रणनीति बनाउन माधव नेपाल पक्ष आन्तरिक छलफलमा – Nepal Press

रणनीति बनाउन माधव नेपाल पक्ष आन्तरिक छलफलमा

काठमाडौं । संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ ।

माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक वैठक आज बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने एक नेताले बताए । बानेश्वरमा बस्ने बैठकपछिमात्र माधव नेपाल पक्षको औपचारिक धारणा आउने बताइएको छ ।

केन्द्रीय कमिटीको शनिवारको बैठकले गुटगत भेला गरेर पार्टीविरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण मागिएको पत्र भने अहिलेसम्म पठाइएको छैन । यसबीचमा नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला बेलाई अलग नेतृत्व चयन प्रक्रिया जारी राखेको छ भने अब जिल्ला हुँदै तल्लो तहसम्म समानान्तर कमिटीहरु बनाउने क्रम बढेको छ ।

नेपाल पक्षमा एमालेभित्रै बसेर संघर्ष गर्ने कि तल्ला तहसम्म कमिटीहरु पुनर्गठन गरेर माओवादीसँग पुनः एकतामा जाने भन्ने दुवै कोणबाट बहस चलेका छन् । तर नेताहरु केही समय एमालेमै समानान्तर कमिटीहरुको अभ्यास गरेर अन्तरसंघर्षलाई उत्कर्षमा पुर्‍याउने पक्षमा देखिन्छन् ।

पार्टीलाई सर्वोच्च अदालतको फैसलाले २०७५ जेठ २ गतेको अवस्थामा फर्काइदिएकाले सबै संरचनाहरु सोही ठाउँमा पुगेको तर्क नेपाल पक्षको छ । ओलीले त्यसलाई नमानेकोले फैसला कार्यन्वयनका लागि फेरि अदालत जानुपर्छ भन्ने बहस समेत नेपाल पक्षमा उठेको छ ।

यसबीचमा माओवादी अध्यक्ष प्रचण्ड एमाले र माओवादी ब्युँताउने फैसलाविरुद्ध न्यायिक पुनरावलोकनमा जाने तयारीमा छन् । नेपाल पक्षका बरिष्ठ अधिवक्ताहरुले प्रचण्डलाई साथ दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर