बुटवलमा बन्ने भयो जितगढी (बटौली) युद्ध संग्रहालय – Nepal Press

बुटवलमा बन्ने भयो जितगढी (बटौली) युद्ध संग्रहालय

२४ महिनामै सक्नेगरि निर्माण सुरु

रूपन्देही । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृति सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरि संग्रहालय निर्माण सुरु भएको छ ।

यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो ।

जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरेका छन् ।

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।

बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए ।

बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ ।

बुटवल -१ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहने छ ।

करिब ६ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।

बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीलगायतले निर्माणकार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रसंशा गरेका थिए ।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिवद्धता जनाए ।

उनले स्थानीय जनप्रतिनिधि, टोलविकास संस्था र स्थानीय समुदायको सहकार्य र समन्वयमा कामलाई प्रभावकारी बनाइने बताए ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले निर्माणकार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले गर्ने बताए ।

१ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदायस्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माणकार्य सक्ने प्रतिबद्धताले आफुहरुलाई खुशी लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर