फुट न जुटको दोबाटोमा उभिएका माधवलाई योगेशले सुझाएका तीन विकल्प – Nepal Press

फुट न जुटको दोबाटोमा उभिएका माधवलाई योगेशले सुझाएका तीन विकल्प

‘अलग पार्टी बनाउनूस् तर म एमाले छाड्दिन, सबैको जिम्मा नलिनूस्, ओलीसँग आफ्नो कुरा गर्नूस्’

काठमाडौं । समानान्तर भेलापछि नेकपा एमालेको माधव नेपाल पक्ष माथिदखि तलैसम्म समानान्तर कमिटी बनाएर अलग पार्टीको अभ्यास गर्ने निर्णयमा पुगेको थियो । यसबीचमा केही भातृ संगठनका अलग कमिटी पनि बनिसकेका थिए ।

माधव नेपाल अलग पार्टी गठनको मनस्थितिमा पुगिसकेका थिए । यसबीचमा माओवादी अध्यक्ष प्रचण्डसँग लगातार माधव नेपालको छलफल चलिरहेको थियो । बिहीबार नेपाल र भीम रावलले स्पष्टीकरणको साटो केपी ओलीमाथि प्रचण्डको १९ बुँदे अभियोगकै फोटोकपी शैलीको प्रतिप्रश्न पठाएपछि कि त एमाले फुट्ने, कि माधव नेपाल कारबाहीमा पर्ने निश्चित नै थियो ।

माधव नेपाल र झलनाथ खनालले शुक्रवार बिहान पनि आफू पक्षधर केन्द्रीय सदस्यहरुको बैठकअघि कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा प्रचण्डसँग करिब अढाइ घण्टा लामो छलफल गरेका थिए । त्यस छलफलका क्रममा तत्काल एमाले फुटाएर आउन नसक्ने जानकारी प्रचण्डलाई दिइएको स्रोतले जनाएको छ ।

आखिर माधव नेपाल अलग पार्टी बनाउने मनस्थितिबाट किन ब्याक भए ? यसको भित्री कारण अझ रोचक छ । माधव नेपालले जसको भरोसा गरेका थिए आफ्नै समूहका ती नेताहरू पार्टी फुटाउने कुरामा सहमत हुन नसकेको खुमलटारमा पुगेर प्रचण्डले निकट नेताहरुलाई सुनाएका छन् ।

माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईले केही दिनअघिमात्र तीनवटा विकल्प सुझाएको चर्चा नेपाल निकट नेताहरूबीच बिहीबारै चलेको थियो । योगेशमात्र होइन घनश्याम भुसाल र गोकर्ण विष्टहरू समेत एमालेबाट अलग भएर अर्को पार्टी बनाउँदै माओवादीसँग एकीकरणमा जान सहमत नभएपछि नेपाल थप संकटमा परे ।

यसैकारण माधव नेपाल पक्षको शुक्रबारको केन्द्रीय कमिटी बैठकले एमालेभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ ।

योगेशका तीन विकल्प :

योगेशले माधव नेपाललाई भनेका तीन विकल्प के थिए त ? नेपालनिकट एक नेताका अनुसार उनले प्रष्टैसँग भनेका थिए-

पहिलो विकल्प- अलग पार्टी बनाउनुहुन्छ भने बनाउनूस् तर म त्यो पार्टीमा लाग्दिन । एमालेमा मलाई सदस्यबाट पनि निकाल्लान् तर म यहिँ बस्छु र एमालेको सांसदको रूपमा संसदमा र मतदातको रूपमा सूर्यमा भोट हाल्दिन्छु ।

दोस्रो विकल्प- हाम्रो कारणले तपाईं एमालेमा रोकिनुभएको हो भने नरोकिनूस् । हाम्रो आशले बस्नुभएको हो भने पनि नबस्नूस्, आफ्नो बाटो समात्नूस् ।

तेस्रो विकल्पकेपी ओलीसँग फाइनल कुरा छ भने पनि गर्नूस् । वान–टु–वान गर्ने भए पनि गर्नूस । अरु मान्छेको जिम्मा लिने काम पनि अब तपाईंले नगर्नूस् । सबै मान्छेको जिम्मा लिनुपर्दैन । उनीहरू आफैं जे गर्लान्, कोही एमालेमा बस्लान्, कोही राजनीति नै छाडेर हिँड्लान् जे होला । तर तपाईँ दुविधामा नबस्नूस् ।

योगेशका यी तीन विकल्प सुनेपछि माधव नेपालको आफ्नै समूह संकटमा पर्‍यो । घनश्याम भुसाल र योगेश भट्टराई नवौं महाधिवेशनपछि मात्र माधव नेपालको टिममा पुगेका हुन् । उनीहरूको माधव नेपाल समूहमै पनि आफ्नै टीम छ । यो टीमले एमाले नछाड्ने भनेपछि माधव नेपाल थप संकटमा परे ।

बिहीबार ओलीमाथि आरोप लगाउँदै पठाइएको प्रतिस्पष्टीकरण पत्र भीम रावलले मस्यौदा गरेका थिए । माधव नेपाल र भीम रावलको पत्रको व्योहोरा एउटै छ । तर, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले स्पष्टीकरण सँगै पठाएनन् । उनीहरुको स्पष्टीकरणको भाषा माधव नेपाल र भीम रावलको भन्दा फरक हुने बुझिएको छ ।

माधव नेपालका सीमित विकल्प

केपी ओलीसँग एमालेमै बसेर संघर्ष गर्ने माधव नेपालको प्रयास यसबीचमा झन् कमजोर बन्दै गएको छ । ओलीले गुटसँग कुनै डिल नहुने बताइसकेका छन् । माधव नेपाल निकट सांसद र नेता कार्यकर्ता धमाधम ओलीसँग भेट्दै उनको साथबाट अलग भइरहेका छन् ।

यस्तो बेलामा नेपालसँग सीमित विकल्पमात्र बाँकी छन् । थप कमजोर हुनुभन्दा अघि नै अलग पार्टी बनाउने एउटा विकल्प हो । तर योगेश भट्टराईहरुले माधव नेपालको अलग पार्टीमा सामेल नहुने भनेपछि त्यो विकल्पले माधवलाई थप क्षतिबाहेक केही उपलब्धी दिँदैन ।

ओलीसँग फाइनल वार्ता गर्न पनि बाटो साँघुरिएको छ । ओलीले शुक्रवारको संसदीय दलको बैठकमै माधव नेपाल र भीम रावलको स्पष्टिकरण अत्यन्तै नकारात्मक कोणबाट आएको भन्दै उनीहरु कारवाहीको भागिदार हुने बताइसकेका छन् । सम्भवतः अब बस्ने एमालेको बैठकले यी दुई नेतामाथि कारवाही गर्नेछ ।

माधव नेपाल समूह एकप्रकारले दिशाहीन र तितरबितर अवस्थामा पुगेको छ । एमाले पुनःस्थापनापछि मिल्ने ठाउँ राखेर अघि बढ्नुपर्नेमा ओलीसँग नेकपाकालिन दुश्मनीकै ढंगले प्रस्तुत हुन खोजेपछि धेरै कुरा बिग्रिदै गएको नेपाल निकट नेताहरु नै बताउन थालेका छन् ।

ओलीले माधव नेपालबिनाको पार्टी निर्माण पुस ५ पछि नै गरिसकेका हुन् । सर्वोच्चको फैसलाबाट एमाले ब्युँतिएपछि आफूलाई संकटमा साथ दिएका र पद गए पनि प्रचण्डसँग नजाने अडानमा बसेका माओवादीका नेताहरुको व्यवस्थापन गर्नु ओलीको पहिलो दायित्व थियो ।

ओलीले भनेका पनि छन्- संकटमा पार्टी र सरकारको नेतृत्वलाई साथ दिएका व्यक्तिहरुलाई व्यवस्थापन नगरी मलाई पार्टी सदस्यबाट समेत हटाएर सिध्याउन हिँडेकाहरुलाई मान सम्मान दिन सकिन्नथियो । उनीहरु त छाडेर प्रचण्डसँग हिँडिसकेका हुन् । फर्केपछि पनि माधव नेपालले प्रचण्डकै उक्साहटमा अराजकता प्रदर्शन गरिरहेका छन् । गुटका रुपमा माधव नेपालसँग कुनै संवाद हुँदैन ।

शुक्रवार माधव र भीम रावल बाहेक सबै सांसदहरु दलको बैठकमा गए । योगेश भट्टराई र गोकर्ण विष्टले केपी ओलीबाटै आशा रहेको भन्दै पार्टी मिलाएर लैजान आग्रह गरे । उनीहरुको भनाइको निचोड एमालेमै रहन्छौं र केपी ओलीले हिजोका तिक्त कुरा बिर्सेर माधव नेपाललाई पनि समेटुन् भन्ने थियो ।

ओलीले व्यक्तिगत रुपमा सबैका कुरा सुन्ने र न्याय गर्ने बताएका छन् । तर फागुन २८ को केन्द्रीय कमिटी र चैत ५ र ७ को संसदीय दलका कुनै पनि निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका छन् । अब माधव नेपालका सामू बिनाशर्त केपी ओलीसँग मिसिने वा अलग पार्टीको अभ्यास गर्ने बाहेकका विकल्प खुम्चिएका छन् ।

निरन्तर संवादमा

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड र माधव नेपाल केपी ओलीमाथि थप आक्रामक बनिरहेका बेला घनश्याम र योगेश भने ओली पक्षसँग संवादमै थिए । नेकपाकै सरकारलाई निरन्तरता दिने विभिन्न विकल्पमा कुराहरु भइरहेका थिए ।

सुवास नेम्वाङ वा विष्णु पौडेललाई प्रधानमन्त्री बनाएर भने पनि नेकपा एकता र सरकार जोगाउन सकिन्छ भन्ने विकल्पमा समेत छलफल भइरहेका थिए । योगेश आफैं विष्णु पौडेल लगायतका नेताहरुसँग संवादमा थिए ।

अचानक सर्वोच्चको फैसलाले एमाले र माओवादी ब्युँताएपछि एकाएक ओली शक्तिशाली भए । माधव नेपालले ओलीसँग नझुक्ने नीति लिए । योगेश त्यसबीचमा पनि ओली पक्षका नेताहरुसँग निरन्तर संवादमै थिए ।

माधव नेपाल पक्षको राष्ट्रिय भेला उद्घाटनको दिन पनि योगेश एकजना अ‍ोली निकट नेतासँग वार्ता गरेर पुनःस्थापित भएको एमालेलाई विभाजन हुन नदिन ओलीलाई लचिलो बनाउन आग्रह गरिरहेका थिए ।

रामवहादुर थापा बादल लगायतका २३ जना माओवादी नेताहरु र माओवादीसँग एकीकरणअघि थपिएका ४१ जना केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कमिटीमा लैजाने कुरामा पनि योगेशहरु असहमत थिएनन् । तर त्यही निर्णय पनि आफूहरुसहितको बैठकबाट भइदेओस भन्ने आग्रहमात्र थियो ।

अब परिस्थिति फागुन ८ र चैत ७ बाट अघि बढिसकेका अवस्थामा अझै पनि एमालेको एकता कायम राख्नुपर्छ भन्नेमा यी नेताहरु ओलीबाटै अभिभावकत्व लिइयोस भन्नेमा छन् । कतिपय तल्ला कमिटीहरु समायोजनका लागि कार्यदल बन्न सक्छन् । तर माधव नेपाल पक्षलाई पनि फेस सेभ दिइयोस भन्ने आशय देखिन्छ ।

माधव नेपाल पक्षका नेताहरु जे जस्तो भए पनि एमालेमै बस्ने तर अर्को पार्टी गठन गरेर सफल नहुनेमा प्रष्ट भइसकेका छन् । प्रचण्डसँगको करिव ३ महिनाको अनुभवले माओवादीसँग भन्दा एमालेकै ओली पक्षकै नेता कार्यकर्तासँग कम्फर्टेबल हुने अनुभव उनीहरुले सुनाउन थालेका छन् ।

समानान्तर कमिटीमा द्विविधा

अब समानान्तर कमिटीहरु गठन गर्ने कि नगर्ने भन्नेमा पनि माधव नेपाल पक्षमा मतान्तर देखिन थालेका छन् । समानान्तर कमिटी गठन गर्दा धमाधम नेता कार्यकर्ता कारवाहीमा पर्ने र आफूहरुसँग ओलीलाई चुनौती दिने सामर्थ्य पनि नहुने हुँदा धेरैको राजनीतिक भविष्यमा जोखिममा पार्न नहुने मत बलियो बनिरहेको छ ।

स्पष्टीकरण मागेपछि थप कारवाही नगर्ने कि भन्ने सुझाव ओलीलाई कतिपय नेताहरुले नदिएका पनि होइनन् । तर नेपाल र रावलको प्रतिस्पष्टीकरणपछि त्यसो भन्ने नेताहरु नै ब्याक भएका छन् । अझै पनि माधव नेपाल पक्षका नेताहरुलाई फेस सेभको बाटो दिनुपर्छ भन्ने मत भने कायमै छ ।

ओलीले घनश्याम र सुरेन्द्रको स्पष्टीकरण कस्तो आउँछ भन्ने चासो राखेका छन् । तर माधव नेपालका लगातारका प्रचण्डसँगका बैठकहरुले उनलाई झस्काएको छ । आफूविरुद्ध कुनै पनि मौका दिन ओली चाहँदैनन् । माधव नेपाललाई एमालेमा पहिलेकै स्पेस कुनै हालतमा नदिने निश्चित छ ।

त्यो अवस्थामा माधव नेपाल अपमान सहेर बस्लान् ? कुर्सीको रङ र आकारमा समेत सम्मान खोज्ने नेपालले आफूमाथि ओलीबाट हुने अपमान सहन गाह्रो छ । तर उनलाई फुटेर हिँड्न वा जुटेरै बस्न पनि निकै ठूलो संकट छ । यस्तो अवस्थामा सल्लाह सुझाव लिन प्रचण्डभन्दा नजिकको साथी पनि उनीसँग कोही छैन ।

प्रचण्डसँग माधव नेपालको लगातारको छलफलको विषय अझै प्रष्ट भइसकेको छैन । ओलीलाई सत्ताच्यूत गर्न सके एमालेमा आफूहरु बलियो हुने माधव नेपालको आँकलन हो ।

तर ओली सरकार ढल्ने सम्भावना पनि कमजोर बन्दै गएको बेला आफ्नै समूहको आधा शक्ति लिएर माधव नेपाल प्रचण्डसँग पुनः एकीकरणमा जालान् ? यो प्रश्न अनुत्तरित छ तर माधव नेपाल अहिलेलाई विकल्पविहीन दोबाटोमा उभिएका छन् ।


प्रतिक्रिया

One thought on “फुट न जुटको दोबाटोमा उभिएका माधवलाई योगेशले सुझाएका तीन विकल्प

  1. ओलिको उत्तराधिकारी सुबास नेम्बाङ हुनु पर्छ। अनि प्रचण्डपथ पराजित हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर