६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने – Nepal Press

६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने

काठमाडौं । हुन्छ कि हुँदैन…भन्ने द्विविधा र अन्योल चिर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले ६ वर्षपछि दशरथ रंगशालामा बिहीबार पहिलो म्याच खेल्दै छ । थ्री नेसन्स कप अन्तर्गत नेपालको राष्ट्रिय टिम र किर्गिस्तानको यु २३ टिम आमनेसामने हुँदैछन् ।

दशरथ रंगशाला र नेपाली फुटबल एक–अर्काका पर्याय झैं बनेका थिए । तर, २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएपछि पाँच वर्षसम्म रंगशालाले फुटबलको मुख देख्न पाएन । पुनर्निमाणपछि १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन दशरथ रंगशालामा भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले चाहिँ भूकम्पयता पहिलोपटक रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो ।

अभ्यासमा रोहित चन्द । तस्वीर: एन्फा ।

सागमा नेपालको यु–२३ फुटबल टोलीले रंगशालामा खेलेको थियो र स्वर्ण पदक जितेको थियो । त्यसयता कोरोना महामारीका कारण रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फेरि बिरानो भयो । त्यसअघि शहीद स्मारक ‘ए’ डिभिजन लिग रंगशालामा भएको थियो । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बलले पहिलोपटक लिग जितेको थियो ।

मच्छिन्द्रले लिग जितेकै दिन साँझ तत्कालीन मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको प्रशिक्षणका लागि प्रारम्भिक टोलीसमेत बोलाएका थिए । तर, कोरोना भाइरसको महामारीका कारण ती सबै खेल एक वर्षपछि सरे । र, फेरि पनि रंगशालामा अन्तर्राष्ट्रिय फुटबल भएन ।

त्यसपछिको कोरोना महामारी सम्झिँदा एक वर्षअघि यति छिट्टै रंगशालामा फुटबल फर्कने सम्भव देखिएको थिएन । तर, करिब एक वर्षपछि राष्ट्रिय महिला लिगमार्फत् रंगशालामा फुटबल फर्कियो । त्यसले चाँडै नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध विश्वकप तथा एसियन कप छनोट खेलेको हेर्ने आशा पुनःजिवित गरेको थियो ।

अभ्यासमा विराज महर्जन । तस्वीर: एन्फा ।

तर, उही कोरोनाको महामारीले फेरि एकपटक ती सबै खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोली र दर्शक निराश भए । तर, करिब ६ वर्षको खडेरी तोड्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गर्‍यो ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको अर्को लहर चलेपछि फेरि यो प्रतियोगिता पनि अन्योलमा परेको थियो । तर, हिजो थ्री नेसन्स लिगको पहिलो खेल सम्पन्न भइसकेपछि बिहीबार हुने नेपाल र किर्गिस्तान यु–२३ बीचको खेललाई लिएर फुटबलप्रेमी र समर्थक दुवै उत्साहित छन् ।

कप्तान भन्छन्- यो दिनका लागि धेरै पर्खिनुपर्‍यो

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ रंगशालामा नेपालको प्रतिनिधित्व गरेर खेल्ने दिन फर्किँदा विछट्टै खुशी लागेको बताउँछन् ।

‘रंगशालामा हामीले अन्तिम पटक २०१५ मा भारतविरुद्ध खेलेका थियौं, त्यसपछि के–के भयो के–के…. फुटबल हुन्छ भन्यो, फेरि हुँदैन । हुन्छ भन्यो फेरि हुँदैन…’ उनले भने, ‘तर, अब फाइनल्ली टुर्नामेन्ट सुरु भएको छ । यो दिनका लागि हामीले एकदमै धेरै पर्खिनु पर्‍यो ।’

भोलिको खेल र समग्र प्रतियोगिताका लागि कप्तान आफू र टोली पनि एकदमै उत्साहित रहेको गोलकिपर किरणको भनाइ छ ।

‘हामी एकदमै धेरै उत्साहित छौं । हाम्रा लागि यो एकदमै महत्त्वपूर्ण पनि थियो । किनभने, विश्वकप छनोटअन्तर्गत हामीले अझै तीन खेल खेल्न बाँकी छ । अब सबै खेल नेपालमै होस् भन्ने आशा पनि छ ।’

नेपाली राष्ट्रिय टोलीले गत नोभेम्बरमा बंगलादेशविरुद्ध खेलेका दुई मैत्रीपूर्ण खेलमा एक हार र एक बराबरीको नजिता निकालेको थियो । त्यो नै नेपालले खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेल हो ।

फिफा बरियताको १७१औं स्थानमा रहेको नेपालले भोलि किर्गिस्तान यु–२३ सँग खेल्दै छ । सिनियरतर्फको बरियतामा नेपालभन्दा ७५ स्थान माथि भएको किर्गिस्तानको यु–२३ टोलीविरुद्ध विजयी सुरुवात चाहन्छ नेपाल ।

‘इलेभेन भर्सेज इलेभेन’को तथ्यायङ्कअनुसार नेपालले यसअघि २००९ र २००३ मा दुईपटक किर्गिस्तानससँग खेलेको छ । तीमध्ये २००३ मा २–० गोलको पराजय भोगेको नेपालले २००९ मा दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

तर, ओलम्पिक टोली अर्थात् यु–२३ सँग पहिलो पटक खेल्न लागेको नेपाल ६ वर्षपछि घरेलु समर्थकासामु जितको खुशी साट्न चाहन्छ ।
‘हामी लामो समयदेखि तयारी गरिरहेका छौँ,’ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘त्यसैले खेलाडीहरूले प्रतिस्पर्धामा राम्रो गर्ने विश्वास छ ।’

नोभेम्बरमा भएका खेलमा नेपालको नतिजा सन्तोषजनक नहुनुको कारणमा तयारी नपुगेको र सबै खेलाडी उपलब्ध नभएको उनले औंल्याए ।

‘त्यो बेला धेरै खेलाडीले विभिन्न कारणले खेलेका थिएनन् । एक हप्ता मात्रै अभ्यास गरेका थियौं । त्यो पनि पनि राम्ररी गर्न पाएका थिएनौँ । त्यसैले नतिजा राम्रो भएन,’ प्रशिक्षक महर्जनले भने ।

तर, अहिले अवस्था फरक रहेको र सबै कुरा अनुकुल रहेको उनले दावी गरे ।

बिहीबार साँझ ५ः३० बजे नेपाल र किर्गिस्तान यु २३ टोली भिड्नेछन् । दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले सामान्यतर्फ ७ सय र भीआइपी प्यारापिटतर्फ १ हजार ५ सय गरी १२ हजार टिकट बिक्री गरिरहेको छ ।

नेपाल, बंगलादेश र किर्गिस्तान यु २३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो । र, पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५०० तथा प्लेयर अफ दी म्याचले २५० डलर प्राप्त गर्नेछन् ।

अभ्यासमा नवयुग श्रेष्ठ । तस्वीर: एन्फा ।

नवयुग, विकाश, आषिश र विशाल परेनन् टोलीमा

र, यो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् ।

प्रशिक्षक महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ परेका छैनन् ।

विकाश खवास, विशाल श्रेष्ठ, सन्तोष तामाङ र ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा पनि टोलीमा परेका छैनन् ।

नेपालको टोली

गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर