‘क’ वर्गका ८ बैंकको सञ्चालक समिति महिलाविहीन – Nepal Press

‘क’ वर्गका ८ बैंकको सञ्चालक समिति महिलाविहीन

कम्पनी ऐनअनुसार सञ्चालक समितिमा महिला अनिवार्य !

काठमाडौं । कम्पनी ऐनले कुनै पनि पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तिमा एकजना महिला अनिवार्य गरेको छ । जसअनुसार नेपालका वाणिज्य बैंकहरूको सञ्चालक समितिमा पनि कम्तिमा एक एकजना महिला हुनुपर्ने हो । तर, नेपालका ‘क’ वर्गका २७ बैंकमध्ये १९ वटा बैंकको सञ्चालक समितिमा मात्रै महिला छन् । ८ वटा बैंकको सञ्चालक समिति अझै महिलाविहीन छ ।

ग्लोबल आईएमई बैंकको ६ जना सञ्चालक समितिमा एक जना पनि महिला छैनन । एनएमबी बैंकले पनि सञ्चालक समितिमा महिला राखेको छैन । एनआईसी एसिया, सिद्धार्थ र नेपाल बंगलादेश बैंकको सञ्चालक समितिमा महिला छैनन् ।

‘ऐनले सञ्चालक समितिमा महिला अनिवार्य भनेको छ । र, हामी पनि त्यसका लागि गृहकार्य गरिरहेको छौं,’ ग्लोबल आईएमई बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीले भने ।

महिलामैत्री कम्पनी ऐन आउनुअघि भन्दा बैंक संचालक समितिसँगै बैंकमा महिला कर्मचारीको सङ्ख्या बढेको छ ।

कुन बैंकको सञ्चालक समितिमा को महिला छन् ?

नेपाल इन्भेष्टमेण्ट बैंकमा मञ्जु

मञ्जु बस्नेतको बैंकिङ क्षेत्रमा ३१ वर्षको अनुभव छ । उनले एमबीएमा डिग्री गरेकी छन् । उनी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको सञ्चालक समितिमा निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

नबिल बैंकमा आशा

आशा राना अधिकारी नबिल बैंकको सञ्चालक समितिमा निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् । उनले विभिन्न वित्तीय क्षेत्रमा ३२ वर्षको अनुभव हासिल गरेकी छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा रोमिला

रोमिला ढकाल उप्रेती राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा छिन् । उनले व्यवस्थापनमा स्नाकोत्तर गरेकी छन् । उप्रेतीसँग यसअघि एभरेष्ट बैंकमा २० वर्षभन्दा उच्च तहमा काम गरेको अनुभव छ ।

प्रभु बैंकमा अन्जु

अन्जु अधिकारीसँग नेपाल राष्ट्र बैंकको विभिन्न तहमा ३० वर्ष सेवा गरेको अनुभव छ । उनी प्रभु बैंकमा दुई वर्षदेखि सञ्चालक समितिमा निर्देशकका रुपमा कार्यरत छिन् ।

एसबीआई बैंकमा विमला

विमला सुवेदी एसबीआई बैंकको सञ्चालक समितिमा आउनुअघि उनले लेखा परीक्षणको काम गर्थिन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेकी सुवेदीसँग ३१ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

सिटिजन बैंकमा सीता

सीता कार्की केसीसँग नेपालको ट्राभल तथा उद्यमीका क्षेत्रमा १५ वर्ष काम गरेको अनुभव छ । हाल उनी सिटिजन बैंकको सञ्चालक समितिमा छन् ।

मेगा बैंकमा शिवा

शिवा देवी काफ्लेसँग नेपाल राष्ट्र बैंकको प्रमुख भूमिकामा रहेर काम गरेको अनुभव छ । उनले अर्थशास्त्रमा एमफिल गरेकी छन् ।

एभरेष्ट बैंकमा उर्मिला

एभरेष्ट बैंकको पब्लिक डाइरेक्टरमा उर्मिला श्रेष्ठ छन् । उनीसँग पनि लामो समय विभिन्न बैंकमा काम गरेको अनुभव छ ।

बैंक अफ काठमाडौंमा अमृत र मोहना

बैक अफ काठमाडौंको सञ्चालक समितिमा दुईजना महिला छन् । अमृता उप्रेती र मोहना लोहनी उक्त बैंकको निर्देशकको जिम्मेवारीमा छन् ।

स्टान्डर्ड चार्टड बैंकको नेतृत्वमा जरिन

स्टान्डर्ड चाटर्ड बैंकको नेपालका लागि अध्यक्ष जरिन दारुवाला छिन् भने करेन दी अल्बीसले निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

नेपाल बैंकमा सावित्री

सावित्री रञ्जित श्रेष्ठ नेपाल बैंकको हालकी सञ्चालक समितिकी निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

माछापुच्छ्रे बैंकमा सृजना

सृजना कार्की भट्टराईले वजनेस एडमिनिस्ट्रेशनमा एमबीए गरेकी छन् । विभिन्न कम्पनी तथा हस्पिटलमा प्रमुख जिम्मेवारीका रुपमा काम गरिसकेकी भट्टराई हाल माछापुच्छ्रे बैंकको प्रमुख भूमिकामा छिन् ।

एनसीसी बैंकमा सुमनकुमारी

एनसीसी बैंकको सञ्चालक समितिमा सुमनकुमारी जोशी निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

लक्ष्मी बैंकमा स्वस्ती र विद्या

लक्ष्मी बैंकको संचालक समितिमा स्वस्ती रोङ्गटा जनेरल पब्लिकमा र विद्या बस्न्यातले निर्देशकका जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रोफेसर डा. गीता प्रधान सेन्चुरी बैंकको सञ्चालक समितिमा छन् । यसैगरी प्राइम बैंकमा डा. मंगला श्रेष्ठ छन् भने कुमारी बैंकमा अनुराधा चौधरी र सानीमा बैंकमा गायत्री थापाले सञ्चालक समितिको कार्यभार सम्हालिरहेका छन् ।

अनुपमा खुञ्जेलीले सिईओको भूमिकामा रहेर मेगा बैंक चलाइरहेकी छन् । मेगा बैंकमा नै प्रमुख जिम्मेवारीमा रविना देशराज पनि छन् । भर्खरै सनराइज बैंकको सीईओको रुपमा आरती राणा नियुक्त भएकी छन् ।

महिला कर्मचारी राख्नेमा प्रभु पहिलो, एनआईसी दोस्रो

अहिले नेपालमा २७ ओटा ‘क’ वर्गका बैंकमा रहेका ४४ हजार ५०२ जना कर्मचारीमध्ये १७ हजार तीन सय जना महिला छन् । नेपाल बैंकर्स संघको तथ्याङ्कअनुसार प्रभु बैंकमा सबैभन्दा धेरै महिला कर्मचारी छन् । उक्त बैंकमा एक हजार २ सय ९३ जना कर्मचारी महिला छन् । प्रभुमा पुरुषको तुलनामा महिला कर्मचारीको संख्या बढी छ । पुरुष कर्मचारीको संख्या १ हजार १ सय ११ रहेको छ ।

एनआईसी एसिया बैंक महिला कर्मचारी राख्नेमा दोस्रो नम्बरमा छ । जहाँ १ हजार २०७ जना कर्मचारी महिला कर्मचारी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर