कांग्रेस नेतृत्वमा बुढाको दावी, क्रियाशील सदस्यमा युवा हावी – Nepal Press

कांग्रेस नेतृत्वमा बुढाको दावी, क्रियाशील सदस्यमा युवा हावी

काठमाडौं । मुलुककै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको नेतृत्वमा ७० माथिका ‘पाका’ नेताहरुको दावी रहेपनि क्रियाशील सदस्यहरुमध्ये ३८ प्रतिशत सदस्य युवा रहेका छन् ।

क्रियाशील सदस्यताको हालसम्म तयार भएको सदस्य संख्यामा ३७ दशमलव ८ प्रतिशत ४० वर्ष मुनिका मतदाता रहेका छन् ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पदाधिकारी बैठकमा प्रस्तुत गरेको विवरण अनुसार करिब ४० प्रतिशत सदस्यहरुको विवरण अद्यावधिक भइसकेको छ । सोमबार साढे २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा ३ लाख ९२ हजार ७ सय ९४ क्रियाशील सदस्यको विवरण अद्यावधिक भएको छ ।

जसमध्ये चालीस वर्ष ननाघेका सदस्यहरुको संख्या १ लाख ४८ हजार ६ सय ४० रहेको छ । ४० वर्ष नाघेका र ६० वर्ष नपुगेका कांग्रेस कार्यकर्ता भने ४८ प्रतिशत रहेका छन् । क्रियाशील सदस्यता छानबिन समितिका अनुसार हालसम्म १ लाख ८४ हजार ९ सय २ जना ४० वर्ष काटेका ६० वर्ष नपुगेका सदस्यहरु रहेका छन् । कांग्रेस कार्यालयले क्रियाशील सदस्यको संख्या झण्डै १० लाख पुग्ने अनुमान गरेको छ ।

सदस्यता छानबिन समितिका सदस्य समेत रहेका कांग्रेस युवा नेता प्रदीप पौडेल पार्टीमा युवाहरुको आकर्षण अझ बढाउनुपर्ने बताउँछन् । क्रियाशील सदस्यहरुको पूर्ण विवरण आउँदासम्म युवाहरुको संख्या अझ बढ्ने पौडेलको भनाई छ ।

‘अहिले हामीसंग ३ लाख ९२ हजारको सदस्यता अपडेट भएको छ । यो संख्या झण्डै १० लाख पुग्नेछ । युवा सदस्यको संख्या ५० प्रतिशतभन्दा बढी हुनुपर्छ भन्ने लागेको छ ’, पौडेलले नेपाल प्रेससंग भने । पार्टीले युवा मतदातालाई आकर्षित गर्न राजनीतिक रुपमा कतै आबद्धछ नभइसकेका युवा समेतलाई लक्षित गरेर कार्यक्रम अगाडि बढाए कांग्रेस युवाहरुकै पार्टी बन्ने पौडेलले बताए ।

कांग्रेसमा ६० वर्ष उमेर कटेका सदस्यहरुको संख्या भने १५ प्रतिशत रहेको छ । हालसम्म अद्यावधिक भएको क्रियाशील सदस्यहरु मध्ये ५९ हजार २ सय ५२ जनाको उमेर ६० वर्षभन्दा माथि रहेको छ । क्रियाशील सदस्यताको विवरण चैत १० गतेभित्र अद्यावधिक भइसक्नुपर्ने महाधिवेशन कार्यतालिकामा उल्लेख छ । शीर्ष नेताहरुबीच अझै केहीदिन क्रियाशील सदस्यताको काम निरन्तर राख्ने सहमति बनेको छ ।

सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार कांग्रेसको केन्द्रीय कार्यालयले निर्माण गरेको सफ्टवेयरमा सबै जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय समितिले सदस्यता विवरण अपडेट गरिरहेका छन् । ‘हाम्रो सफ्टवेयमा २ सय ७ सब डोमेनबाट सदस्यता विवरण भर्नुपर्नेमा अहिलेसम्म १ सय ३६ सबडोमेन क्रियाशील छन् । अरुले पनि छिट्टै भर्नुहुने विश्वास छ’, लेखकले भने ।

लेखकका अनुसार हालसम्म ६८ जिल्लाबाट क्रियाशील सदस्यता केन्द्रमा पठाउने कामको प्रारम्भ भएको छ । सबै जिल्लाबाट सदस्यता विवरण सफ्टवेयरमा आएपछि छानबिन समितिले विवाद टुंग्याएर सूचीलाई पूर्णता दिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर