ट्याक्सी व्यवसायीको तर्क : पठाओ-टुटलले सस्तोमा यात्रु ओसारेर ठगी गरे ! – Nepal Press

ट्याक्सी व्यवसायीको तर्क : पठाओ-टुटलले सस्तोमा यात्रु ओसारेर ठगी गरे !

ट्याक्सीले २०/५० रुपैयाँ बढी लिँदैमा ठगेको भन्न मिल्दैन

काठमाडौं । नेपालमा ट्याक्सीले यात्रु ठग्ने विषय नयाँ होइन । मिटरमा चल्न नमान्ने र मनपरी भाडा असुल्ने ट्याक्सी चालकहरूको प्रवृत्तिबाट यात्रुहरूलाई मुक्ति दिएका छन् राइड सेयरिङ एप पठाओ र टुटलले ।

ट्याक्सीभन्दा निकै सस्तो र सेवा पनि छरितो हुने भएपछि यात्रुहरुमाझ पठाओ र टुटल लोकप्रिय छन् । यसले ट्याक्सी चालकहरूको रोजीरोटी भने संकटमा परेको छ । त्यसैले उनीहरू विभिन्न बहानामा पठाओ-टुटललाई अवरोध गर्दै आएका छन् ।

तीन दिनअघि ट्याक्सी ड्राइभरहरूको एक समूहले पठाओ राइडरमाथि भौतिक आक्रमण गरे । त्यसयता राइड सेयरिङ एपको समर्थनमा सामाजिक सञ्जाल उर्लिएको छ ।

यिनै विषयको सेरोफेरोमा हामीले नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतसँग कुराकानी गरेका छौं ।

ट्याक्सीचालक र पठाओ-टुटलबीच बारम्बार लफडा हुने गर्छ । अस्ति पनि पठाओ राइडरलाई ट्याक्सी चालकले पिटे । किन उनीहरूलाई दखिनसहेको ?

खासमा ट्याक्सी र पठाओबीचको विवाद होइन यो । यो कानुनको पालना गर्ने/नगर्ने कुरा हो । ट्याक्सी कानुनीरुपमा सञ्चालन भएको छ । सरकारले तोकेको भाडादर, राज्यले भने अनुसारको काजपत्र बनाएर ट्याक्सी सडकमा गुडेका छन् । हामीले सरकारलाई कर बुझाएका छौं । तर पठाओ र टुटल भने सरकारको नीति-नियममा हिँडेका छैनन् ।

पठाओ र टुटलले सरकारलाई कर पनि तिरेका छैनन् । उनीहरूको भाडा कसैले पनि तोकेको छैन । आफ्नै मनलाग्दी छ । आफैंले भाडा तोकेर पठाओ र टुटलले ठगी काम गरिरहेका छन् ।

यात्रुहरूचाहिँ पठाओ र टुटलले सस्तोमा यात्रा गराएर खुशी छन् । तपाईं कसरी उनीहरुल ठगे भन्दै हुनुहुन्छ ?

मैले भनेँ नि । उनीहरू आफैंले भाडा तोकेर हिँडेका छन् । जबकी ट्याक्सीलाई सरकारले भाडा तोकेको छ । ट्याक्सीमा मिटर पनि छ । पठाओ र टुटललाई त्यस्तो केही नियम छैन । सरकारको नियम-कानुन त सबैलाई लाग्छ होला नि ।

पठाओ र टुटलको न ट्याक्सीको जस्तो कालो नम्बर छ, न हाम्रो जस्तो मिटरको सिल छ । हाम्रा ट्याक्सी चालकहरूले खुद्रा पैसा नभएर यदाकता २०/५० रुपैयाँ धेरै लिँदा ठगी गर्यो भन्ने हुन्छ । तर पठाओ र टुटलले कानुन नै नमानेर कसैको छत्रछायामा परेर ठगी धन्दा चलाइरहेका छन् ।

गैरकानुनी काम गरेको भए यो विषयमा सम्बन्धित निकायमा उजुरी गर्दा भइहाल्यो नि ?

हामीले रातो नम्बर प्लेटका सवारीसाधन बाइक र स्कुटरले यसरी नियम विपरीत मान्छे बोकेर हिँड्न पाउँदैन भनेर यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग र यातायात व्यवसायी राष्ट्रिय महासंघमा पनि धेरैपटक पत्राचार गरिसकेका छौं ।

महासंघले पनि धेरै पटक यो विषयमा राय-सल्लाह दिएको छ । कालो नम्बरप्लेटले के काम गर्ने र रातो नम्बर प्लेटले के काम गर्ने भन्ने त कानुनमा पनि लेखिएको छ । प्राइभेट र सार्वजनिक यातायातालाई कानुन पनि फरक छ । प्राइभेट गाडीले गलत गरे वा मापसे गरेमा १ हजारको चिट काटेर छाड्ने तर ट्याक्सी चालकले मापसे गरे सार्वजनिक मुद्दा चलाउने गरिएको छ ।

कि राज्यले पठाओ र टुटल लगायतलाई ट्याक्सी र सार्वजनिक बसजस्तो गराउनु पर्यो । होइन भने ठगीधन्दा चलाउन दिनु भएन ।

पठाओ र टुटलले कानुनमा नै नभएको काम गरिरहेका छन् । सार्वजनिक सडकमा घर बनाउन त पाइँदैन नि । घर निर्माणका लागि निजी जग्गा चाहियो । टुटल र पठाओले सडकमा नै घर बनाएका छन् । यो सरासर ठगी धन्दा हो । यसलाई जसरी नि रोक्न पर्छ ।

खास ठगीधन्दा त तपाईंहरूले गरिरहनुभएको छ भन्छन् नि उपभोक्ता । मिटरमा हिँड्न नमान्ने, मनलाग्दी पैसा असुल्ने तपाईंहरू होइन ? कि तपाईंहरूले मात्रै ठग्न पाउनुपर्छ भन्ने कुरा हो ?

सबै ट्याक्सी मिटरमा हिँड्दैन भन्ने हैन । केही मिटरमा नहिँड्ने पनि होलान् । चक्रपथभन्दा २ किलोमिटर बाहिरसम्म जाँदा आपसी सहमतिमा यात्रा गर्ने भन्ने ऐनमा नै व्यवस्था छ ।

तर किन ट्याक्सी मिटरमा हिँड्न मान्दैनन् भनेर सरकारले एउटा सानो कारण खोजे हुने थियो । ट्याक्सी व्यवसायीले पनि सरकारलाई कर तिरेका छन् । ६९ सालदेखि वैज्ञानिक भाडादर लागू हुन सकेको छैन । सरकारले ट्याक्सीमा ८ वर्षदेखि भाडा समायोजन नगर्ने, पठाओ र टुटलले भने आफैंले भाडा तोकेर हिँड्ने ?

एकातिर तपाईंहरु पठाओ र टुटलको खोइरो खन्ने । अर्कोतिर धेरै ट्याक्सी चालक नै पठाओ र टुटलमा आवद्ध छन् नि ?

हो, पठाओमा हाम्रा केही ट्याक्सी पनि जोडिएका छन् । मिटरमा भन्दा पठाओमा जोडिँदा प्रतिटिप १ सय रुपैयाँभन्दा धेरै फाइदा आउँछ । भाडा बढी उठ्ने भएर नै उता जोडिएका हुन् । पठाओले २५ प्रतिशत लिने र बाँकी त सबै चालकलाई नै हुने भयो । त्यसैले केही चालक उता गएका हुन् । तर, गैरकानुनी हो भन्ने बुझेपछि फर्किने छन् ।

२ वर्षदेखि सञ्चालन आएको पठाओ र टुटललाई किन अहिले अवरोध ?
पहिले नै पनि केही साथीहरूले बन्द गर्नु पर्छ भनेर मुद्दा हालेका थिए । नेपालमा पैसाको चलखेल धेरै हुन्छ । माथिबाटै सहयोग भएकोले यो सञ्चालन भइरहेको हो ।

ट्राफिक प्रहरी महाशाखाले पनि यो गलत छ भनेको थियो । पठाओ र टुटललाई समातेका पनि थिए । तर पछि प्रधानमन्त्री कार्यालयबाट नै यसलाई नरोक्नु भनेर आदेश आयो ।

गलत कामलाई त माथिल्लो निकायमा बस्ने व्यक्तिले पनि गलत हो भन्नुपर्छ । यो गलत हो । पठाओ र टुटल उनीहरुले नै बुझेर बन्द गर्दा राम्रो ।

ट्याक्सीमा आएका यात्रुलाई हामी लान्छौ भनेर विवाद भइरहेको छ । हामीले मुद्दा हाल्नुभन्दा सरकारले नै कानुन विपरीत भएको टुटल र पठाओलाई बन्द गर्नुपर्छ ।

उहाँहरूले पनि कालो नम्बर प्लेट हालेर यात्रु बोके हुन्छ । अहिलेको सरकारले बाइकमा कालो नम्बर प्लेट हाल्दिए हुन्छ । बाइक चढ्नेलाई टुटल र पठाओ भनेर रोक्ने गरेका छन् । बाइक किनेर सडकमा हिँड्नसमेत लाज हुने अवस्था आएको छ ।

बाइक चढ्नेलाई हात दिएर यात्रुले ‘म १ सय रुपैयाँ दिन्छु, त्यहाँसम्म पुर्‍याइदेउ न’ भन्ने अवस्था आएको छ । केपी ओलीको सरकारले टुटल र पठाओलाई फरक नम्बर प्लेट हाल्दिनुपर्यो ।

ट्याक्सीले ५ सय रुपैयाँ भाडा लिने ठाउँमा टुटल र पठाओले १ रुपैयाँमा यात्रुलाई सेवा दिइरहेका छन् । जनता उनीहरूको सेवामा खुशी छन् । अब तपाईंहरूले पनि त जनतालाई खुशी पार्न सक्नुपर्यो नि !

यात्रुलाई त जति सस्तोमा हिँड्न पायो त्यति नै राम्रो हो । तर मेरो एउटा गाडीको लगानी ३० लाख छ भने ३० हजारको बाइकसँग तुलना गर्न मिल्दैन । एउटा व्यवसायीलाई मारेर अर्काे व्यवसायलाई लुट्न दिनु भएन । १० वर्षदेखि कर नतिरेका बाइक चलाएर सस्तो लोकप्रियता लिनु भएन ।

तपाईंहरुले भनेको वैज्ञानिक भाडादर चाहिँ कस्तो हो ?
मूल्यवृद्धि अनुसार भाडादार समायोजन गर्नुपर्यो भन्ने हो । वैज्ञानिक भाडादर लागू भयो भने मूल्यवृद्धि हुँदा स्वतः भाडा बड्छ र मूल्य घटेको घटेको छ भने भाडा पनि घट्छ ।

२०६९ सालदेखि ट्याक्सीको भाडा समायोजन भएको छैन । हामीले भाडा बढाइदिनुपर्‍यो भनेको छैन । वैज्ञानिक भाडादर के हो त्यसलाई नै कार्यान्वयन गराए हुन्छ । हामीले धेरैपटक भाडा समायोजनको लागि कुरा उठाइसकेका छौं । तर सरकारले असार र साउनमा कुरा उठाउँदा चाडपर्व आउन लागेको छ, अहिले भाडा समायोजनको कुरा नगर्नुस् भन्छ । तर पछि प्रक्रियामा जादा आर्काे वर्षको चाडपर्व आउँछ ।

वैज्ञानिक भाडादर भनेपछि घट्ने त त्यस्तै हो, सधैं बढ्ने नै त होला नि ?
वैज्ञानिक भाडादरअनुसार भाडा घटेको पनि रेकर्ड छ । हामीले त्यही भएर वैज्ञानिक भाडादर लागू गरौं भनेका हौं ।

तपाईंहरूका माग अरु पनि छन् कि यही मात्रै हो ?
ट्याक्सी चालकका लागि पार्किङको पनि समस्या छ । गाडी रोडमा गुडिरहने त हैन । रोक्नका लागि पार्किङ नै छैन । गाडी सडकमा निस्केपछि रोक्ने ठाउँ कतै छैन । रोडमा गुडीरहेपछि जाम पनि बढ्छ ।

तपाईंहरूले ट्याक्सीलाई किन प्रविधिमैत्री बनाउन सक्नु भएन त ?

हामीले टुटल र पठाओ आउनुभन्दा पहिले नै इडिक्याप भन्ने एपबाट सञ्चालन गर्न यातायात व्यवस्था विभागसँग छलफल गरेका थियौं । तर विभागले तपाईंहरू सार्वजनिक यातायातको साधान भएकाले एपबाट सञ्चालन गर्न मिल्दैन भनेपछि हामी पछि हटेका हौं ।


प्रतिक्रिया

4 thoughts on “ट्याक्सी व्यवसायीको तर्क : पठाओ-टुटलले सस्तोमा यात्रु ओसारेर ठगी गरे !

  1. हेर यी महाशय ले ठग्न पाएनौं भनी भनेका।नेपाल मा हो ठग्न पाउनु पर्छ भनी माग राख्ने यस्ता ट्याक्सी त सबै बन्द गर्नु राम्रो हुन्छ।धुरुक्क बनाउँछन्। जसरी सस्तो हुन्छ त्यसरी नै गरौं भन्नु पर्ने मा अनेक बाहाना बनाएर ट्याक्सी चालक ठग्न मा नै व्यस्त छन् पठाओं टूटल ले सस्तो सेवा दिन्छन् त्यसैले लोकप्रिय छन्। ठगन् थाले बन्द हुन्छन्।

  2. It’s true someone from out country is making money just because our own country people is faking the service as taxi business, i would say 98% of taxi service charges high as of travel distance, so I would rather support Pathao Tootle

  3. Pathao and tootle is giving best services . This man doesn’t know anything maybe he lost his commission. We support pathao an tootle

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर