प्रधानमन्त्रीले भने- माओवादीको समर्थन ममाथि कायम छ, विश्वासको मत किन लिने ? – Nepal Press

प्रधानमन्त्रीले भने- माओवादीको समर्थन ममाथि कायम छ, विश्वासको मत किन लिने ?

ठाकुरलाई प्रधानमन्त्रीको अफर गरेको छैन, गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादी केन्द्रले २०७५ सालमा दिएको समर्थन कायम रहेको भन्दै तत्काल विश्वासको मत लिन आवश्यक नरहेको बताएका छन् । उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने आशा पनि व्यक्त गरे ।

एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा बोल्दै ओलीले भने, ‘मलाई २०७४ सालको फागुन २७ गते माओवादी केन्द्रले दिएको समर्थन वापस भएको छैन । यो माओवादी केन्द्रले थाहा नपाएको कुरा पनि होइन । मैले फिर्ता गर्नुस वा नगर्नुस केही भनेको छैन । त्यसैले संयुक्त सरकारको हैसियत कायम छ ।’

माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाएको विषयमा भने उनले आश्चर्य प्रकट गरे । ओलीले भने, ‘संविधानको धारा ७६ को उपधारा २ अनुसार समर्थनप्राप्त सरकार चलेको छ । त्यसैले न राजीनामा दिन आवश्यक छ, न विश्वासको मत आवश्यक छ । मलाई जरुरी नै छैन ।

ममाथि विश्वास छँदैछ त किन लिने ?’ कसैले समर्थन फिर्ता लियो भने आफूसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहने ओलीले बताए । उनले थपे, ‘म कति पपुलर रहेछु भने मलाई सबैभन्दा मन नपराउनेले पनि ममाथिको समर्थन फिर्ता लिएको छैन ।’

उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री पदको अफर गरेको चर्चाका खण्डन गरे । ओलीले भने, ‘मैले उहाँलाई त्यस्तो अफर गरेको छैन र गर्दिनँ पनि । त्यो जनादेश विपरित हुन्छ ।’

जनता समाजवादीसँग संवाद जारी रहेको भन्दै उनले कुनै गलत सहमति भने नगरिएको बताए । रेशम चौधरीको सम्वन्धमा अरु नेतालाई सोध्न उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर