाखाले आयोजना गरेको उक्त अन्तर्क्रियामा तीन निकायबीचको समन्वय अभाव, प्रविधिमैत्री बैकिङ कानुनको अभाव र हुण्डी तथा सहकारी संस्थामार्फत् हुने कारोबारले वित्तीय प्रणालीमा अपराध बढिरहेको निष्कर्ष निकालिएको छ ।

बैकिङ सम्बन्धी कसुरको नियन्त्रणका लागि कानुन सुधार गरी अगाडि बढ्नुपर्ने कुरामा राष्ट्र बैंकले जोड दिएको छ भने महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीले आवश्यक समन्वयमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि महान्यायधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले विगतमा अन्तरनिकाय समन्वय अभाव भएकाले यसलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ कुसर सम्बन्धी कानुन परिमार्जन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन् । तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ,’ अधिकारीले भने ।

नेपाल प्रहरी महानिरीक्षक शैलेस थापाले तीन वटै निकायबीच आवश्यक समन्वय गरे अगाडि बढ्न सके बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल गर्न सकिने बताए । उनले हुण्डी र मौखिम रुपमा हुने कारोबारले वित्तीय प्रणालीमा जोखिम श्रृजना गरेको बताउँदै सहकारी क्षेत्रको कारोबार समेत थप नियमनको दायराभित्र ल्याउनुपर्ने बताए ।

डेपुटी गर्भनर डा निलम ढुङ्गाना (तिम्सिना) कोअध्यक्षतामा आयोजित कार्यक्रममा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र , कानुन महाशाखाका प्रमुख थानेश्वर आचार्य , बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट , प्रहरी नायब निरीक्षक तथा अनुसन्धान ब्यूरोका निर्देशक सहकुलबहादुर थापा र सह-महान्यायधिवक्ता ध्रूव कुमार चौहानले बैंकिङ कुसर नियन्त्रण गर्नका लागि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर