सूचनाको ग्यापले हाम्रा साथीहरू उता पुग्दा अपमान भएछः नेपाल – Nepal Press

सूचनाको ग्यापले हाम्रा साथीहरू उता पुग्दा अपमान भएछः नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि पार्टीभित्र मान-अपमानको कुरा निकालेका छन् ।

आफ्नो गुटका केही नेताहरू ‘सूचनाको ग्यापले’ पार्टीको वैठकमा पुगेको तर उनीहरूमाथि अपमान भएको नेपालको भनाइ छ ।

आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको समापनका अवसरमा विभिन्न प्रश्नका जवाफ दिने क्रममा नेपालले यस्तो बताएका हुन् । नेपाल समूहका केही नेता आज एमाले संसदीय दलको वैठकका लागि बालुवाटार हिँडेका थिए । उनीहरुमध्ये केहीलाई बाटैबाट फर्काइएको थियो ।

यस विषयमा जवाफ दिँदै नेपालले भने, ‘हाम्रा साथीहरूलाई शुरूमा जान भनिएको थियो, तर पछि नजानु भनेर म्यासेज गरियो । तर, उहाँहरूले म्यासेज हेर्नुभएन छ । उहाँहरूलाई चित्त पनि दुख्यो । मैले माफी मागिसकेँ । यसलाई नकारात्मकरूपमा नसोच्नुहोला ।’

यसअघि प्रधानमन्त्रीले आयोजना गरेको चियापानमा पनि कम्युनिकेसन ग्याप भएको भन्दै नेपालले त्यहाँ पुगेका नेताहरूलाई पनि अपमान भएको बताए ।

‘केही कमरेडहरू झुक्किएर पुग्नुभएछ । तर, त्यहाँ उहाँहरूलाई सम्मान भएन । उहाँहरूले अपमान महसुस गर्नुभयो । आइसकेकालाई त सम्मान गर्नुपर्थ्यो नि । यस्तो अपमानपूर्ण व्यवहारबाट लक्षण राम्रो देखिँदैन । केपी ओलीजीको मानसिकता अत्यन्तै पूर्वाग्रहपूर्ण छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर