बालबालिकासँग प्रधानमन्त्री : सिर्जनात्मक बन्नुपर्छ, मेहनत गरेर प्रगति गर्नुपर्छ – Nepal Press
बालबालिकासँग प्रधानमन्त्री : सिर्जनात्मक बन्नुपर्छ, मेहनत गरेर प्रगति गर्नुपर्छ
नेपाल प्रेस २०७७ चैत ९ गते १७:१८
२०७७ चैत ९ गते १७:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरूलाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न प्रेरित गरेका छन् ।

बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याहरू र आफ्ना सुझावहरू दिनका लागि देशका विभिन्न भागबाट बालुवाटार आइपुगेका बालबालिकाहरुलाई प्रधानमन्त्रीले पूर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताए ।

‘तपाईंहरुले सिर्जनात्मक बन्दै नयाँ रेकर्ड बनाउनुपर्छ’, प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्रीले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढंगले सहभागी हुन सुझाव दिएका छन् । नेपालका बालबालिकाहरू ज्ञानमा निपुण तथा आविष्कारक पुर्वजको सन्तति भएको उल्लेख गर्दै प्रधानमन्त्रीले मेहनत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिकाहरु सक्षम हुने बताएका छन् ।

पुर्वजहरुले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको पनि उनले बताए । ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहनत गरेर प्रगति गर्नुपर्छ’,बालबालिकाहरूसँग प्रधानमन्त्रीले भने ।

बालबालिकाको क्षेत्रमा कामगर्ने सँस्थाहरूको समूह कन्रसोटियम नेपालद्वारा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरुले परिवार र समाजमा बालमैत्री वातावरण बन्नु पर्ने, बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागू गर्नुपर्ने माग राखेका छन् ।













तस्बिरहरू: राजन काफ्ले