लुम्बिनीमा बढ्न थाले आन्तरिक पर्यटक, दैनिक हजारौले भ्रमण गर्दै – Nepal Press

लुम्बिनीमा बढ्न थाले आन्तरिक पर्यटक, दैनिक हजारौले भ्रमण गर्दै

रुपन्देही । कोभिड–१९ का कारण सुनसान बनेको बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

गत वर्ष चैतबाट लकडाउन भएसँगै बन्द भएको लुम्बिनी संघीय सरकारले यही मंसिर ३ गतेदेखि खुल्ला गरेको थियो । अहिले लुम्बिनी खुला भएसँगै आन्तरिक पर्यटक बढ्न थालेको लुम्बिनी विकास कोषको तथ्यांकले पुष्टि गरेको छ ।

गत मंसिरदेखि यो चैत पहिला हप्तासम्म २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले लुम्बिनी भ्रमण गरिसकेका छन् । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईका अनुसार बिस्तारै आन्तरिक पर्यटक लुम्बिनीमा बढ्न थालेका छन् ।

उनका अनुसार यहि चैत ६ गते मात्र ७ हजार ६ सय २ जना पर्यटक लुम्बिनी भ्रमण गरे । ‘लुम्बिनीमा अहिले आएका पर्यटक संख्या हेर्ने हो भने आन्तरिक पर्यटक आगमन बढेको भन्न सकिन्छ’ उनी भन्छन् ।

अहिले यहाँ आउने पर्यटकमध्ये केही भारतीय रहे पनि विदेशीको संख्या भने अत्यन्तै कम रहेको राई बताउँछन् । नेपालमा रहेका विभिन्न देशका राजदूत तथा अन्य कुटनीतिक नियोगका केही व्यक्तिहरु लुम्बिनी आए पनि बाहिरका पर्यटक आउने वातावरण तयार नभएको राईले बताए ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार फागुन महिनासम्म पर्यटकको चाप बढ्दै गएपनि चैत लागेपछि भारतमा बढदै गएको संक्रमणले केही कमी आएको छ । तर नेपाली पर्यटकको संख्या बढिरहेको छ ।

मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका सर्वसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश निःशुल्क छ भने अन्य जिल्लाका लागि प्रवेश शुल्क लाग्छ, यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुनेगरेको छ, लुम्बिनी भ्रमणमा आउने प्रायः सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् ।
लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसंग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलवस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढाटाढाबाट पनि आएको पाइएको छ ।

पर्यटकहरुका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी बिहार, बिश्व शान्ति द्धिप, नहर नौका बिहार आकर्षक छन् । लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठका अनुसार लुम्बिनी वरिपरीका पर्यटक बढी आउने र एकैदिनमा फर्कने गरेका छन् र केही मात्र बास बस्ने गरेका छन् ।

होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरु बैशाख महिनादेखि लागू हुने गरी ल्याउने तयारी भइरहेको श्रेष्ठले बताए ।

निर्माण सम्पन्न हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र केही वर्षमा तयार हुँदै गरेको लुम्बिनी गुरुयोजनालाई आधार मानेर यस क्षेत्रमा ठूलाठूला होटल खुल्ने क्रम बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर