आज पनि काठमाडौंमा घातक प्रदूषण, एक्युआई चार सय भन्दा बढी कायमै – Nepal Press

आज पनि काठमाडौंमा घातक प्रदूषण, एक्युआई चार सय भन्दा बढी कायमै

काठमाडौं । शनिबार बिहान पनि उपत्यकाको वायुप्रदुषण घातक मापन भएको छ । प्रदुषणमा डढेलोको धुवाँ मिसिँदा आइतबारदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ ।

शनिबार पनि सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभागले अपरान्हदेखि हल्का हावा चल्ने भएकाले मौसममा क्रमशः सुधार हुँदै जाने जनाएको छ ।

नेपालप्रेससँग कुरा गर्दै बरिष्ठ मौसमविद् राजु प्रधानांगले शनिबार बिहानसम्म काठमाडौंको दृश्यात्मकता (भिजिबिलिटी) १ किलोमिटर मात्र रहेको बताए । ‘हावा चल्न थाल्यो भने सुध्रन सक्छ । तत्काल पानी पर्न सक्ने सम्भावना छैन । सोमबारदेखि मौसममा सुधार हुने आशा गर्न सकिन्छ’ उनले भने ।

आइतबार काठमाडौंको हावामा धुवाँसहित धुलो मिसिएको थियो । यो समस्या शनिबार बिहान केही कम भएपनि घातक चाहिँ रहेको विभागले जनाएको छ ।

शुक्रबार बेलुका अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नासाले लिएको नेपालको तस्विर जहाँ डढेलो लागेको देख्न सकिन्छ ।

शनिबार बिहान पनि एयर क्वालिटी इन्डेक्स (एक्युआई) रत्नपार्कमा १८७, महाराजगंजस्थित अमेरिकी दूतावासमा ४१०, दरबारमार्ग ४१६, झम्सिखेलमा ४०९ र भैंसेपाटीमा ३१६ छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ तर, राजधानीको अहिलेको एक्युआई ४०० भन्दा माथि छ जुन घातक हो ।

बरिष्ठ मौसमविद् भुषण तुलाधरले एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुने र यो अवस्थामा विपद घोषणा गरिनुपर्ने बताए । छातीरोग विशेषज्ञ डा. नीरज बमले अत्याधिक प्रदुषणमा क्यान्सरजन्य रसायन समेत मिसिएको हुँदा ती कण श्वास नलीमा जम्मा हुँदा दम, ब्रोङकाइटिसजस्ता रोग लाग्ने र मुटुरोग बढ्ने र क्यान्सरको खतरा हुने बताउँछन् । बरिष्ठ मौसमविद् वरुण पौडेल लाङटाङ राष्ट्रिय निकुञ्ज र पश्चिम क्षेत्रमा भएको डढेलोको धुवाँ यहाँको प्रदुषणमा मिसिँदा तुवाँलो बनेको बताउँछन् । पानी परेन वा ठूलो हावा नचले प्रदूषण हट्न गाह्रो हुने उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालयले मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न धूलो उड्ने खाले निर्माण कार्य केही दिनका लागि रोक्न र अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर