माधव नेपालको ब्रिफिङ-ओलीले अल्मल्याउन छलफलको कार्ड फ्याँके – Nepal Press

माधव नेपालको ब्रिफिङ-ओलीले अल्मल्याउन छलफलको कार्ड फ्याँके

चैत ५ गतेसम्म ओलीले बोलाएको कुनै पनि छलफलमा नजाने

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुलाई अलमल्याउन मात्रै अध्यक्ष केपी शर्मा ओली छलफल गर्न अघि सरेको बताएका छन्।

दिउँसो धुम्बाराहीस्थित पार्टी कार्यालयमा ओली लगायतका नेताहरुसँग भएको छलफल लगत्तै एमालेको नेपाल पक्ष केन्द्रीय सदस्य र सांसदहरुसँग छुट्टै छलफलमा जुटेको थियो ।

नयाँ बानेश्वरको अर्याल होटेलमा जम्मा भएका केन्द्रीय सदस्य र सांसदहरुलाई ‘ब्रिफिङ’ गर्दै नेता नेपालले आफूले अध्यक्षको जिम्मेवारी पुरा गरेँ भन्ने देखाउन मात्रै छलफल गरेको बताए। ‘केपीले हामीलाई अल्मल्याउनको लागि वार्ता, छलफल र सहमतिको कार्ड फ्याँकेको हो,’ नेता नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने, ‘म अध्यक्ष हुँ, त्यसैले मैले जिम्मेवारी पुरा गरेँ । तर, यिनीहरु मानेनन् भन्ने एकखालको सन्देश दिन गरेको हो। हामी यसमा अलमलिदैनौं ।’

नेता नेपालले आफूहरुको गतिविधि ओलीको गतिविधिमा भर पर्ने बताएका थिए। ‘हाम्रो गतिविधि भनेको केपी ओलीको गतिविधिमा भर पर्छ,’ उनको भनाइ थियो, ‘हामीले जे गरिरहेका छौं, त्यो पार्टी एकतालाई अझ समृद्ध बनाउने उद्देश्यले गरिएको हो । केपी ओली विखण्डन गर्ने, कम्युनिष्ट आन्दोलनलाई ‘कोल्याप्स’ गर्ने पक्षमा छन्। तर, हामी यसलाई कुनै पनि हालतमा सफल पार्न दिँन्नौं ।’

नेपाल पक्ष चैत ५ गतेसम्म ओलीले बोलाएका कुनै पनि छलफलमा सहभागि नहुने भएको छ । त्यस्तै भोलिको चियापान र ७ चैतको केन्द्रीय कमिटी बैठकमा पनि सहभागि नहुने भएको छ। आफ्ना सामानान्तर गतिविधिलाई पनि नरोक्ने भएको छ ।

नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला राखेको छ । त्यस्तै ६ गते महिलाहरुको भेला राखेर विस्तारै सबै जनवर्गीय संगठनको भेला गर्ने तयारी नेपाल पक्षको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर