खोपका लागि सरकारको ताकेता, स्वास्थ्यमन्त्रीले गरे भारतीय समकक्षीलाई फोन – Nepal Press

खोपका लागि सरकारको ताकेता, स्वास्थ्यमन्त्रीले गरे भारतीय समकक्षीलाई फोन

काठमाडौं । भारतीय कम्पनीले नेपालसँग अग्रिम भुक्तानी लिएर समयमा खोप नपठाएपछि सरकारले भारत सरकारसँग ताकेता शुरू गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतीय समकक्षी हर्षवर्द्धन र विदेश सचिव हर्षवर्द्धन श्रृंगलासँग खोपको विषयमा कुरा गरेका छन् ।

भारतले प्रतिबद्धताअनुसार खोप उपलब्ध गराउन नसक्दा नेपालको खोप अभियान अवरुद्ध भएपछि स्वास्थ्यमन्त्रीले उनीहरूसँग फोनमा कुरा गरेका हुन् ।

‘हामीले अवरुद्ध खोप आपूर्तिलाई चाँडै सुचारु गर्न भनेका छौं । त्यसमा उहाँहरू सकारात्मक हुनुहुन्छ,’ मन्त्री त्रिपाठीले नेपाल प्रेससँग भने ।

यसबारे आफूले भारतको राजनीतिक र प्रशासनिक नेतृत्वसँग कुरा गरिरहेको र चाँडै खोप आपूर्ति सुचारु हुनेमा आफू ढुक्क रहेको मन्त्री त्रिपाठीले बताए । ‘हामीले आफ्ना च्यानलबाट खोप आपूर्तिको निरन्तरताबारे छलफल गरिरहेका छौं,’ उनले भने ।

सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौताअनुसार ८० प्रतिशत रकम नेपालले अग्रिम भुक्तानी गरेको थियो । तर, १० लाख डोज खोप पठाइसकेको सिरमले बाँकी १० लाख डोज खोप आपूर्ति कहिले हुने भन्नेबारे टुंगो छैन ।

सिरमले प्रतिवद्धताअनुसार दोस्रो खेप नपठाउँदा दोस्रो चरणको खोप अभियान अवरुद्ध हुन पुगेको छ भने पहिलो चरणमै लगाइसकेकालाई दोस्रो डोज दिन ढिलाइ भएको छ । अहिले सरकारसँग पहिलो चरणमा खोप लगाएका ४ लाख ७५ हजार जनालाई चाहिने दोस्रो डोज दिन मात्र खोप बाँकी छ ।

केही साताअघि सिरम इन्स्टिच्युटले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै तत्काल खोप आपूर्ति गर्न नसकिने जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले प्रकाशन गरेको एक विवरणमा भारतले खोप आपूर्तिमा अस्थायी रोक लगाएको र यसबाट १९० मुलुक प्रभावित हुने उल्लेख छ । भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकोले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले आपूर्तिमा अस्थायी रोक लगाइएको बीबीसीले जनाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासदेखि सरकारी अधिकारीहरूले पनि सिरम इन्स्टिच्युट र त्यहाँको विदेश मन्त्रालयसँग कुरा गरिरहेका छन् । तर, स्पष्ट जवाफ पाएका छैनन् । स्रोतका अनुसार नेपालको स्वास्थ्य मन्त्रालयले सिरमलाई गत ३ मार्चमा पुनः ताकेता गरेपछि सिरमले दुई साताभित्र आपूर्ति गर्ने वचन दियो तर, त्यो दुई साता पूरा भइसकेको छ । गत २१ मार्चमै परराष्ट्र मन्त्रालयले विदेश मन्त्रालयलाई पत्र लेख्दै खोप आपूर्ति सुचारु गरिदिन आग्रह गरेको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले भारतीय समकक्षी र विदेश सचिवसँग भएको कुरामा उनीहरू सकारात्मक रहेको जवाफ पाएको बताएपनि अन्तर्राष्ट्रिय संचारमाध्यमले चाहिँ विदेश मन्त्रालयले नै आपूर्तिमा रोक लगाएको जनाएका छन् । बीबीसीले सिरम इन्स्टिच्युटले नभई विदेश मन्त्रालयले घरेलु खोप आपूर्तिलाई प्राथमिकतामा राखेर अस्थायीरूपमा रोक लगाएको जनाएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि खोप आपूर्तिका लागि दूतावासले पहल गरिरहेको र खुला सीमानाका लागि भारतले रोक नलगाउने विश्वास व्यक्त गरे । भारत सरकारको निर्णयअनुसार आफू अघि बढेको जवाफ दूतावासले प्राप्त गरेको आचार्यको भनाई छ । भारतको उक्त कदमले नेपालसहित कोभ्याक्सिनअन्तर्गतका मुलुक प्रभावित हुने आशंकाका बीच भारतले नेपाललाई खोप आपूर्ति सुचारु गर्न सक्ने राजदूत आचार्यको ठम्याइ छ ।

आउने सय दिनसम्म भारतमा कोरोनाको दोस्रो लहरले उचाइ छुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसले गर्दा भारतभित्रै खोप अभियानलाई तीब्र बनाउनुपर्ने दबाब भारतलाई छ । यसको प्रभाव माग र आपूर्तिको सन्तुलनमा देखिएको छ । बितेको २४ घन्टामा भारतमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ५ करोड ३१ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सिरमले खोप आपूर्ति नगर्दा खोपको मूल्य पनि बढिरहेको छ । सिरमले नेपालले भुक्तानी गरेको रकम होल्ड गर्दा खोपको मूल्य चार डलरबाट बढ्न गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जति समय रकम होल्ड गर्‍यो, उति फाइदा सिरमलाई नै पुग्न जान्छ ।

अर्को समाचार एजेन्सी रोयटर्सले चाहिँ भारत स्वयममा स्थिर नभएसम्म अन्य मुलुकमा खोप आपूर्ति नगर्ने मनस्थितिमा रहेको समाचार लेखेको छ जसले गर्दा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामा सीधै असर गर्छ । यसले नेपालसहितका अन्य विपन्न मुलुकमा खोप रोकिनेछ । सिरमले कोभ्याक्स परियोजनाअन्तर्गत ६४ मुलुकमा खोप आपूर्ति गर्दै आएको छ । सिरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी समेत हो ।

भारतमा बुधबार एकैदिन ७७८ वटा नयाँ प्रजातिको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन) कोरोना भेटिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ती उत्परिवर्तित विषाणुमा बेलायत, ब्राजिल र अमेरिकी म्युटेन्ट भेटिएको र यो उत्परिवर्तनले अहिले प्रयोगमा ल्याइएको खोपको प्रभावकारितामा चुनौती थप्ने आंकलन गरिएको छ । जसले गर्दा भारत स्वयमलाई खोप अभियानलाई तीब्र तुल्याउनुपर्ने दबाब कायम छ । किनभने नयाँ भेटिएका भनिएका भाइरसहरु मानव स्वास्थ्यका लागि थप खतरनाक मानिएका छन् ।

रोयटर्सलाई युनिसेफले पठाएको इमेलमा भनिएको छ- ‘निर्यात अनुमतिपत्र प्राप्तीमा उत्पन्न जटिलताको कारण सिरमले कोभ्याक्समार्फत बिपन्न मुलुकलाई दिने भनेको खोप आपूर्तिमा ढिलाइ हुनसक्छ । सम्भवतः मार्च वा अप्रिलसम्म निर्यात सुचारु हुनसक्छ ।’ यसको अर्थ, अप्रिल अगाडि भारतले खोप निर्यात गर्ने सम्भावना कम छ ।

जनस्वास्थ्यविद डा. राजेन्द्र बिसीले पुरानो प्रजातिविरुद्धको एन्टीबडी नेपालीले क्रमशः गुमाउँदै गएको अवस्थामा नयाँ भेरिएन्ट आए अवस्था थप जोखिमपूर्ण हुने बताउँछन् ।

‘नयाँ भेरिएन्टसँग लड्न चाहिने एन्टीबडी नबनिसकेकाले यसले थप खतरा पैदा गर्छ’उनी भन्छन्, ‘प्रयोगमा ल्याइएका खोपले नयाँ भेरिएन्टविरुद्ध काम गर्छ वा गर्दै भन्ने पुष्टि पनि नभएको अवस्था अहिले छ ।’ उनका अनुसार अघिल्लो पटक झन्डै ५० प्रतिशत नेपालीहरूलाई कुनै न कुनै रूपले कोरोना संक्रमण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *