फिनिसिङमा चुकेको नेपाल किर्गिस्तान यु २३सँग गोलरहित बराबरीमा रोकियो – Nepal Press

फिनिसिङमा चुकेको नेपाल किर्गिस्तान यु २३सँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं । विपक्षी गोल पोस्टमा पर्याप्त अवसर सिर्जना गरे पनि उपयोग गर्न नसक्दा किर्गिस्तानको युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय टोली घरेलु मैदानमा जारी त्रीदेशीय फुटबल प्रतियोगितामा दबाबमा परेको छ ।

करिब ६ वर्षपछि दशरथ रंगशालामा पहिलो पटक खेलेको नेपाली सिनियर टोलीका स्ट्राइकरहरू लय गुमाएका देखिन्थे । खेलको ६७औं मिनेटमा नेपाली फरवार्ड अभिषेक रिजालमाथि खराब फाउल गरेका किर्गिज कप्तान ताशेभ कामोलिदिन दोस्रो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए । त्यसअघि, १९औं मिनेटमा पहिलो कार्ड पाएका कप्तान ६७औं मिनेटमा बाहिरिएसँगै भ्रमणकारी किर्गिस्तानले पछिल्लो २३ मिनेट १० जनामा सीमित भएर खेलेको थियो ।

सुरुदेखि नै ‘बल पोसेसन’मा प्रभाव राखेको नेपालका लागि तेस्रो मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार फ्रेममा परेको थिएन । भ्रमणकारी किर्गिस्तान यु २३ को रक्षापंक्ति बारम्बार पार गरेको नेपालका लागि चौथो मिनेटमा तेज तामाङको क्रसमा अञ्जनको हेडर पनि बाहिरिएको थियो ।

अग्रताका लागि निरन्तर प्रयासरत नेपालका लागि १०औं मिनेटमा डेब्युटेन्ट त्रिदेव गुरुङको कर्नरमा डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गरेको प्रहार पनि आउट हुँदा घरेलु टोली दुर्भाग्यशाली साबित भयो ।

त्यसको चार मिनेट नबित्दै अञ्जनको क्रसमा किर्गिस्तानका कप्तान ताशेभ कामोलिदिनले बचाउन खोज्दा बल पोलमा लागेर फर्केको थियो । दोस्रो हाफको सुरुदेखि नै आक्रमणलाई निरन्तरता दिएको नेपालका लागि ४९औं मिनेटमा रन्जित धिमालले १८ पेनाल्टी एरिया बाहिरबाट गरेको लामो दूरिको प्रहारमा किर्गिस्तानी डिफेन्डर कुमारबाज युलु बेइमान बाधक बनेका थिए ।

नेपालको गोलपोस्टमा बिरलै पुगेको भ्रमणकारी किर्गिज टोलीका लागि ५३औं मिनेटमा बोरुबइभ गुल्हिजितले २५ यार्डबाट प्रहार गरेको फ्रिकिक क्रसबार माथिबाट बाहिरिएको थियो ।

त्यसको एक मिनेट नबित्दै ५४औं मिनेटमा पुन: गुल्हिजितले १८ यार्ड बक्स अगाडिबाट प्रहार गरेको फ्रि-किक नेपाली कप्तान किरण चेम्जोङले सहजै बचाउ गरेका थिए ।

खेलको ६२औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको फ्रि-किकमा उपकप्तान रोहितले प्रहार गरेको हेडरमा किर्गिस्तानका गोलकिपर प्रियाडकिन आर्टेम बाधक बने ।

त्यस्तै, ७८औं मिनेटमा अनन्तले ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको ओभर हेड किकमा किर्गिज गोलकिपर बाधक बनेका थिए ।

बंगलादेश फाइनलमा

आयोजक नेपाल र किर्गिस्तानी टोली गोलरहित बराबरीमा रोकिएसँगै बंगलादेशले फाइनल खेल्ने निश्चित भएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले किर्गिज यु २३ विरुद्ध १-० को जित निकालेको थियो । राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

एक खेलबाट ३ अंक जोडेको बंगलादेशविरुद्धको खेलले फाइनल खेल्ने अर्को टोली टुङ्गो लाग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर