माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नहुँदासम्म यही सरकारले निरन्तरता पाउँछ: काँग्रेस नेता महत – Nepal Press

माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नहुँदासम्म यही सरकारले निरन्तरता पाउँछ: काँग्रेस नेता महत

रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुँदासम्म यही सरकारले नै निरन्तरता पाउने बताएका छन् ।

उनकै पार्टीका केही नेताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र अन्य दलहरू मिलेर सरकार बनाउनुपर्ने बताए पनि प्रेस युनियनले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीले समर्थन फिर्ता लिएपछि मात्रै काँग्रेसले विकल्प सोच्ने बताएका हुन् । महतले वर्तमान सरकारको विकल्पका लागि अन्य दलहरूसँग हुने सम्झौतामा भर पर्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिएका छन् ।

ओली र प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा पनि किने काँग्रेसले नेतृत्व नलिएको भन्ने पत्रकारको प्रश्नमा डा.महतले मौखिक प्रस्तावले मात्रै नहुने भन्दै लिखित प्रस्ताव नआएकाले पार्टीले निर्णय नगरेको बताए । महतले भने, ‘मुलुकको विकास र समृद्धिका लागि विकल्प शक्ति नै काँग्रेस नै हो ।’

महतले वर्तमान सरकारले काँग्रेसका पालामा भएका राम्रा कामलाई पनि निरन्तरता दिन नसक्दा र पूँजीगत खर्चमा भ्रष्टाचार हुँदा विकास नभएको आरोप लगाएका छन् ।

उनले पूँजीगत खर्च न्यून हुँदा विकास निर्माणका काम राम्रो नभएको र मुलुकको विकासले गति लिन नसकेको बताएका हुन् । सरकारले हरेक क्षेत्रमा राम्रा र योग्यलाई नभई कनिष्टलाई मात्रै नियुक्ति दिएको बताउँदै महतले अर्को सरकार बने ती नियुक्तिहरू उल्टाउनु पर्नेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर