गुरुङ फिल्मको रजत-यात्रा : पार्टी प्यालेसबाट हलतिर छलाङ !

‘नेपाली फिल्मले बल्ल मौलिकता खोज्दैछ, गुरुङ फिल्मको सुरुआत नै मौलिक कथाबाट भएको हो’

पोखरा । २०५२ सालमा ‘पातें’ नामक फिल्म बनेपछि गुरुङ फिल्मले नेपाली सिने क्षेत्रमा पहिलो पाइला टेक्यो । त्यसयता गुरुङ फिल्म निर्माणको यात्रा ठीक २५ वर्ष भइसकेको छ ।

गुरुङ फिल्मले आफ्नो रजत दिवस मनाइरहँदा नेपाली भाषाको फिल्मी क्षेत्रपछि दोस्रो ठूलो क्षेत्र बन्न सफल भयो । लगानी, गुणस्तर, कथा र दर्शकका हिसाबले पनि नेपाली भाषाको फिल्मपछि दोस्रोमा गुरुङ फिल्म नै आउने यससँग सम्बन्धित चलचित्रकर्मीको दाबी छ ।

तर, नेपाली फिल्म आकासमा दोस्रो ठूलो फिल्म क्षेत्र दाबी गरिरहँदा पनि गुरुङ फिल्म च्यारिटी शोहरुमै सीमित हुन पुगेको छ । गुरुङ फिल्मकर्मी आत्मसमीक्षा गर्छन्, ‘सधैं पार्टी प्यालेस, बैठक हल, समाजघरमा मात्रै सीमित भयौं । सर्वसाधारणसम्म पुग्न सकेनौं ।’

करोडौं लगानीमा गुरुङ फिल्म बन्ने तर, लक्षित वर्गसम्म नपुगेर विशेष शोका नाममा ‘भिआइपी र भिभिआइपी’ वर्गमै सीमित हुनु परेको छ । यसले गुरुङको मौलिक कथा र संस्कृति बाहिर आउन सकेको छैन ।

‘नेपाली फिल्मको ६० वर्षे यात्रामा बल्ल मौलिकताको खोजी हुँदैछ । तर, हामी सुरुआती चरणदेखि नै आफ्नो मौलिकता पस्किँदै आएकाछौं,’ गुरुङ फिल्म एसोसिएन अध्यक्ष भोजबहादुर गुरुङ भन्छन्, ‘तर, विशेष शोमै अल्झिरहँदा एक त नेपाली भाषाका चलचित्रसँग प्रतिस्पर्धा गर्न सकेनौं अर्को आफ्नो अनुहार स्थापित गर्न सकेनौं ।’

गण्डकी प्रदेशमा गुरुङ भाषीको बाहुल्यता छ । गण्डकी प्रदेशको राजधानी पोखरालाई केन्द्रित गरेर गुरुङ भाषाको फिल्मलाई सर्वसाधारणसम्म पुर्‍याउन यसअघि प्रयास नभएका भने होइनन् । तर, ती कतै हलका कारण रोकिए त कतै निर्माताकै कारण ।

‘हलमा गुरुङ फिल्म चलाउन भनेर हामीले पटक पटक हल धनीसँग आग्रह नगरेका पनि होइनौं । तर, उनीहरुले चल्दैन भनेर प्राथमिकतामा नराख्नाले उपेक्षित भइरह्यौं,’ जिफान अध्यक्ष गुरुङ भन्छन्, ‘विशेष शोबाट राम्रो आम्दानी हुने भएपछि निर्माताले पनि यसतर्फ कहिल्यै ध्यान दिएनन् ।’

कोभिड महामारीले अवसर !

कोभिड महामारीले नेपाली सिने क्षेत्र नराम्ररी थला पर्‍यो । यसको प्रत्यक्ष मारमा फिल्म हल सञ्चालक परे ।

सरकारले हालैमात्र ‘आधा संख्या’मा दर्शक राखेर फिल्म चलाउन स्वीकृति दियो । तर, विश्वभर कोरोना भाइरस मत्थर नभएकाले हलमा फिल्म पाउनै मुस्किल भयो । यत्तिकैमा हल सञ्चालकले आफैं जिफानसँग फिल्म दिन गुहार माग्नुपर्ने अवस्था आयो ।

‘हलमा पुगेपछिमात्रै फिल्म आम मान्छेमा पुग्छ भन्ने हाम्रो मान्यता हो । तर, कोभिड अघिसम्म हल पाउन सकेका थिएनौं,’ गुरुङ भन्छन्, ‘कोभिडपछि त हल सञ्चालकले आफैं फोन गरेर फिल्म मागे । आफूलाई सावित गर्ने यो राम्रो अवसर बन्यो ।’

अहिले पोखराका ठूला लगानी र सुविधासम्पन्न फिल्म हलले पनि गुरुङ भाषाको फिल्म प्रदर्शनका लागि छलफल अघि बढाइरहेको गुरुङ बताउँछन् ।

हलमा गुरुङ फिल्म: अवसरसँगै चुनौती पनि !

६० वर्षे नेपाली फिल्म इतिहासमै पहिलो पटक माघ फागुन १ बाट पोखराको मिडटाउन ग्यालेरियामा नियमित फिल्म प्रदर्शनमा आयो । हलमा अहिले ‘कर्म क्याः’ र ‘रिंजे नासा’पछि अहिले ‘शिरसुबा’ प्रदर्शन भइरहेको छ ।

पार्टी प्यालेसबाट हलमा गुरुङ फिल्म प्रदर्शन हुँदै गर्दा आफूहरुलाई अवसर र चुनौती दुवै रहेको जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ बताउँछन् ।

‘अहिले त हामी हलमा गुरुङ फिल्म पनि चलाउन सकिन्छ है भनेर बाटो खुला गर्न सकेका छौं । यसको भविष्य के हुन्छ अहिले नै भन्न सकिँदैन,’ गुरुङ भन्छन्, ‘यो अवसर र चुनौती दुवै हो हाम्रा लागि ।’

पार्टी प्यालेस वा सभाहलतिर फिल्म प्रदर्शन गर्दा सीमित वर्गले मात्रै फिल्म हेर्ने, फिल्मको आवाजदेखि दृश्य गुणस्तरियता घट्ने तर, हलमा देखाउँदा गुणस्तरियता बढ्ने भएकाले फिल्मको ‘खास समीक्षा’ हुने दाबी जिफान अध्यक्ष भोजबहादुर गुरुङको छ ।

‘पहिले हातहातमा महंगा टिकट भिराइदिएर फिल्म हेराउने, आफैं रमाउने स्थिति थियो,’ गुरुङ भन्छन्, ‘तर अब फिल्म साँच्चिकै सबै दर्शकको माझमा पुगेको छ । अब बल्ल आफ्ना फिल्मको खास समीक्षा हुन्छ ।’

पोखराका फिल्ममा गुरुङ फिल्मले सफलता पाए अन्य ठाउँमा पनि प्रदर्शन गर्ने योजना रहेको अध्यक्ष गुरुङ सुनाउँछन् । ‘पोखरामा दर्शकको साथ राम्रै पायौं भने अब बन्ने गुरुङ फिल्म काठमाडौं, चितवन लगायतका गुरुङ बाहुल्यता भएको ठाउँमा पनि नियमित फिल्म प्रदर्शन गर्ने योजना छ,’ उनले भने ।

यसअघि हलमा प्रदर्शन भएका ‘कर्म क्याः’ र ‘रिंजे नासा’ पहिले नै प्रर्दशन भएकाले हलमा दर्शकको उतिसारो साथ नपाए पनि ‘शिरसुबा’ले राम्रो साथ पाइरहेको जिफान अध्यक्ष भोजबहादुर गुरुङ बताउँछन् । ‘तेस्रो दिनसम्मको दर्शकको उपस्थिति हेर्ने हो भने अत्यन्तै राम्रो ग्रस कलेक्सन भइरहेको छ,’ उनले भने ।

शिरसुबा जिफान संस्थापक अध्यक्ष माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म हो । यसमा घान्द्रुक गाउँ वरिपरि रहेर वैदेशिक रोजगारीले पारिवारिक सम्बन्धमा पारेको प्रभावलाई समेटिएको छ ।

गुरुङ फिल्म निर्माण हुन थालेको करिब १५ वर्षपछि अर्थात् २०५६ सालमा पहिलो पटक जिफान स्थापना भएको थियो । जिफान स्थापना भएपछिमात्रै संस्थागत रुपमा गुरुङ फिल्म दर्ता हुन थालेको हो । जिफानका अनुसार अहिलेसम्म करिब १ सय ४४ को हाराहारीमा गुरुङ फिल्म बनिसकेका छन् ।

जिफानका अनुसार वर्षमा औषतमा ५ वटा गुरुङ फिल्म बन्ने र प्रतिफिल्म करिब ३० लाख रुपैयाँ लगानी गरिँदै आइएको छ ।

‘यसरी हेर्दा वर्षमा करिब १ करोड ५० लाख हाराहारीमा गुरुङ फिल्ममा लगानी हुँदै आएको छ,’ अध्यक्ष गुरुङले भने, ‘यो भनेको नेपाली भाषाका फिल्मसँग सबै हिसाबले हामी सजिलै प्रतिस्पर्धा गर्न सक्ने अवस्था हो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *