‘माओवादीसँग मिलेकै कारण एमालेमा अहिलेको स्थिति आयो’ (भिडियो) – Nepal Press
नेपाल टक

‘माओवादीसँग मिलेकै कारण एमालेमा अहिलेको स्थिति आयो’ (भिडियो)

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन एमालेको निर्देशनविपरीत एमालेको माधव नेपाल पक्षले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गरेपछि विवाद झन् चुलिएको छ । संस्थापन पक्षले भेलामा सहभागी भए कारबाही गर्ने चेतावनीबीच भेला हुनुले विवादलाई थप उत्कर्षमा पुर्याएको हो । माधव नेपाल पक्ष भेलामा केन्द्रित भइरहेका बेला संस्थापन पक्षले भने बिहीबार संसदीय दलको बैठक बोलाएको छ । राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकसमेत बहिष्कार गरेको माधव नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी नहुने बताइसकेको छ । प्रस्तुत छ, यसै परिस्थितिबीच नेकपा एमालेका महासचिव ईश्वर पोखरेलसँग गरिएको कुराकानी ।

नेकपा एमालेभित्र बढेको विवादको चुरो के हो ?

सबै कुरा सार्वजनिक भएकै छन् । यद्यपि, मूलतः यसमा दुई पाटा छन् । पहिलो, हिजो नेकपा एमाले र माओवादी केन्द्रबीचमा जुन किसिमले पार्टी एकीकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो । किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने । राजनीनिक स्थायीत्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो । तर सारमा विचारलाई व्यवस्थित गर्ने काम भएन । दोस्रो, संगठन र नेतृत्व व्यवस्थित गर्ने काम भएन । जसको असरस्वरुप अहिलेको स्थिति सिर्जना भयो ।

भनेपछि त्यतिबेला आलोकाँचो निर्णय भएछ, होइन त ?

पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरु थिए, त्यहाँ आग्रह, पूर्वाग्रह हावी भयो । जसले त्यो महान र पवित्र एकता परिपक्व हुन नपाइ सकियो । एकताको भ्रणमा नै समस्या थियो । त्यहीं उत्कर्षमा पुगेको हो अहिले ।

नेकपा एमालेभित्र हिजोदेखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा पक्षधरता, गुटबन्दीको स्थिति थियो । त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो । त्यसलाई व्यवस्थित गरिसकेका थिएनौं ।

त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयौं । एकतावद्ध भएपनि पूर्व घटकहरु भित्र रहेको अन्तरविरोधहरु चलायमान नै थिए । त्यही अन्तरविरोधको दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो ।

त्यसकारण अहिले जे भएको छ यसको पृष्टभूमिमा यो कारण हो भनेर बुझ्नु पर्छ । कारण ठीक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ ? भन्न सकिँदैन ।

अब एकताको विकल्प सकिएकै हो त ?

अहिले जुन उचाइमा हामी पुगेका छौ । यहीं उचाइमा चुनौतिहरु पनि छन् । चुनौतिको सामना गर्ने सामर्थ्य  पनि हामीले आर्जन गर्नुपर्छ । त्यो सामथ्र्यको लागि एउटा भावनात्मक आधार भनेको कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भन्ने हो । यो राष्ट्रको आवश्यकता पनि हो । जनताको चाहना पनि हो ।

विगतमा हामी जो जसले कमी कमजोरी गरेको भए पनि त्यसलाई एउटा वस्तुनिष्ट भएर आत्मसमीक्षा गर्नुपर्छ । कमजोरी स्वीकार्दा गल्ती हुँदैन, कमजोर भइँदैन । झन शक्ति प्राप्त हुन्छ ।

यतिबेला नेकपा एमालेको नाममा जे जस्ता काम भइरहेका छन्, त्यो दुखद छ । ती जनता र कार्यकर्ताले मन नपराउने कुराहरु हुन् । जुन बन्द गर्नु पर्छ । र, नयाँ उचाइमा एकताको अठोट गर्नुपर्छ । यो अहिलेको आवश्यकता हो ।

आफूहरुले चाहिँ केही गल्ती गर्यौं जस्तो लाग्दैन ?

यो गल्ती कमजोरीको कुरा मात्रै होइन । पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि शतप्रतिशतमा बुझ्नु हुँदैन । सापेक्षतामा बुझ्नुपर्छ । प्रतिशतमा बुझ्नुपर्छ ।

कमीकमजोरीहरु भएका हुनसक्छन् । कहीं धेरै मात्रामा कमजोरी भएका हुनसक्छन् । कहीं कमी होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भएपनि त्यो नेकपा एमालेभित्रकै साथीहरुबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । त्यो साहस गर्नुपर्छ ।

कमजोरी सच्याएर मान्छे सानो भइँदैन । यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिको पनि ‘मोरल हाई’ हुन्छ ।

पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो । पूर्व पार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो । अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो । यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्यौ ।

महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौं । त्यो भन्दा अझै छिटो हो भने माघमै गरौं । अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ । महाधिवेशनको तयारी गरौं भन्दा अहिले नै अध्यक्ष हट्नु पर्छ भन्नु कस्तो खालको गल्ती हो ? त्यस्तै पाँच वर्षका लागि चुनिएको प्रधानमन्त्रीलाई अहिले नै छाड्नुस्, भरे नै छाड्नुस् भन्ने पनि के हुन्छ ? बुझ्न जरुरी छ ।

माधव नेपाल पक्षले त एकता विथोल्ने काम अध्यक्ष ओलीबाटै भइरहेको आरोप लगाएका छन् नि !

कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाईयो । त्यो अभियोग अत्यन्तै संघीन छ । त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनका लागि मात्रै नालायक होइन, केपी ओली पार्टी सदस्य पनि रहन नसक्ने ।

त्यत्तिमात्रै होइन फौजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने माग राख्नु भयो । त्यो जग कसरी टिक्न सक्थ्यो ? त्यस्तोबेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफैं खुमलटारमा पुष्पकमल दाहालाई भन्नुभयो ‘तपाईले जुनखालको अभियोग लगाउनुभएको छ यो अभियोगलाई म अस्वीकार गर्छु, तपाईंले फिर्ता लिनुहोस् । पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौं । यदि गर्नुहुन्न भने आधा सताब्दीको मेरो राजनीतिक जीवनमाथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ । जनता न्यायाधीश हुन् । न्यायदिने जनतासंग मैले जानुपर्छ’ भनेर उहाँले बताउनुभयो । तर त्यसलाई गम्भीरताका साथमा लिइएन ।

अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त प्रचण्डले एमालेभित्र पनि खेले । यो कुरा माधवजीहरुले बुझ्नुपर्छ । योस्थितिमा अध्यक्षले पार्टी फुटाउन खोजेको भन्न मिल्दैन ।

हिजो नेकपा भएको कालमा जे सुकै भएको होस् । अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौ । अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो । त्यो पूर्व अवस्थामा आईसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्नका लागि कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ ।

परिआउँदा सल्लाहमै छुट्नपर्ने परिस्थिति पनि हुनसक्छ । तर हामीले त्यसो गर्नु भन्दा पनि अहिलेको अवस्थामा भरसक आत्मीक्षा गरेर, मिलेर नै अघि बढ्नुपर्छ । अब तनाव, ईश्र्या र द्वेषभावले होइन, सल्लाहमै अघि बढ्दा मनको चैन हुन्छ । पार्टी मिल्छ । जुन देश र कम्युनिष्ट आन्दोलनका लागि लाभदायक हुन्छ ।

आजको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद नआउने कुरा छ । तपाईंहरु के गर्नु हुन्छ ?

नेकपा एमालेको नवौ महाधिवेशले निर्वाचित गरेको अध्यक्ष केपी ओली । निर्वाचित गरेको महासचिव म । हाम्रो विधानले अध्यक्ष र महासचिवले कार्यकारी हैसियतले भूमिका खेल्छन् ।

संसदीय दलको बैठक दलको नेताका तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्रीले बोलाउनुभएको हो । त्यो बैठकमा आउनु सबैको कर्तव्य हो । बैठकमा हामीले बोलाएका छौ, उहाँहरु आउनुहुन्छ । त्यस विषयमा पनि आवश्यकताअनुसार छलफल हुन्छ ।

विशेष बैठक भनेर हामीले २८ गते(फागुन) गरेका थियौं । विशेष बैठक किन जरुरी थियो भने नेकपा एमालेको विधानलाई जस्ताको तस्तै राखेर बैठक नै गर्न सकिदैन्थ्यो । त्यसकारणले पनि विशेष बैठक भनेर गर्नुपर्यो । बाधा अड्काउ फुकाउन केही बैठक नगरी नहुने थियो ।

त्यो गरिसकेपछि बैठक औपचारिक ढंगले जानसक्थ्यो । अध्यक्ष र महासचिवको हैसियतमा त्यो बैठकको आयोजना भयो । त्यो बैठकले मूलतः ७ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरु तयार गरेको हो । प्रस्ताव ७ गतेको बैठकमा प्रस्तुत हुन्छ ।

तपाईंहरुलाई जनता, कार्यकर्तामाथि अन्याय गयौं जस्तो लाग्दैन ?

पार्टी जीवनमा हामीले अनेक उतारचढाव झेलेका छौं । हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन् । एकता टुटेर दुख पाएको अनुभव पनि छ । हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ । संयमता अपनाउनु पर्छ । त्यसैले अहिले निराश हुनुपर्ने स्थिति छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर