काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो, वैशाखमा उद्घाटन हुने – Nepal Press

काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो, वैशाखमा उद्घाटन हुने

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ ।

निर्माणअन्तर्गत अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिले जानकारी दिएको छ।

निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमितरूपमा खटिइरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको भएको समितिको भनाइ छ ।

पुनःनिर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको बताइएको छ । अहिले समस्या नभएकाले सहजरूपमा काम भइरहेको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको हो ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम सकी आगामी वैशाखमा पुनःनिर्मित काष्ठमण्डप देख्न पाइन्छ ।

‘बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो’ भन्ने किम्बदन्ती रहेको छ ।

सातौँ शताब्दीको काष्ठमण्डप बाटनै नेपालको राजधानीको नाम काठमाडौँ रहन गहेको इतिहासमा उल्लेख छ ।

पुनःनिर्माणका लागि थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकतानुरूप चरण चरणमा ल्याइएको समितिले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर