राष्ट्रपतिको भ्रमणबारे बंगलादेशसँगै भारत र चीनका मिडियामा चर्चा – Nepal Press

राष्ट्रपतिको भ्रमणबारे बंगलादेशसँगै भारत र चीनका मिडियामा चर्चा

इटहरी । स्थानीय समय अनुसार सोमबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुग्दा राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नै आइपुगे ।

बंगलादेशको ‘नम्बर वान’ अंग्रेजी भाषाको दैनिक अखबार दि डेली स्टारका अनुसार बंगलादेशी राष्ट्रपतिले १०:१७ मा भण्डारीलाई ‘रिसिभ’ गरेका थिए । भण्डारीलाई २१ तोपको सलामी र ‘गार्ड अफ अनर’ दिइयो ।

बंगलादेशका राष्ट्रपित बंगबन्दु शेख मुजिबुर रहमानको शतवार्षिकी तथा बंगलादेशको स्वतन्त्रताको स्वर्ण महोत्सवको दश दिने विशेष समारोहमा सरिक हुन भण्डारी बंगलादेश पुगेको समाचारले त्यहाँ विशेष महत्त्व पायो । मार्च १७ (चैत्र ५)बाट सुरु दश दिने समारोहरूमा सरिक हुने राष्ट्रपति भण्डारी तेश्रो राष्ट्र प्रमुख हुन् ।

राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा सोमबार बंगलादेश पुग्नु अगाडि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे र माल्दिभ्सका राष्ट्रपति इब्राहिम महोमद सोलिह बंगलादेश पुगेका थिए । भण्डारी पुगेको भोलिपल्ट भुटानी प्रधानमन्त्री लोतो छिरिङ बंगलादेश ओर्लिए । दि डेलि स्टारका अनुसार मार्च २६ (चैत्र १३) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बंगलादेश ओर्लिनेछन् ।

बंगलादेशी मिडियामा ‘ब्याक टु ब्याक’ अपडेट

दुइ दिने बंगलादेशको राजकीय भ्रमणमा गएकी राष्ट्रपति भण्डारीको समाचार कभरेज बंगलादेशमा व्यापक भयो । राष्ट्रपति आउनेदेखि आएपछि भएका लगभग हरेक मुद्धाहरू मुलधारका अखबारमा समाचार बने ।

उदाहरणका लागी बंगलादेशको सर्वाधिक पढिने अखबार दि डेली स्टारनै हेरौँ । स्टारले भ्रमणको एक दिन अगाडि नै हेडलाइन बनाएको थियो ‘भोलि नेपाली राष्ट्रपति बंगलादेश आउँदै’ ।

भ्रमण भएको दिनपनि डेली स्टारले समाचार बनायो- ‘नेपाली राष्ट्रपति ढाका आइपुगिन्’ । भण्डारी ढाका ओर्लिएको प्रशंग ल्याउदै समाचारमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमको एक अति विशिष्ठ हवाइजहाजबाट नेपाली राष्ट्रपति र उनको भ्रमण दल हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा दश बजे ओर्लिएको छ ।’

स्टारले नै राष्ट्रपति भण्डारीले बंगलादेशी शहीदहरूलाई माल्यार्पण गरेको समाचारलाई प्राथामिकता दिएको छ । ‘नेपाली राष्ट्रपतिले राष्ट्रिय विभूतिहरुलाइ सम्मान गरिन्’ शीर्षक समाचारमा भण्डारीले नेपाल बंगलादेशलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने सातौँ मुलुक भएको बताएको उल्लेख छ ।

बंगलादेशको राष्ट्रिय स्मारकमा भण्डारी पुग्दा उनलाई बंगलादेशका मुक्ति युद्ध मामिला मन्त्री एकेइएम मुजामेल हक, स्वास्य तथा पारिवारिक कल्याण मन्त्री जाहिद मालेक लगायतले स्वागत गरेका थिए । ‘उदय पड्डा’ नामक बिरुवासमेत रोपेकी राष्ट्रपति भण्डारीले आगन्तुक पुस्तिकामा लेखिन्- ‘देशको इतिहासमा शहीदहरूको बलिदानीलाई आउने पुस्ताको शक्ति तथा प्रेरणाको श्रोतको रूपमा सम्झिइन्छ ।’

राष्ट्रपति भण्डारीकै भ्रमणमा गरिएका चार समझदारी पत्रको हस्ताक्षरलाई पनि स्टारले प्राथामिकताका साथ छापेको छ । ‘ढाका र काठमाडौंले चार समझदारी पत्रमा गरे हस्ताक्षर’ शीर्षक समाचारमा भण्डारीको भ्रमणमा भएका व्यापार, पारवहन, पर्यटन, सरसफाइ तथा सांस्कृतिक आदानप्रदानको समझदारी पत्रको हस्ताक्षरको चर्चा गरिएको छ ।

बंगलादेशका नागरिक उड्ययन तथा पर्यटन सचिव मोकामेन हुसेन र नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव यादव प्रसाद कोइरालाले हस्ताक्षर गरेको पर्यटन साझेदारी, नेपालका उद्योग व्यापार तथा निर्यात मन्त्रालयका सचिव दिनेश भट्टराई र बंगलादेशको कृषि मन्त्रालयका वरिष्ठ सचिव महोमद मेसबल इस्लामले गरेको सेनिटरी तथा साइटोसेनिटरीको समझदारी, सचिव भट्टराईले नै वाणिज्य मन्त्रालयका सचिव डाक्टर महोमद जफर उदिनसँग गरेको रोहनपुर-सिंहवाद रेल्वे रूटको पत्र आदानप्रदानको समझदारी भएको समाचारमा उल्लेख छ ।

यस्तै, सन २०२२ देखी २०२५ सम्म बंगलादेशका संस्कृति मामिला सचिव बाद्रुल आरेफिल र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव यादव प्रसाद कोइरालाले गरेको सांस्कृतिक आदानप्रदानको सम्झौता भएको डेलि स्टारको समाचारमा उल्लेख छ ।

यस्तै स्टारले बंगलादेशले भारत हुँदै नेपालको बिजुली आयात गर्ने विषयमा समेत प्राथामिकताको साथ समाचार बनाएको छ । राष्ट्रपति भण्डारी नेपाल फर्किने समयमा लेखिएको समाचारमा बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोमेनलाइ उदृत गर्दै भनिएको छ, ‘नेपाल बंगलादेश र भारत समझदारीको अन्तिम चरणमा छन् ।’

भण्डारीको समाचार भारतीय र चिनियाँ मिडियामा पनि

दक्षिण एसियाका दुई साना मुलुकको दुई पक्षीय मामिला हो, राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण । तर, यहि मामिलाको समाचार भारत तथा चिनियाँ मिडियाहरूमा समेत चर्चा भएको छ ।

भारतका हिन्दुस्तान टाइम्स, दूरदर्शन टेलिभिजनदेखि भारतको पहिलो मल्टिमिडिया समाचार एजेन्सी एसियन न्यूज इन्टरनेसनल (एएनआई)ले भण्डारीको बंगलादेश भ्रमणको समाचार प्रकाशन गरेका छन् ।

भारतीय मिडियाहरूले राष्ट्रपति भण्डारीको दुई दिने बंगलादेश भ्रमण शीर्षक वरिपरि रहेर राष्ट्रपति कार्यालयले जारी गरेको सूचनालाई आधार बनाएर भ्रमण तालिका र कार्यक्रमहरूको समाचार बनाएका छन् ।

यस्तै, चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि राष्ट्रपति भण्डारीले बंगलादेशको राजकीय भ्रमणको समाचार बनाएको छ । सन् २०१९ मा बंगलादेशका राष्ट्रपति नेपालको राजकीय भ्रमणमा आएको प्रसंग ल्याउदै सिन्ह्वाले नेपाली राष्ट्रपति भण्डारीको भ्रमणमा विभिन्‍न सम्झौताहरू हुने तथा नेपालको ऊर्जा बंगलादेशले किन्ने कुराको प्रसंग ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर