प्रशिक्षक बालगोपाल: कमजोरी लुकाएर आत्मसन्तुष्टिको अभिनय! – Nepal Press

प्रशिक्षक बालगोपाल: कमजोरी लुकाएर आत्मसन्तुष्टिको अभिनय!

काठमाडौं । हिजो किर्गिस्तान-२३ विरुद्ध नेपाली राष्ट्रिय टिमले बराबरी खेलेपछि प्रशिक्षक बालगोपाल महर्जनलाई पत्रकारले सोधे, ‘नेपाल आज कहाँ चुक्यो ?’

पत्रकारको प्रश्नमा बालगोपाल आक्रमक शैलीमा प्रस्तुत भए । उनले जङ्गिएर जवाफ दिए, ‘तपाईंले नतिजा मात्रै हेर्नु हुन्छ कि, खेल पनि हेर्नु हुन्छ ? स्कोर गर्न नसके पनि नेपालको खेल उत्कृष्ट थियो ।’

फुटबल यदि गणित हुन्थ्यो भने प्रशिक्षक बालगोपाल महर्जनको तर्क जायज लाग्ने थियो । तर, विडम्बना ! फुटबलमा ‘प्रोसेसको मार्क्स’ आउँदैन । खेल कस्तो थियो भन्ने समिक्षाको विषय त बन्न सक्छ, तर नतिजा निकाल्न गोल नै गर्नुपर्छ । बालगोपाल चाहीँ नतिजाभन्दा ‘खेल’ देखाएर टीमका कमजोरी ढाकछोप गर्न खोजिरहेका थिए ।

किर्गिस्तानविरुद्धको बराबरीले नेपाल ट्राइ नेसन्स कपको फाइनलमा पुग्ने सम्भावना चुनौतिपूर्ण बनेको छ । यो धेरै महत्वपूर्ण प्रतियोगिता होइन, तर घरेलु दर्शकहरू नेपाली टिमको जित हेर्न आतुर थिए । ६ वर्षको खडेरी चिर्दै सिनियर फुटबल टोली दशरथ रंगशालामा खेलिरहेको नेपाली टोली पनि जितकै खोजीमा थियो । अन्तिम ३० मिनेट विपक्षी टिम १० जनामा सीमित भएको अवस्थामा खेल जित्न नसक्नु नेपालका लागि निराशाजनक नतिजा हो ।

गोलरहित बराबरी नतिजामा दर्शक सन्तुष्ट भएनन् । खेलाडी खुशी भएनन् । तर बालगोपालले भने ‘खेल राम्रो थियो’ भन्दै आफैंलाई सान्त्वना दिन खोजे । उनले भने, ‘म यो नतिजाबाट सन्तुष्ट छु ।’

हिजोको म्याचका लागि गरिएको खेलाडी छनोटलाई लिएर प्रश्न उठेको थियो । महत्त्वपूर्ण खेलाडीहरूलाई कुनै तार्किक कारणबिना टिमबाहिर राखिँदा नेपालको फिनिसिङ कमजोर बनेको विश्लेषण खेल समिक्षकहरूले गरे ।

नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विकाश खवास लगायतका प्रभावशाली खेलाडीलाई २३ जनाको टोलीमा समावेश नगर्ने प्रशिक्षकको निर्णय गलत ठहरिन पुग्यो । सायद त्यसको बचाउ गर्नका लागि पनि बालगोपाले सन्तुष्टीको अभिनय गरिरहेका थिए । अन्यथा सामाजिक सञ्जाल, रंगशालाको प्यारापिट र समग्र फुटबलप्रेमीलाई सन्तुष्टि दिन नसकेको यो खेलमा उनी सन्तुष्ट हुने कुनै आधार भने देखिँदैन ।
खेलको अघिल्लो दिन उनै बालगोपालले भनेका थिए, ‘हामीले सोचेको स्तरको किर्गिज टोली रहेनछ । अब हामी ट्रेनिङमा खेलेजति मात्रै प्रदर्शन दिनसके पनि खेल जित्छौं ।’

उनले बंगलादेशविरुद्ध किर्गिज टिमको खेल हेरेर उनीहरुलाई यसरी अवमूल्यन गरेका थिए । बिहीबारको पोष्ट म्याच कन्फ्रेन्समा उनलाई सोधियो, ‘ट्रेनिङमा जत्तिको पनि टोलीले खेल्न नसकेको हो त ?’

जवाफमा प्रशिक्षक महर्जनले भने, ‘त्योभन्दा धेरै खेलेको हो । नजितेको मात्र हो ।’ उनले खेलाडी छनोटमा गल्ति भएको स्वीकार गरेनन् । बरु बचाउ गरे । उनी भन्दै थिए, कसलाई राख्नु पर्थ्यो टोलीमा ? मैले जसलाई राखेको छु त्यसमा म सन्तुष्ट छु ।

तर, किर्गिस्तानको युवा टोलीसँग नतिजा निकाल्न चुकेको नेपालले भोलि बंगलादेशको राष्ट्रिय टिमसँग खेल्दैछ । बंगलादेशले पहिलो म्याचमा किर्गिस्तानलाई हराएको थियो । भोलिको म्याचमा नेपालले सुखद नतिजा निकाल्ने बालगोपालले बताएका छन् ।

तर, ‘सुखद नतिजा’ भनेर केलाई बुझ्ने ? उनले हिजो गरेको तर्कअनुसार त नेपालले खेल नजिते पनि ‘बल पोसेसन’ राम्रो गर्‍यो भने त्यसलाई राम्रो मान्नुपर्ने हुन्छ । तर, दर्शक र खेलाडी त जित नै चाहन्छन् । जितका लागि गोल नै गर्नुपर्छ ।

बालगोपाल नेपालका पूर्वराष्ट्रिय खेलाडी हुन् । खेलमा गोलको महत्त्व, जित–हारको भिन्नता उनलाई राम्ररी थाहा छ । अहिले प्रशिक्षकको भूमिकामा उनी नेपाली टिमलाई जिताउने ध्याउन्नमै हुन्छन् भन्नेमा कुनै शंका छैन । विगतमा उनको प्रशिक्षणमा उमेर समूहको फुटबलमा नेपालले धेरै उत्कृष्ट नतिजाहरू निकालेको छ । सिनियर फुटबलमा पनि प्रशिक्षकका रूपमा योगदान दिएका छन् ।

तर, प्रशिक्षक जति उत्कृष्ट भए पनि कहिलेकाहिँ रणनीतिगत गल्तिहरू हुन सक्छन् । त्यसलाई महसुस गरेर, कमजोरी स्वीकार गरेर आफूलाई सच्याउन भने कञ्जुस्याइ गर्नु हुँदैन । बालगोपालले यो पक्षमा चाहिँ आफूलाई सुधार्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर