नेताहरु बालुवाटारतिर ढल्दै, माधव नेपाल गल्दै – Nepal Press

नेताहरु बालुवाटारतिर ढल्दै, माधव नेपाल गल्दै

काठमाडौं । नेकपा एमालेमा संस्थापनविरोधि समूह अन्ततः आज बालुवाटारमा आयोजित पार्टीको संसदीय दल वैठकमा सहभागी भयो । माधवकुमार नेपाल आफू बालुवाटार गएनन्, तर पार्टीका सांसदलाई उनले रोकेनन् । सायद रोक्न सक्ने अवस्था पनि थिएन ।

संसदीय दलको वैठक बहिष्कार गर्न नेपाललाई साथ दिनेमा भिम रावल मात्रै थिए । हिजो मात्रै पार्टी अध्यक्ष केपी ओलीमाथि कडा प्रश्न तेर्साएर स्पष्टीकरणको जवाफ दिएका नेपाल र रावल आजको विकासक्रमले निकै ठूलो ठेस लागेको छ । उनीहरुको समूहका प्रभावशाली नेताहरुले विस्तारै साथ छोड्ने संकेत दिन थालेका छन् ।

०००

२८ फागुनमा ओलीले बालुवाटारमा डाकेको वैठक र त्यसले लिएका निर्णयहरुबाट आक्रोशित माधव समूहले भोलिपल्ट राजधानीको एउटा पार्टी प्यालेसमा केन्द्रीय सदस्य र संघीय सांसदहरुको बैठक राखेको थियो । बैठककाबीच समय छुट्टाएर नेता नेपालले पत्रकारहरुसँग लामै गफ गरेका थिए ।

 

करिब १ घण्टा गफिएका नेता नेपालले दुई–दिनवटा महत्वपूर्ण कुरा सुनाएका थिए, पार्टी एकताका सन्दर्भमा । ओलीले २८ गते गरेका निर्णयबाट पछाडि हट्नुपर्ने, बालुवाटारमा राखेका कुनै पनि बैठकमा आफूहरु सहभागि नहुने र वाम सरकारकै निरन्तरता हुनुपुपर्ने पूर्व शर्तहरु आफ्नो ‘बटमलाइन’ भएको उनको भनाइ थियो । ती शर्त पुरा नभए आफूहरु ओलीसँग कुनै पनि हालतमा नझुक्ने भन्दै उनले एमाले जोगिन ठूलै चमत्कार हुनपर्ने टिप्पणी गरे । त्यसबेला नेपालको बोलीमा उच्च मनोबल देखिन्थ्यो ।

त्यसको एक महिना पनि नपुग्दै परिस्थितिमा उलटफेर भएको छ । नेपाल समूह विस्तारै आफ्नो अडानबाट ब्याक हुन थालेको छ । त्योभन्दा महत्वपूर्ण कुरा, आफ्नै सारथीहरुले नै नेता नेपालको खुट्टा दह्रोगरी समात्न छाडेका छन् । परिदृश्यहरुले आफ्नै समूहबाट माधव नेपाल एक्लिदै गइरहेको संकेत गरिरहेका छन् ।

आफ्नै सारथीले छोड्दै साथ

सर्वोच्चले २३ फागुनमा एमाले ब्युँताउँदा नेपाल समूहमा ३८ सांसद थिए । यही बीचमा तीन सांसदले साथ छोडेपछि त्यो संख्या अहिले ३५ मा झरेको छ । कृष्ण दाहाल लगायतका केही सांसद संस्थापनतिर लागेका छन् ।

पछिल्लो समय सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोर्कण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु समेत धर्मराउन थालेका छन् । कुनै बेलाका निकै आक्रामक योगेश भट्टराईको ‘टोन’ फेरिएको छ । उनी अहिले निकै नरमरुपमा प्रस्तुत भइरहेका छन् । पार्टी एकता जोगाउनुपर्ने अडान लिइरहेका उनले माधव नेपाललाई अब साथ देलान् भन्नेमा शंका छ ।

भट्टराईले हिजो नेता नेपाललाई भेटेर कारबाही भोगे पनि आफूले एमाले नछोड्ने भन्दै दीर्घकालीन साथ दिन नसक्ने जानकारी गराएका थिए । पार्टीलाई स्पष्टीकरण बुझाउनुअघि नेपाललाई भेटेर उनले भनेका थिए, ‘तपाईं फुटेर जाने कि केपी ओलीसँग सहमति गर्ने ? जे भए पनि गर्नुहोस् । ममाथि कारबाही भए पनि एमाले छोड्दिनँ । म तपाईंसँगै जान सक्दिनँ ।’

नेता नेपाल र भीम रावलले अध्यक्ष ओलीमाथि नै प्रतिप्रश्न तेस्र्याएर स्ष्टीकरण बुझाएको केही समयमै भट्टराईले एमाले जोगाउन ‘अतिबाद’ छोड्नुपर्ने भन्दै ट्वीट गरेका थिए ।

‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं,’ ट्वीटरमा उनले लेखेका छन्, ‘थोरै पनि लचकताबाट यो सम्भव छ । बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकांै पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले केसम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।’

भट्टराई मात्रै होइन, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोर्कण विष्टले समेत नेपाललाई दरिलो साथ दिनसक्ने स्थिति छैन । आजको संसदीय दलको बैठकमा उनीहरु अपेक्षित नरम रुपमा प्रस्तुत भएका थिए । उनीहरुले पार्टी एकताको सुुत्रधार अध्यक्ष ओली नै हुनसक्ने बताए ।

बैठकमा उनीहरुले राखेका धारणबारे प्रमुख सचेतक विशाल भट्टराईले सुनाए, ‘सम्माननीय प्रधानमन्त्रीलाई पार्टी एकतावद्ध बनाउने कुरामा तपाईंको मुल्यवान योगदान होस्, तपाईं ऐतिहासिक बेलामा पार्टीको नेतृत्वमा हुनुहुन्छ, तपाईं दलको नेता हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ, तपाईंले नै यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो, तपाईंले ठूलो छाती बनाउनुहोस् भनेर उहाँहरुले सुझाव दिनु भएको थियो ।’

पार्टी अध्यक्ष ओलीको स्पष्टीकरणको कडा जवाफ फर्काउन भीम रावल बाहेकका नेता तयार भएनन् । चार नेतालाई स्पष्टीकरण सोधेकोमा बिहीबार नेता नेपाल र रावलले मात्रै स्पष्टीरकण बुझाए । दुवै जनाले बुझाएको स्पष्टीकरणमा ओलीमाथि कडा प्रहार गरिएको छ । गम्भिर अरोप लगाइएको छ । केही बुँदा बाहेक दुवै जनाले बुझाएको स्पष्टीकरणका विषय साझा छन् । हिजो बुझाइएका दुवै स्पष्टीकरणको ‘ड्राफ्ट’ नेता रावलले तयार पारेका थिए ।

तर, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले अझैं स्पष्टीकरण बुझाएका छैनन् । उनीहरुको स्पष्टीकरण अपेक्षित नरह हुने अनुमान छ ।

अडानबाट ‘ब्याक’

नेपाल समूहको चट्टानी अडान थियो– बालुवाटारभित्र बोलाएका कुनै पनि बैठकमा नजाने । त्यही अडानको बलमा नेता नेपालले केही दिनअघि अध्यक्ष ओलीलाई वार्ताका लागि धुम्बाराहीस्थित पार्टी कार्यालयमा आउन बाध्य पारेका थिए ।

 

तर, विस्तारै नेता नेपाल आफ्नो अडानबाट गल्दै गएका छन् । अध्यक्ष ओलीले बालुवाटारमै बोलाएको आजको संसदीय दलको बैठकमा नेपाल र रावलबाहेक प्रायः सांसद उपस्थित भए । जबकि ४ चैतमा ओलीले बोलाएको दलको बैठकमा जानबाट रोक्न नेपाल सफल भएका थिए । उनी र भीम रावलको अडानका कारण बालुवाटार गेटसम्मै पुगिसकेका सांसद पनि फर्किएर राष्ट्रिय भेलामा फर्किएका थिए ।

त्यो अडान आज कायम रहन सकेन । आफ्नै समूहभित्रको अवस्थालाई मध्यनजर गर्दै वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा आफू पक्षका सांसदहरुलाई बालुवाटार बैठकमा पठाउन नेता नेपाल बाध्य भए । आजै कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकबाट खासै ‘बोल्ड’ निर्णय उनले लिन सकेनन् ।

पार्टी एकताकै पक्षमा लडिराख्ने र फागुन २८ गतेका निर्णयबाट ओलीलाई ‘ब्याक’ गराउने कोसिस गर्ने निर्णय बैठकबाट भयो । बैठकबारे संवाददाताहरूलाई जानकारी गराउँदै नेता रघुजी पन्तले भनेका थिए, ‘हामी नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको छ ।’

तर, ओलीले आफ्नो निर्णयबाट कुनै पनि हालतमा पछाडि नफर्किने अडान दोहो¥याएका छन् । संसदीय दलको बैठकमा फागुन २८ गतेको निर्णयबाट आफू पछाडि नफर्किने र कुुनै गूट वा समूहसँग वार्ता नगर्ने अडान ओलीले लिएका थिए ।

आफ्नै सारथीहरुको साथबाट एक्लिन थालेका नेता नेपाल ‘कम्प्रोमाइज’ गर्दै जाने र ओली दृढताका साथ अगाडि बढ्ने संकेत देखिएको छ । ओलीले प्रष्ट शब्दमा भनिसकेका छन्– नेता नेपाल र रावलका क्रियाकलाप कारबाहीयोग्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर