मुख्यमन्त्रीको पुरानो फोटो अहिले किन भयो भाइरल ? – Nepal Press

मुख्यमन्त्रीको पुरानो फोटो अहिले किन भयो भाइरल ?

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई एउटा आमसभामा भाग लिन २० दिनअघि संखुवासभा गएको सन्दर्भ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । शेरधनकी पत्नी जाङ्मूले सो भ्रमणका तस्वीरहरु हिजो फेसबुकमा पोस्ट गरेपछि विभिन्न टिका–टिप्पणी भएका छन् ।

संखवासभा मुख्यमन्त्री राईको ससुराली जिल्ला पनि हो । जिल्लाको मकालु गाउँपालिकास्थित सेदुवा र नोर्बुको भ्रमणमा पुग्दा राई दम्पत्तिलाई स्थानीयवासीले न्यानो स्वागत गरेका थिए । तर, उनीहरु राज्यकोषको दुरुपयोग गर्दै हेलिकोप्टर चार्टर गरेर ससुराली गएको भनेर सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

मुख्यमन्त्रीको सचिवालयले भने हेलिकोप्टर चार्टर राज्यकोषको खर्चमा नगरिएको बतायो । सचिवालयका अनुसार मुख्यमन्त्री गत फागुन १३ गते मकालु गाउँपालिकामा तत्कालीन नेकपाको गाउँ कमिटीले आयोजना गरेको वृहत जनसभा लगायतका कार्यक्रमलाई सम्वोधन गर्न गएका थिए ।

‘ससुराली गाउँ पर्नु संयोग मात्र हो,’ मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने, ‘राज्यकोषको खर्चमा भ्रमण गरेको कुरा पुष्टि गर्न हामी चुनौति दिन्छौं ।’

मुख्यमन्त्री पत्नी जाङ्मुले आफ्नो स्टाटसमा आफ्नो जन्मस्थान भए पनि यो ठाउँमा आफू नबसेको उल्लेख गरेकी छन् ।

‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ,’ उनले लेखेकी छन्, ‘सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो । मेरा गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरेँ ।’

त्यस ठाउँमा सडक, विद्युत, शिक्षा, स्वास्थ्य र सञ्चार लगायतका पहुँच नपुगेको उनले उल्लेख गरेकी छन् । यस विषयमा मुख्यमन्त्रीको समेत ध्यानाकर्षण भएको उनको भनाइ छ ।
हेर्नुस् जाङ्मुले फेसबुकमा राखेका भ्रमणका केही तस्वीर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर