बेलायतमा जनगणना सुरु : नेपालीलाई पनि सहभागि हुन आग्रह – Nepal Press

बेलायतमा जनगणना सुरु : नेपालीलाई पनि सहभागि हुन आग्रह

लन्डन । संयुक्त अधिराज्य बेलायतमा आज जनगणना हुँदैछ । बेलायतका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा हुन गइरहेको राष्ट्रिय जनगणनामा सहभागिता जनाउन नेपाली समुदायलाई पनि आग्रह गरिएको छ ।

“जनगणना नियमित प्रक्रिया भए पनि यसले पहिचान स्थापित गर्न सहयोग पुर्‍याउँछ,” बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान क्षेत्रमा प्राध्यापनरत कृष्ण अधिकारीले भने, ‘यहाँ रहेका नेपालीलाई एकताबद्ध बनाउने माध्यम बनेको जनगणनाले नेपाली समुदायको सशक्तीकरणमा पनि टेवा पुर्‍याउँछ । ”

उनले समुदायको सङ्ख्या धेरै भएपछि राष्ट्रिय तथा स्थानीय तहबाट निर्माण हुने योजना नेपालीको मागअनुसार बनाइन्छन् भन्दै स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा आफ्नै भाषामा प्राप्त हुने समेत बताए ।

गैरआवासीय नेपाली सङ्घ यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष दीपक श्रेष्ठले जातिय पहिचानको महलमा नेपाली लेख्ने सहमति भएको जानकारी दिँदै जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन पनि सञ्चालन गरिएको बताए ।

पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएको सरकारी तथ्याङ्क छ । यो सङ्ख्या अहिले दोब्बर बढ्नसक्ने अनुमान गरिएको छ । लन्डन बोरो अफ वारनेटका उपमेयर लक्ष्यबहादुर गुरुङले फाराम भर्दा जातीय पहिचान र भाषाको महलमा नेपाली लेखेर पहिचान स्थापित गर्न आग्रह गरिएको बताए ।

इङ्ल्यान्ड र वेल्समा १८ वटा, स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवस्था गरिएको छ ।

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके, लन्डनको दक्षिणपूर्वी संयोजक तीर्थ पौडेलले अस्तित्वको पहिचान भए अल्पसङ्ख्यकले पनि अधिकारबाट वञ्चित हुन नपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *