गोइत समूहको पर्चा भेटियो, नायब सुब्बासहित गम्भीर घाइते २ जनालाई काठमाडौं पठाउने तयारी – Nepal Press
लहान मालपोत विस्फोट

गोइत समूहको पर्चा भेटियो, नायब सुब्बासहित गम्भीर घाइते २ जनालाई काठमाडौं पठाउने तयारी

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ ।

च्यातिएको अवस्थामा गोइत समूहको पर्चा फेला परेको लहान प्रहरीले जनाएको छ । बम कसले र कतिबेला ल्याएर राखेको कुरा पत्ता लगाउन प्रहरीले अहिले सीसी क्यामेराको फुटेज हेरिरहेका छन् ।

बम विस्फोटमा ७ जना घाइते भएका छन् । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका-४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ । नायब सुब्बा यादव सिरहाको विष्णुपुर गाउँपालिका-३ का हुन् ।

मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको र विस्फोट भएपछि सेवाग्राहीसमेत ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ ।

घाइतेहरूको नामावली

१) शिव कुमार यादव, नायब सुब्बा (बिष्णपुर गाउँपालिका, सिरहा)

२) भोला बहादुर मगर, लेखापढी व्यवसायी

३) लक्ष्मी राना (३५), गोलबजार नगरपालिका ६ सिरहा

४) बेचनी मगर, गोलबजार नगरपालिका ६ सिरहा

५) लाल बहादुर बिश्वकर्मा (५२), सिरहा नगरपालिका १६

६) फूलकुमारी ठाकुर (३८), गोलबजार, सिरहा

७) बद्रिनारायण यादव (५४), भगवानपुर गाउँपालिका, सिरहा

८) दिनेश भण्डारी (३५), धनगडीमाई नगरपालिका ४ सिरहा

यो पनि पढ्नुस्: लहान मालपोतमा बम विस्फोट

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर