त्रिदेशीय आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल: उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा मार्च २३देखि २९ सम्म त्रिदेशीय आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने भएका छन् ।
दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसँगै बंगलादेश र किर्गिस्तान सहभागी हुनेछन् । किर्गिस्तानले यु–२३ टोली पठाउने एन्फाले बताएको छ ।
फिफाबाट स्वीकृति दिने प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा चल्ने र कूल चार खेल हुने एन्फाले बताएको छ । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
कोरोना भाइरसको महामारीका कारण विश्वकप तथा एएफसी एसियन कपको छनोट चरणका खेलहरू स्थगित भएपछि सिर्जना भएको अन्तर्राष्ट्रिय फुटबलको ग्याप भर्नका लागि एन्फाले यो प्रतियोगिताको आयोजना गर्न लागेको बताएको छ ।
एन्फाले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार मार्च २३ मा बंगलादेश विरुद्ध किर्गिस्तान खेल्नेछन् । त्यस्तै मार्च २५ मा नेपाल र किर्गिस्तान भिड्नेछन् ।
त्यस्तै, मार्च २७ नेपालले बंगलादेशसँग खेल्ने छ भने समूह चरणको खेलबाट शीर्ष दुई टोलीले २९ मार्चमा फाइनल खेल्नेछन् ।