‘टाइट’ छ त्रिवेणी नाका, छैन चिन्ता ! – Nepal Press

‘टाइट’ छ त्रिवेणी नाका, छैन चिन्ता !

भारतीय स्वीकृती नपाउँदा खुलेकै थिएन नाका

पोखरा । कोरोना जोखिम फेरि बढ्न सक्ने भन्दै बुधबारमात्रै गृह मन्त्रालयले ७७ वटै जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । भारतलगायत देशमा कोरोनाको ‘दोस्रो लहर’ शुरु भएको र त्यसको असर नेपालमा पनि देखिन सक्ने भन्दै आइतबारमात्रै स्वास्थ्य मन्त्रालयले कुनै पनि प्रकारको भिडभाडजन्य कार्यक्रम नगर्न अनुरोध गरेको थियो ।

कोरोनोको नयाँ ‘भेरियन्ट’ आइसकेको र यो अघिल्लो पटकभन्दा बढी जोखिमयुक्त भएकाले पनि मन्त्रालयले सजग रहन आग्रह गरेको हो । भारतमा कोरोनाको दोस्रो लहरको चर्चा चलिरहँदा नाका र सीमा क्षेत्रमा सबैभन्दा जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

गत चैत १० गतेबाट पूर्ण रुपमा बन्द भएका सीमा नाकाहरू माघ ११ को मन्त्रिपरिषद् बैठकले भारत तथा चीनसँग जोडिएका ३० नाका खुला गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले दोस्रो चरणमा खुला गर्ने निर्णय गरेको नाकामा गण्डकीको त्रिवेणी नाका पनि परेको थियो । यो गण्डकी प्रदेशसँग जोडिएको एकमात्र भारतीय नाका पनि हो ।

तर, मन्त्रिपरिषद्‌बाटै निर्णय भएर सर्कुलर जारी भइसक्दा पनि स्वास्थ्य मापदण्ड नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपुरले फागुन अन्तिमसम्म नाका खुला सकेको थिएन । भारतीय पक्षले आफूहरू तत्कालै नाका खोल्न नमानेकाले अहिलेसम्म नाका खुल्न नसकेको त्रिवेणीस्थित छोटी भन्सार नाका प्रमुख विकास उपाध्याय बताउँछन् ।

‘मार्च १५ बाट खुल्ने कुरा थियो । तर, भारतीय पक्षले केही समय मागेकाले यो टरिरह्यो,’ भन्सार प्रमुख उपाध्यायले भने, ‘यो महिना भनेको उनीहरुको क्लोजिङ इअर पनि हो । त्यसैले यसबारे छलफल नै हुन सकेको थिएन ।’

उपाध्यायले होलीपछिमात्रै त्रिवेणी नाका खुला गर्नेबारे छलफल गर्ने भनिए पनि भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले अन्योलता थपिएको बताए । ‘केही दिनमै होली आउँदैछ । त्यसपछि छलफल गर्ने कुरा थियो । तर, फेरि भारतमा कोरोना बढेको र सरकारले पनि सजगता अपनाउन भनेकाले अन्यौलता थपिएको छ,’ उनले भने ।

त्रिवेणी नाकाबाट डर छैन : प्रजिअ
नाका पूर्ण रुपमा खुला गर्न नसके पनि आंशिक रुपमा भने फागुन पहिलो साताबाटै शुरु भएको थियो । भारतीय पक्षमा भन्सार बन्द रहेका कारण नाका पूर्ण रुपमा खुला गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय नवलपुर प्रमुख मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।

नाका अझै पनि आंशिकमात्रै खुलेकाले कोरोना चेकजाँचमा कुनै हेलचक्य्राइँ नभएको सिडिओ पंगेनीको दाबी छ । ‘हाम्रो नाका यसै पनि ब्यारेज हो । पुलबाटै आउने जाने हुँदा दिनमा बढीमा १० जनामात्रै आउजाउ गर्ने स्थिति छ,’ उनले भनिन्, ‘हाम्रो नाका धेरै सुरक्षित छ । डर छैन ।’

भारतीय पक्षसँग २ पक्षीय बैठक हुन लागेकोले त्यसबाट नाका अझै सुरक्षित हुने गरी छलफल र निर्णय गरिने सिडिओ पंगेनीले बताइन् । उनले भनिन्, ‘अहिले पनि भारतीय भन्सार बन्द भएकाले आउजाउ छैन । अत्यावश्यक कामले जानेहरुको पनि मापदण्ड अनुरुप नै स्वास्थ्य जाँच गरिरहेका छौं । एकदम टाइट छ ।’

प्रतिदिन ६ लाख रुपैयाँसम्म राजश्व संकलन हुने उक्त नाका सरकारले खुला गर्ने निर्णयसँगै केही समय खुलेको पनि थियो । तर, पछि भारतीय पक्षले आफ्नो भन्सार बन्द गरिदिएपछि नेपालतर्फको भन्सार पनि बन्द हुन पुगेको सिडिओ पंगेनीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *