म्यानमार हिंसाको निन्दा गर्दै प्रधानमन्त्री ओलीद्वारा नेतृ सू ची लगायतको रिहाइ माग – Nepal Press

म्यानमार हिंसाको निन्दा गर्दै प्रधानमन्त्री ओलीद्वारा नेतृ सू ची लगायतको रिहाइ माग

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले म्यानमारमा चर्किएको हिंसालाई लिएर गम्भिर चासो र चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो राजनीतिक सौदाबाजी र नाफा नोक्सानको कुरा हैन । मानवताको कुरा हो ।’

उनले अगाडि भने- जनताको अभिमतलाई दबाएर निर्वाचित संघसंस्था मासेर, संविधान कानून उल्लंघन गरेर, बलप्रयोगबाट नेताहरुलाई गैरकानुनी ढंगले गिरफ्तार गरेर शासन चलाउन खोजिन्छ भने त्यसलाई उचित हैन भनेर भन्न अप्ठ्यारो मान्नु पर्दैन ।’

पक्राउ गरिएका निर्वाचित जनप्रतिनिधिलाई रिहा गर्न समेत प्रधानमन्त्रीले आग्रह गरे । ‘म्यानमारले जनतामाथिको दमन बन्द गर्नुपर्छ । जनताको अभिमतअनुसार, संविधानसम्मत ढंगले सरकार, शासन चल्नुपर्छ’ उनले भने, ‘हामी राज्यशक्तिका स्रोत जनता हुन भन्ने ठान्दछौं । गलत ढंगले उनीहरुको अभिमतलाई कुल्चनु उचित हैन ।’

नेपालले म्यानमारमा शान्ति चाहेको र समस्यालाई शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने समेत प्रधानमन्त्रीले बताएका छन् । अन्य देशको आन्तरिक मामिलामा टिप्पणी नगर्ने नेपालको नीति भएपनि लोकतन्त्र कुल्चिँदा चाहिँ नेपाल मौन बस्न नसक्ने प्रधानमन्त्रीले बताएका छन् ।

फेब्रुअरी १ मा म्यानमार सेनाले निर्वाचित नेतृ आङ साङ सू ची लगायतका नेतालाई पक्राउ गर्दै शासन आफ्नो हातमा लिएको छ । निर्वाचनमा धाँधली भएको आरोप सेनाको छ । सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर