दुई शताब्दी पुरानो घरमा सयथरी स्वादका चिया – Nepal Press

दुई शताब्दी पुरानो घरमा सयथरी स्वादका चिया

रुपन्देही । बुटवलको बटौलीस्थित निमचोकमा उभिएको छ, एउटा पुरानो घर । दुई सय वर्षे इतिहास बोकेको उही सुनसान घरमा अब मानिसहरूको चहलपहल देखिन थालेको छ ।

दिनहुँ त्यहाँ हँसिला मानिसहरू आउँछन्, स्वादिला चियाका चुस्की लिन्छन् र सिर्जनात्मक संवादहरू गर्छन् ।

फिल्म निर्देशकसमेत रहेका व्यवसायी गणेश पाण्डेले चियावाला सञ्चालनमा ल्याएपछि वरिपरीको रौनक नै फेरिएको हो ।

प्राचीन शैलीले निर्मित्त उक्त घरमा चिया पसल खोल्न पाउँदा मख्ख छन् पाण्डे । ‘यो घरमा चियावाला एक पसल मात्र होइन, आधुनिक र मौलिकताको संगम हो । यहाँ थुप्रै सपना सजाउन सकिन्छ,’ पाण्डे भन्छन् ।

दुई शताब्दीको बीचमा निमचोकमा के–के परिवर्तन भए ?  साक्षी छ यो घर । मणिराज मास्के मूली थिए यस घरका । फौजदार मास्के सन् १८७१ मा नेपाल र अंग्रेज युद्धताका यही घरबाट सहयोगको इन्तजाम गर्थे र सेनालाई रासनपानीको प्रबन्ध पनि ।

वर्षौंदेखि अलपत्र परेको त्यही घरमा गणेशले साजसज्जा गरे । पुर्ननिर्माण गरेर कलात्मक बनाए । र एक महिनायता चियाको स्वाद चखाउन सुरु गरे । ‘यही इतिहासका कारण पनि चियावाला लोकप्रिय हुन्छ भन्नेमा विश्वास छ,’ सञ्चालक पाण्डे भन्छन् । उसो त उनी सिर्जनशीलता र नवीतामा खुब रुचि राख्छन् ।

पहिले गणेशका हजुरबुवा यज्ञप्रसादले स्याङ्जाको कारिकोटमा चिया पसल चलाएका थिए । ०३४ सालतिर बुटवलमा गणेशका बुवा घनश्यामले अमरपथमा काठको टंकी बनाएर चिया पसल चलाए ।

बावुले चलाएको चिया पसल हेर्दै हुर्केका गणेशले काठमाडौं आलोकनगरमा ०७६ पुसमा चियावाला सञ्चालन गरे । ‘क्रियटिभ सर्कल’ मजघट गराएर व्यवसायलाई नाफामा लगेका पाण्डेले यसलाई विस्तार गर्ने सोच बनाए । ‘त्यसपछि मेरो ध्यान बुटवलमा गयो,’ उनी भन्छन् ।

पेसाले रंगकर्मी हुन् उनी । ५ वर्ष विभिन्न देशमा बसेर फिल्म मेकिङको कोर्स गरे उनले । काठमाडौं आएर फिल्म निर्माण गरे ‘गाजाबाजा’ । त्यसपछि व्यवसायमा हात हालेका उनले पछाडि फर्कनुपरेको छैन ।

कस्ता चिया पाइन्छ त यहाँ ?

पाण्डे भन्छन्, ‘मेरो खुशी चिया, रोयल चिया, आइस चियाजस्ता ४० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मका चिया पाइन्छ ।’ चियाघरमा चिया पिलाउनु मा उनको उद्देश्य हैन । ‘यहाँ चिया पिउन मात्र हैन, नयाँ कुरा सिक्न, विचार विमर्श गर्न र नयाँ कुरा साेच्ने वातावरण बनाइदिनु पनि मेरो उद्देश्य हो,’ उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर