ओखलढुंगाको जंगलमा अनियन्त्रित डढेलो, आसपासका बस्ति जोखिममा – Nepal Press

ओखलढुंगाको जंगलमा अनियन्त्रित डढेलो, आसपासका बस्ति जोखिममा

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ स्थित सालबोटै चुनिबोटेको वन क्षेत्रमा सल्केको आगो नियन्त्रणबाहिर जाँदा आसपासको बस्ति जोखिममा परेका छन् । मंगलबार राती १० बजेदेखि लागेको डढेलो २० घण्टा बितिसकेपनि नियन्त्रणमा आउन सकेको छैन ।

आगो फैलिने क्रम भईरहेकाले जंगल आसपासका शेर्मा, राजमाटे लगायतका बस्ति आगलागीका जोखिममा परेका हुन् । आगो नियन्त्रणका लागि विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ६० जना परिचालन गरिएको छ ।

टोली रातीको समयमा पनि त्यहीँ बसेर ओगो नियन्त्रणका लागि परिचालन हुने ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले जानकारी दिए । आगो नियन्त्रणका लागि स्थानीय पनि उनीहरुसँगै जुटेका छन् ।

‘जङ्गलभित्र चारै तर्फबाट आगो सल्किएको छ,’ डिएसपी काफ्लेले भने, ‘आगो नियन्त्रणका लागि प्रयास जारी छ । तर अहिलेसम्म प्रयास सफल हुन सकेको छन ।’

दुर्गम भेग भएकोले कठिनाइ भइरहेको डिएपी काफ्लेले बताए । आगोका कारण १ हजारभन्दा बढी हेक्टरको जगल जलेर नष्ट भएको छ । काफ्लेलेका अनुसार फायरलाइन बनाएर आगो नियन्त्रणको प्रयास भए पनि हावा चलेकाले आगो फैलिने क्रम रोकिन सकेको छैन ।

पहाडी क्षेत्र भएकाले जंगलमा पानीको समस्या एवं दलकल पनि जान नसक्ने भएकाले आगो नियन्त्रणमा थप चुनौति थपिएको डिएसपी काफ्लेले जानकारी दिए ।

चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले स्थानीयस्तरमा डढेलो नियन्त्रणबाहिर जाँदा डढेलो चुनिबोटे बस्तीसम्म आइपुग्ने खतरा रहेको बताए ।
‘आगलागीलाई बस्तीतिर फैलन नदिने प्रयास भइरहेको छ । तर, आगो नियन्त्रण गर्न सकिएको छैन,’ नेपाल प्रेससंग अध्यक्ष शर्माले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर