जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान – Nepal Press

जहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान

काठमाडौं । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र तीन हजार ६०० फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर उनले विश्व कीर्तिमान कायम गरेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वर्ल्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका छन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए । “संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उनले भने ।

शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताए । नेपालीहरुले धेरै क्षेत्रमा वर्ल्ड रेकर्ड बनाइसकेको उनको भनाइ थियो ।

गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताए। सोही अवसरमा वर्ल्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर