विराटनगरमा फेरि भेटिन थाले कोरोनाका नयाँ संक्रमित – Nepal Press

विराटनगरमा फेरि भेटिन थाले कोरोनाका नयाँ संक्रमित

जनस्वास्थ्यविद् भन्छन्- नजरअन्दाज नगरौं

विराटनगर । विराटनगर महानगरपालिकामा चार जना कोरोनाका नँया संक्रमित भेटिएका छन् ।

कोभिड-१९को संक्रमितदर केही महिनायता घटे पनि पुनः नयाँ संक्रमति भेटिन थालेका हुन् । महानगरपालिकाभित्र बिहीबार तीन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् ।

कोशी अस्पतालको पिसीआर ल्यावमा कुल ३० जनाको पिसीआर परीक्षण गर्दा चार जनामा कोरोना पोजिटिभ भेटिएको क्लिनिकल माइक्रो बायोलोजिष्टि प्रणवकुमार यादवले बताए । नँया सक्रमिति चार जना नै भारत गएर फर्किएका थिए ।

यादवका अनुसार पछिल्लो दिनमा नयाँ कोरोना संक्रमित हुनेको दर शुन्यमा झरेको थियो । तर, पुनः संक्रमितहरू देखिन थालेपछि जोखिम बढ्दो रहेको उनले बताए ।

स्वास्थ्य मापदण्ड अपनाउन सुझाव
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले केही दिनयता भारतका विभिन्न सहरमा कोरोनाका नयाँ संक्रमित बढेकाले खुला सिमानाको कारण नेपालमा पनि संक्रमण बढ्ने जोखिम रहेको बताए ।

सीमा क्षेत्रको आवतजावतमा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेशको व्यवस्था गर्न आवश्यक रहेको उनको सुझाव छ । जनस्वास्थ्य विज्ञ डा नवराज सुब्बाले कोरोना संक्रमण बढ्ने सम्भावना उच्च हुँदै गएकाले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने काममा सरोकारवाला निकाय लाग्नुपर्ने बताए ।

‘विश्वका कतिपय मुलुक पुनः कोरोना कहरमा फसेका छन् । यस्तो अवस्थामा नेपालमा पनि नयाँ सक्रमित भेटिन थालेका छन् । सुरक्षाका निम्ति जोखिम आंकलन आजैबाट गरी त्यसका लागि आवश्यक सावधानी अपनाउनु पर्नेछ,’ सुब्बाले भने ।

उनले खुला नाका भएकाले नेपाल प्रवेश गर्ने मानिसको स्वास्थ्य जाँच गराएर मात्र प्रवेश गराउन जोड दिए । पुनः माहमारी फर्किएमा नेपालले धेरै आर्थिक र सामाजिक क्षति व्यहोर्नुपर्ने उनले बताए ।

सिडिओ भन्छन्- सजग बनौं
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला संक्रमित बढ्दै गएकाले आवश्यक सतकर्ता अपनाउन आग्रह गरे । संक्रमण रोक्न थप योजना बनाउने क्रममा रहेको उनले बताए ।

‘कोराना रोकथाम र नियन्त्रणका लागि अहिले केही योजना बनाइएको छैन,’ प्रजिय निरौलाले भने, ‘नयाँ संक्रमित हुनेको दर बढ्दै गएमा भोलिका दिनमा आवश्यक तयारी गर्नुपर्ने हुन्छ ।’

उनले अहिलेको अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्नुपर्ने र कोरोनाविरुद्धको खोप लगाउने कार्र्य प्रभावकारी बनाउन आफूहरू लागिपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर