एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै फर्किए – Nepal Press

एमाले बनेका कर्णालीका सांसद विष्ट माओवादीमै फर्किए

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट फेरि नेकपा माओवादी केन्द्रमै फर्किएका छन् ।

दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै फर्किएका हुन् ।

आइतबार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात पार्टीमा फर्किएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ ले नेपाल प्रेसलाई बताए ।

‘हामीले उहाँसँग विभिन्न वैचारिक र सैद्धान्तिक बहस गरेका थियौं । त्यो बहसका आधारमा उहाँ नेकपा माओवादी केन्द्रमा आजै फर्किनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत पनि गर्नुभएको हो ’, शर्माले भने ।

पदको लोभमा फर्किएको भन्ने टिप्पणीबारे शर्माले भने, ‘उहाँलाई मन्त्री बनाउने या अन्य पद दिने भन्नेबारेमा केही सहमति भएको छैन । उहाँ आफै माओवादी आन्दोलनको जिम्मेवार नेता भएका कारण आत्मालोचना गरेर फर्किनुभएको हो ।’

विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनले केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

मुख्यमन्त्री शाहीले एमालेमा प्रवेश गरेका सांसदहरूलाई कारबाही गर्ने भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर