राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म (फोटो/भिडियोसहित) – Nepal Press
राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म (फोटो/भिडियोसहित)
पवित्रा ढकाल २०७७ चैत ६ गते ९:३४
निशान्त सिंह गुरुङ्ग २०७७ चैत ६ गते ९:३४

काठमाडौं । काठमाडौंको थापाथलीमा नेपाल राष्ट्र बैंकको नयाँ भवन भइरहेको छ । दुई वर्षअघि शुरु भएको भवन निर्माणका काम करिब ८० प्रतिशत सकिएको छ ।

बैंकको अर्को भवन बालुवाटारमा निर्माणाधीन छ । उक्त भवनको पनि करिब ५३ प्रतिशत निर्माण कार्य सकिएको बैंकका सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले जानकारी दिए । नयाँ भन्ने भवन

अत्याधुनिक र सुविधासम्पन्न हुने बैंकका सह–प्रवत्ता नारायण प्रसाद पोखरेले बताए । जहाँ सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरिएको छ । साथै भवन निर्माणमा नयाँ प्रविधि प्रयोग गरिएको छ ।

उनका अनुसार २०७२ सालको भूकम्पले बैंकको केन्द्रीय कार्यालय तथा थापाथलीको भवन क्षतिग्रस्त भएपछि त्यसलाई भत्काएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको समन्वयमा नयाँ भवन निर्माण शुरु गरिएको हो ।

‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म

नेपाल राष्ट्र बैंकले २०१३ साल वैशाख १० गते न्यूरोडस्थित ‘रेन बसेरा’ भन्ने एक घरमा सामान्य घर भाडामा कार्यालय स्थापना गरेको थियो । बैंकका पूर्वकार्यकारी निर्देशक भोलाराम श्रेष्ठका अनुसार ‘रेन बसेरा’बाट बालुवाटारको ललिता भवन र थापाथलीको सिंह महलमा सारिएको थियो ।

अहिले थापाथलीमा निमार्णाधीन भवन ४२ रोपनी तीन आना दुई पैसा जग्गामा फैलिएको छ । साथै अहिले बनेको भवन ६ तलाको हुने निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार यो भवन निर्माण करबाहेक एक अर्ब ७७ करोड रुपैयाँमा बन्नेछ ।

यसैगरी बालुवाटारको भवन पनि ६ तलाको बन्नेछ । पहिलो तलामा ढुकुटी रहने निर्देशक अधिकारीले बताए । र, दोस्रो तलामा पार्किङ रहने छ । निर्देशक अधिकारीका अनुसार बैंकको ढुकुटीमा सुन, चाँदी, रुपैयाँ, पैसालगायत सम्पत्ति राखिनेछ । दुवै भवनमा दुई तला बेसमेन्ट रहनेछन् ।

बालुवाटारको भवन ६१ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यो भवन निर्माणका लागि दुई अर्ब आठ करोड रूपैयाँ बजेट छुट्याइएको छ । ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७५ साल फागुनमा ‘समानान्तर जेभी’सँग भवन निर्माणसम्बन्धी सम्झौता भएको थियो । बैकका अनुसार दुवै पुराना भवन भत्काएर नयाँ भवन बनाइएको हो ।

थापाथली बैंकको निर्माण कार्य लगभग सकिएको छ । फिनिसिङ, आर्किटेक, फर्निचर तथा क्यामरा जडान गर्ने जस्ता कामहरु धमाधम भइरहेको भवन निर्माण कम्पनीका इन्जिनियर सुधन राउतले बताए ।

उनका अनुसार नयाँ भवन पनि पहिलाको ललिता र सिंह महलको मौलिकता झल्कने गरी बनाइएको छ, बनाइँदै छ । ‘बैंकको आवरणमा परिवर्तन गरिएको छैन । यो पुरानो बैंकको डिजाइनमा ‘न्यू क्लासिकल लुक’ मा निर्माण गरिएको हो । बाहिरबाट देख्दा पहिलाको जस्तै देखियोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

उनका अनुसार यो डिजाइन ‘एन आर आर्किटेक्चर’ले गरेको हो । नयाँ भवनमा पहिलाकै जस्तो झ्याल, ढोका, तथा बुट्टा निर्माण गरिएको छ । यसको फिनिसिङ आवरण पहिलाको दरवार जस्तै देखिने बताउँछन् उनी ।

थापाथलीस्थित भवनको बैंकको स्थापना दिवस पारेर वैशाख १४ गते उद्घाटन गर्ने योजना भएको प्रवक्ता पोखरेलले बताए ।