बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री – Nepal Press

बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री

ढाका । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् ।

भ्रमणमा संलग्न नेपाली संचारमाध्यमसँग कुरा गर्दै मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए ।

मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच सोमबार भएका द्विपक्षीय भेटवार्ता र अन्य छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले जनाए ।

भेटवार्ताका क्रममा नेपालले आफ्ना उत्पादनहरुको बङ्गलादेशमा सहज व्यापारिक पहुँचका लागि प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जनाए ।

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा एके अब्दुलले सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए भने मन्त्री ज्ञवाली र विदेशमन्त्री अब्दुलबीच ‘साइडलाइन’ वार्ता भएको थियो ।

ती भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढाउन सघन छलफल भएको र औपचारिक सम्बोधनका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै मन्त्री ज्ञवालीले ऊर्जा, पर्यटनलगायत व्यापार प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको जानकारी दिए ।

बङ्गलादेशसँग भएको रोहनपुर-सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’को पत्राचार आदानप्रदानको सहमतिले नेपालले तेस्रो मुलुकसँग व्यापार सुगमता पाउने निश्चित भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

नेपालसँगको व्यापार घाटा कम गर्न बङ्गलादेशले लगाएको अतिरिक्त भन्सार शुल्क घटाउन र नेपाली वस्तु तथा उत्पादनलाई यहाँ सहजरुपमा प्रवेश पाउनका लागि आफूहरुले प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

नेपालको धागो निर्यात गर्ने मार्ग अपायक भएकाले त्यसलाई पायक बनाउन आग्रह गरिएको र नेपालबाट बङ्गलादेशमा ऊर्जाको व्यापारका लागि भारतसँग दुवैले थप छलफल गर्ने विषयमा साझा बुझाइ रहेको उनले बताए ।

दुई देशले क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा आफूहरुका साझा विषयलाई उठाउने र समृद्धिको यात्रालाई सँगसँगै अघि बढाउने सुखद् संयोग र सङ्कल्पमा दुवै देशको समानता पाइएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

समग्रमा राष्ट्रपति भण्डारीको भ्रमण कस्तो रह्यो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भने –“बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसर पारेर भएको यो भ्रमण आफैँमा महत्वपूर्ण छ । छोटो अवधिको यो भ्रमण उपलब्धिमूलक र सफल भएकोे छ । दुवै देशका सरकार र जनताका तहमा रहेको सम्बन्ध अझै सुदृढ भएको छ ।”

बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो ।

बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी हुन् । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्मशतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर