साउनसम्ममा लुम्बिनी सभाहल बनिसक्ने, सभाहल दक्षिण एसियाकै नमूना – Nepal Press

साउनसम्ममा लुम्बिनी सभाहल बनिसक्ने, सभाहल दक्षिण एसियाकै नमूना

रुपन्देही । २०७४ सालको बुद्धजयन्तीका दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजिक कार्यक्रमका लागि बनाइएको मञ्च हावाहुरी र झरीले भत्काइदियो । मञ्च मर्मतपछि भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच हजार क्षमताको सभा हल बनाउने घोषणा गरे ।

२०७५ सालको बुद्ध पूर्णिमाका दिन शिलान्यास भएको ध्यानकेन्द्र निर्माणको पहिलो चरणको काम सम्पन्न भएसंगै अहिले दोस्रो चरणको काम भइरहेको छ । सभाहल निर्माणको काम आगामी साउनसम्ममा सकिने बताइएको छ ।
तीन सय ८६ दशमलव ८८ वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको डिजाइन दक्षिण एसियाकै नमूना हुने बताइएको छ ।

लुम्बिनी विकास कोषका इन्जिनियर एवं योजना प्रमुख सरोज भट्टराईले नेपालकै ठूलो आधुनिक उक्त भवन ५ हजार क्षमताको सभाहल भनिए पनि हलमा ७ हजार कुर्ची राख्न सकिने बताए । सभाहल निर्माण भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न, साधना तथा ध्यान गर्न सजिलो हुनेछ । जसले लुम्बिनीको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने हुने उनले बताए ।

साउनसम्ममा सभाहल तयार हुने भएपछि यस क्षेत्रका व्यवसायीहरु पनि खुसी भएका छन् ।

ध्यान केन्द्रका रुपमा बनाउन लागिएको यो सभाहल यही चैत महिनामा सक्ने गरी निर्माण शुरु गरिए पनि कोरोना महामारीका कारण ०७८ साउन मसान्तभित्रै सम्पन्न हुने भएको हो ।

लुम्बिनीमा ध्यान गर्न, अन्तर्राष्ट्रिय सम्मेलनहरु एवं विभिन्न कार्यक्रमहरु गर्नका लागि आवश्यक सभाहल नभएपछि १७ बैशाख ०७५ (बुद्ध पुर्णिमा)मा राष्ट्रपति विद्यादेवि भण्डारीले उक्त सभाहलको शिल्यानास गरेकी थिइन् ।

पहिलो चरणअन्तर्गत सभा हल, दुई वटा शौचालय र कन्ट्रोल रुम बनाइएकोे छ । सभाहल तथा ध्यान केन्द्रमा मौसमअनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ ।

ध्यानकेन्द्रको छानो ५० एमएमको ईपीएस स्याण्डवीच प्यानलको ट्रसबाट बनेको छ भने यसको उचाई १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म छ । ध्यान केन्द्रमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरिएको छ ।

फाउन्डेसन माथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । छानामाथि बुद्धको आँखा समेत बनाइने छ । करिब ३२ करोड लागतमा पहिलो चरणको काम अनक अर्घाखाँची बाबुक प्रालिले निर्माण गरेको हो ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले पहिलो चरणको काम सम्पन्न भएसँगै एक महिनादेखि दोस्रो चरणको काम भइरहेको बताए । ‘अहिले दोस्रो चरणअन्तर्गत मुल भवनभित्रको हल फिनिसिङ, कलरिङ, बगैंचा निर्माण, वाल लगाउने, बाटो निर्माण, हेलिप्याण्ड निर्माण, चमेना गृह, शौचालय, साना दुई वटा अत्याधुनिक कोठा र साउन्ड सिस्टम राख्ने काम भइरहेको छ’ उनले भने ।

त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ वटा भाषामा ट्रान्लेट हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । ८ वटा ठाउँमा पाटेशनको काम हुनेछ । बस्नेतले भने, ‘अहिले दोस्रो चरणको काम हामीले गरे पनि ०७८ सालको बुद्धजयन्ती हामीले नयाँ भवनमा गर्न सक्ने भएका छौ । संरचना तयार भएको छ ।’

लुम्बिनी विकास कोषका इन्जिनियर एवं योजना प्रमुख सरोज भट्टराईले ३५ करोडको लागतमा दोस्रो चरणको काम एक महिना अघिदेखि भइरहेको बताए । लुम्बिनी अर्घाखाँची बावुल निर्माण कम्पनीले ०७८ को साउन मसान्तसम्म सक्ने गरी काम अगाडि बढाएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “साउनसम्ममा लुम्बिनी सभाहल बनिसक्ने, सभाहल दक्षिण एसियाकै नमूना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर