व्यापार घाटा बढ्दो – ८ महिनामा ८० अर्बको निर्यात, ९ खर्ब ४३ अर्बको आयात – Nepal Press

व्यापार घाटा बढ्दो – ८ महिनामा ८० अर्बको निर्यात, ९ खर्ब ४३ अर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विदेशबाट ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ । सोही अवधिमा नेपालबाट भने ८० अर्ब रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ ।

चालू आर्थिक वर्षको ६ महिनासम्म व्यापार घाटा खुम्चिँदै गएकोमा ८ महिनामा आइपुदा नेपालको वैदेशिक व्यापार घाटा वृद्धि भएको हो । फागुनमा महिनामा आयात र निर्यात दुवै वृद्धि भएको तथ्याङक विभागले प्रकाशित गरेको तथ्याङकले देखाएको छ ।

नेपालले आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा ८ खर्ब ६३ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ । जुन, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ४९ अर्बमा सीमित थियो । माघसम्ममा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो ।

सो अवधिको अघिल्लो वर्षमा ७ खर्ब ३८ अर्ब रुपैयाँ थियो । चालू आर्थिक वर्षको ८ महिनामा आएर विदेशबाट नेपालतर्फ आउने आयातको परिणाम बढेको छ । तथ्यांक अनुसार अघिल्लो वर्षको ८ महिनामा नेपालले ९ खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको थियो ।

यस वर्षको फागुन महिनासम्ममा नेपालले विदेशबाट ९ खर्ब ४३ अर्ब रुपैयाँको आयात गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा १.६३ प्रतिशतको वृद्धि हो । नेपालबाट विदेशतर्फ जम्मा ८० अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष नेपालबाट विदेशतर्फ ७४ अर्ब ९० करोड रुपैयाँको निकासी भएको थियो ।

८ महिनामा नेपालबाट भारततर्फ प्रशोधित भटमासको तेल, चिया र अलैँचीलगायत बस्तुको निकासी वृद्धिहुँदा समग्र निर्यातमा भने केही सुधार देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर