नेपालमै पहिलोपल्ट फ्रेन्चाइज फुटबलको अक्सन आज ? – Nepal Press

नेपालमै पहिलोपल्ट फ्रेन्चाइज फुटबलको अक्सन आज ?

काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीले बैशाखमा आयोजना गर्न लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताका लागि आज खेलाडी लिलामी अर्थात अक्सन हुँदैछ । अक्सन विहान ११ बजेदेखि सुरु हुनेछ ।

नेपालमै पहिलोपल्ट शहरको नामबाट फ्रेन्चाइज टिम निर्माण गरी प्रतियोगिता आयोजना हुन लागेको हो । चौधरी ग्रुपको यो प्रतियोगिताका लागि सात शहरका नामबाट टोली निर्माण भइसकेका छन् ।

काठमाडौं रेजर्स, ललितपुर एफसी, पोखरा थन्डर्स, चितवन सिटी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर सिटी एफसी र धनगढी एफसी गरी सात टोलीले आजको अक्सनमा बिभिन्न समूहको वर्गीकरणमा परेका १ सय ५८ जना खेलाडीका लागि बोली लगाउनेछन् ।

अक्सनमा ए, बी र सी गरी खेलाडीहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई ए श्रेणीमा राखिएको छ । ए डिभिजन लिग खेलेका बी श्रेणी र अन्य खेलाडीहरु सी श्रेणीमा रहनेछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजकलाई १ सय ५८ जना खेलाडीको सूचि उपलब्ध गराएको छ । जसमा ३५ जना ए श्रेणीमा, ६५ जना बी श्रेणीमा र बाँकी सी श्रेणीमा छन् ।

एउटा क्लबले अक्सनमा घटिमा १० लाखदेखि बढीमा १५ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् । श्रेणीअनुसार खेलाडीको न्यूनतम मूल्य अहिलेसम्म तोकिएको छैन । एउटा क्लबले ए श्रेणीका बढीमा तीन खेलाडी किन्न पाउनेछन् । बी र सीका गरी ११ खेलाडी किन्न पाउनेछन् ।

एउटा फ्रेन्चाइज टोलीमा २० खेलाडी रहनेछन् । अक्सनबाट आएका १४, मार्की खेलाडी १, विदेशी खेलाडी ३ जना र स्थानीय खेलाडी २ जना रहनेछन् ।

सबै क्लबहरुले मार्की खेलाडी र प्रशिक्षकको टुंगो लगाइसकेका छन् । जसअनुसार काठमाडौंको मार्की खेलाडीमा गोलरक्षक विकेश कुथु, ललितपुरमा स्ट्राइकर अन्जन विष्ट, पोखरामा स्ट्राइकर नवयुग श्रेष्ठ, चितवनमा स्ट्राइकर खरत खवास, बुटवलमा गोलरक्षक विशाल श्रेष्ठ, विराटनगरमा डिफेण्र रन्जित धिमाल र धनगढीमा मिडफिल्डर विशाल राई छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर