धुम्बाराही वैठकमा नेताहरूको बसाइ व्यवस्थापन : नेपाल पक्षलाई सम्मान – Nepal Press

धुम्बाराही वैठकमा नेताहरूको बसाइ व्यवस्थापन : नेपाल पक्षलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका दुई समुहबीच अहिले धुम्बाराहीस्थित पार्टी कार्यालयमा वैठक जारी छ ।

वैठकको बसाइ व्यवस्थापन हेर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेपाल पक्षलाई पुरानै मर्यादाक्रम अनुसार सम्मान दिएको देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको हँसिया-हतौडा अंकित ब्यानरका अगाडि नेताहरुले आसन जमाएका छन् । अगाडिको पंतिमा अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । उनीहरुको वरिपरी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त   छन् ।


बसाइको स्टाइल राउन्ड टेबल भए पनि सबै नेताहरूलाई छुट्टाछुट्टै टेबलको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीलाई विशेष आसन छैन

धुम्बाराही वैठकमा बसाइ व्यवस्थापनको अर्को विशेषता भनेको सबैको कुर्सी र टेबल उस्तै छन् । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि विशेष कुर्सी-टेबलको प्रबन्ध हुने गरेको थियो । त्यसलाई लिएर पनि नेपाल पक्षले बेलाबखत असन्तुष्टि जनाउने गरेको थियो । तर, आजको वैठकमा भने ओली र अन्य नेताहरुको कुर्सी-टेबल उही छ ।

केही दिनअघि बालुवाटारमा ओलीले विशेष वैठक बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । तर, पदाधिकारीहरु भने यथावत राखिएको संस्थापन पक्षले जनाएको छ । यद्यपि, मिडियामा भने ओलीले महासचिवबाहेक सबै पदाधिकारी हटाएको समाचारहरू आएका थिए । यसले माधव नेपाल समूह सशंकित बनेको थियो ।

झलनाथ अनुपस्थित

पार्टी संस्थापनसँग वार्ता गर्न माधव नेपालसहित उनको समूहका ६ जना छन् । संस्थापन पक्षबाट भने पाँच जना उपस्थिति छन् ।

एमालेका दोस्रो वरियताका नेता झलनाथ खनाल भने धुम्बाराही गएका छैनन् । वार्तामा जानुअघि वानेश्वरमा भएको आपसी वार्तामा भने झलनाथ सहभागी थिए । उनी धुम्बाराही वैठकमा नजानुको कारण भने खुलेको छैन ।


प्रतिक्रिया

2 thoughts on “धुम्बाराही वैठकमा नेताहरूको बसाइ व्यवस्थापन : नेपाल पक्षलाई सम्मान

  1. पार्टी मिल्नुको कुनै विकल्प छैन।मिलेर अगाडि बढे सबैले खुसी मनाउने छौं।

  2. पार्टी मिल्नुको कुनै विकल्प छैन।मिलेर अगाडि बढ्दा माहौल राम्रो बन्ने छ।टुक्रिएर जादा पार्टीको अस्तित्व रहने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर