क्युआर कोड छ्याप्छ्याप्ति, तर उपयोग कति ? – Nepal Press

क्युआर कोड छ्याप्छ्याप्ति, तर उपयोग कति ?

कालिमाटी तरकारी बजार पुग्दा यस्तो देखियो

काठमाडौं । सूचना प्रविधिको विस्तारसँगै सरकारले पछिल्लो समयमा डिजिटल भुक्तानी प्रणालीलाई निकै प्रश्रय दिइरहेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंक आफैंले अगुवाइ गरेर अघि बढाएको डिजिटल भुक्तानी प्रणाली हो- क्युआर कोड ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको पहलमा क्युआर कोडलाई व्यापकता दिने प्रयास भइरहेको छ । फलतः अहिले चिया पसलदेखि तरकारी बजारसम्म क्युआर कोडको संकेत देख्न सकिन्छ । तर, यसको उपयोगको अवस्था के छ ? हामीले शुरुमा कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा पुगेर यसबारे बुझ्ने प्रयास गर्‍यौं ।

गत पुस २४ गते कालिमाटी तथा फलफूल बजारको प्राङ्गणमा आयोजित कार्यक्रममा गर्भनर अधिकारी र प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा क्युआर कोड सञ्चालनमा ल्याइएको थियो । उक्त कार्यक्रममा गर्भनर अधिकारीले व्यापारीलाई क्युआर कोड प्रदान गरेका थिए ।

तर, यतिका दिनसम्म पनि कालिमाटी बजारमा क्युआर कोडको प्रयोग खासै हुने गरेको देखिएन । कतिपय व्यापारीले प्यानमा दर्ता हुने झन्झटका कारण क्युआर कोड नै नलिएको बताए भने कतिपयले क्युआर कोड लिए पनि त्यसको प्रयोग निकै कम भएको जानकारी दिए ।

कालिमाटी बजारभित्रको अस्तव्यस्तामा क्युआर कोडको कार्यान्वयन नै व्यावहारिक नदेखिएको उनीहरूको भनाइ छ ।

व्यापारी मात्रै नभई ग्राहक पनि क्युआर कोडमा खासै आकर्षित छैनन् । मोबाइलमा वाइफाइ चलाएर भुक्तानी गर्ने भन्दा गोजीबाट पैसा निकालेर दिननै उनीहरू सजिलो ठान्छन् । थोरै पैसाको सामान किन्न बैंकिङ सेवा किन प्रयोग गर्ने भन्ने मानिसिकता धेरैमा देखिन्छ भने कतिपय ग्राहक बैंकिङ पहुँचभित्र छैनन् ।

‘हातमुख जोड्न नै समस्या भएको बेला कता बैंकमा खाता खोलेर पैसा जम्मा गर्ने ?’ बल्खुबाट आएका ग्राहक केशव रायमाझी भन्छन् । कालीमाटी फलफूल तथा तरकारी बजारका एक व्यापारीका अनुसार महिनामा १० वटा कारोबार पनि क्युआर कोडबाट भएको छैन ।

‘क्युआर कोडमार्फत् भुक्तानी गर्ने सबै ग्राहक ठूला-ठूला सपिङ मलतिर गइहाल्छन् कि किन यता आउँथे ?’ व्यापारी राजन श्रेष्ठ भन्छन्, ‘यहाँ आउने ग्राहकहरू धेरै निम्नवर्गीय हुन्छन् । उनीहरूमध्ये धेरैको बैंकमा खातासमेत हुँदैन ।’

कालिमाटी बजारमा सामान खरिदविक्री हुँदा अत्यधिक भिड हुने भएकाले पनि सम्भव नहुने उनको भनाइ छ ।

‘तपाईं बिहान तीन बजे कालिमाटी आउनुभयो भने थाहा पाउनु हुन्छ कसरी तरकारी फलफूल किन्न कति संघर्ष गर्नुपर्छ । भिडले गर्दा कहिलेकाहीँ च्यापु नै उछिडिएला जस्तो हुन्छ । सामान लिन यति गाह्रो पर्छ भने कसरी क्युआर कोडको प्रयोग गर्ने ? कालिमाटी बजारमा यसको प्रयोगकर्ता बढ्छन् भन्ने मलाई लाग्दैन,’ श्रेष्ठले भने ।

अर्का व्यापारी विनोद हमालले हालसम्म आफूले क्युआर कोड नै नलिएको बताए ।

‘क्युआर कोडको सुविधा लिन पसल दर्ता गरेर अनिवार्य रुपमा प्यान कार्ड लिनुपर्ने भएकाले अहिलेसम्म हामीले क्युआर कोडको सुविधा लिएका छैनौं । हाम्रो पसलले प्यान कार्डका लागि प्रक्रिया अगाडि बढाएको छ । त्यो आउने बित्तिकै हामीलाई प्रभु बैंकले क्युआर कोड उपलब्ध गराउँछ,’ उनले भने ।

तर, क्युआर कोडमार्फत् पैसा तिर्न चाहने ग्राहक एकदमै कम आउनले गरेको र प्राय:ले नगदमै कारोबार गर्न चाहने उनको भनाइ छ ।

फलफूलतर्फका कतिपय व्यापारीले आफ्नै पसलअगाडि क्युआर कोडको विज्ञापन राखिएको पत्तो पाएका छैनन् । उनीहरूलाई क्युआर कोडको बारेमा जानकारी नै छैन । थाहा नपाएका फलफूल व्यापारीले उक्त सुविधा लिने कुरै भएन ।

प्रभु बैंकसहित अन्य विभिन्न बैंकहरूले क्युआर कोडको सुविधा उक्त बजारमा दिइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार समितका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।

बजारमा नि:शुल्क वाइफाइ
कालिमाटी तरकारी बजारमा वर्ल्ड लिंक कम्युनिकेसन प्रालिले नि:शुल्क वाइफाइ सेवा दिएको छ । बजारबाट तरकारी तथा फलफूल खरीद गर्नका लागि प्रभु बैंकसहित अन्य बैंकहरूको क्युआर कोडमार्फत् वर्ल्ड लिंकको इन्टरनेट उपयोग गरी सहजै भुक्तानी गर्न सकिन्छ ।

सूचना अधिकारी श्रेष्ठ हालसम्म करिब ३ सय व्यापारीले क्युआर कोड लिएको बताउँछन् । उनीहरूमध्ये अधिकांशले प्रभु बैंकको क्युआर कोड लिएका छन् ।

‘हाम्रा व्यापारीले क्युआर कोड लिए पनि ग्राहकहरू यसप्रति खासै आकर्षित छैनन् । सबैले नगदमा भुक्तानी गर्ने हुँदा क्युआर कोडमार्फत् एकदमै थोरै प्रयोगकर्ताले मात्रै भुक्तानी गर्छन्,’ उनले भने ।

प्रभु बैंकले क्युआर कोड लिन चाहने व्यापारीका लागि कर्मचारीको एउटा टोली नै कालिमाटी तरकारी बजारमा खटाएको छ ।

राष्ट्र बैंक भन्छ- विस्तारै बढ्छन्

व्यापारी तथा ग्राहकको क्युआर कोडप्रति न्यून आकर्षण रहेको राष्ट्र बैंकको पनि स्वकारोक्ति छ । न्यून आय तथा अनौपचारिक अर्थतन्त्र, बैकिङ पहुँच तथा वित्तीय साक्षरता अभाव, सबैसँग स्मार्टफोन फोन तथा इन्टरनेट अभावले क्युआर कोडको कार्यान्वयन चुनौतीपूर्ण रहेको राष्ट्र बैंकले ठानेको छ ।

चुनौती धेरै भए पनि कारोबारलाई डिजिटल बनाउनुको विकल्प नभएको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

‘क्युआर कोडमार्फत् भुक्तानी गर्नका लागि थुप्रै चुनौती छन् । भुक्तानी प्रणालीलाई डिजिटल बनाउनका लागि गर्भनरको अध्यक्षतामा गठन भएको राष्ट्रिय भुक्तानी बोर्डले त्यसको बारेमा आवश्यक निर्णय गर्दै अगाडि बढ्ने हो,’ उनले भने ।

प्रयोगकर्ता विस्तारै बढ्दै जाने विश्वास लिइएको कँडेलले बताए । हाल इन्टरनेट लगायतका पूर्वाधार पुर्‍याउनका लागि वर्ल्ड लिंक र भायानेटले नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

‘भुक्तानीका लागि नेपालका बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिएका छैनन् । हामीलाई त्यसका लागि फोन पेले पनि सहयोग गरिरहेको छ,’ उनले भने ।

के गर्दैछ भुक्तानी बोर्ड ?
नेपाल राष्ट्र बैंकको अध्यक्षतामा गठन भएको राष्ट्रिय भुक्तानी बोर्डमा गभर्नर अधिकारीसहित अर्थ मन्त्रालयका राजस्व सचिव, दुरसञ्चार प्राधिकरणका अध्यक्ष सदस्यहरू रहेका छन् ।

बोर्डले डिजिटल भुक्तानी बढाउनका आवश्यक पूर्वाधार निर्माणका लागि पहल गर्ने गर्दछ । भुक्तानी प्रणालीलाई डिजिटल बनाउनका लागि बोर्डले क्युआर कोड ग्राहकलाई नि:शुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

क्युआर कोडको प्रयोग गर्दा नि:शुल्क रुपमा भुक्तानी गर्नसक्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । एफवान सफ्ट प्रालिले बैंकहरूलाई क्युआर कोड उपलब्ध गराएको छ भने फोन पेले यसमा स्विचको काम गर्दै आएको छ ।

कसरी गर्ने प्रयोग ?
क्युआर कोड सम्बन्धित बैंकको मोबाइल बैंकिङ एप्समार्फत् प्रयोग गर्न सकिन्छ । युजर आइडी र पासवर्डमार्फत् मोबाइल बैंकिङ खोली फोन पेको अप्सनमा गई मोबाइल फोनको क्यामरामार्फत् भुक्तानी गर्नुपर्ने व्यक्तिको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

व्यवसायीलाई बैंकले दिने क्युआर कोडमा व्यवसायीको अकाउन्ट नम्बर तथा नाम उल्लेख गरेको हुन्छ ।

कति छन् प्रयोगकर्ता ?
क्युआर कोडका प्रयोगकर्ता र यसको प्रयोग संख्या विस्तारै बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागको माघ महिनासम्मको भुक्तानी प्रणाली सुचाङ्कमा क्युआर कोडमार्फत् कारोबार संख्या ५ लाख ३५ हजार ७ सय ९० रहेको छ ।

यसबाट १ अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *