अब देशैभरका शहरमा ‘स्मार्ट लाइट’: आवश्यकताअनुसार आफैं चम्कन्छ, बाल्न–निभाउन नपर्ने – Nepal Press

अब देशैभरका शहरमा ‘स्मार्ट लाइट’: आवश्यकताअनुसार आफैं चम्कन्छ, बाल्न–निभाउन नपर्ने

काठमाडौं । ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट लाइट’को सफलतापछि विद्युत् प्राधिकरणले देशका विभिन्न शहरमा यसको विस्तार गर्ने भएको छ । अब काठमाडौंसँगै भरतपुर, पोखरा, कन्चनपुरलगायत देशका प्रमुख शहर तथा बजारमा ‘स्मार्ट लाइट’ जडान हुने भएको छ ।

एक वर्षअघि प्राधिकरणले ललितपुर महानगरका विभिन्न ठाउँमा ‘स्मार्ट लाइट’ जडान शुरू गरेको थियो । विद्युत् प्राधिकरणको ऊर्जा विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवाली ‘स्मार्ट लाइट’ विस्तार गरेसँगै यसले सडक बत्तीलाई व्यवस्थित गर्ने बताउँछन् ।

उनका अनुसार ‘स्मार्ट लाइट’ कम्प्युटर प्रणालीबाट चल्ने गर्छ । यसमा सबै कुरा स्वचालित हुन्छ । प्राधिकरणका अनुसार ‘स्मार्ट लाइट’ ले जाडो मौसममा साँझ ६ देखि राति ११ बजेसम्म चहकिलो उज्यालो फ्याँक्छ भने ११ देखि बिहान ४ बजेसम्म मध्यम उल्यालो । गर्मी मौसममा भने बेलुका ७ बजेपछि आफैं बत्ती बल्ने प्रणाली लागू गरिएको हुन्छ ।

ज्ञवाली भन्छन्, ‘स्मार्ट लाइटले विद्युत् खपतलाई पनि कम गर्छ । उल्यालो चाहिने समयमा चहकिलो र नचाहिएको बेलामा मधुरो हुने गरी लाइट मिलाइएको हुन्छ ।’

‘स्मार्ट लाइट’ आउनुपूर्व नेपालका मुख्य शहरका सडकमा सोलार जडान गरी बत्ती बालिने गरिएको थियो । सोलारबाट बालिएको बत्ती त्यति व्यावहारिक नभएको ज्ञवाली बताउँछन् । ‘सोलारको बत्ती छिटो बिग्रने, ब्याट्री फेरिरहनुपर्ने, पर्याप्त उज्यालो नदिने हुँदा सरकारलाई ठूलो आर्थिक भार थपेको छ’, उनले भने ।

नेपालमा पहिलो पटक प्राधिकरणले ललितपुर महानगरपालिकाको कुपण्डोल–सातदोबाटो, पुल्चोक–ग्वार्को, जावलाखेल–एकन्ताकुनासम्म स्मार्ट लाइट राखिसकेको छ ।

प्राधिकरणका अनुसार अहिले ललितपुरमा ७०० वटा बत्ती जडान गरिएको छ । ज्ञवालीका अनुसार ललितपुरमा दोस्रो चरणको लाइट राख्ने काम चाँडै नै शुरू गरिनेछ । पाँच करोड रुपैयाँको लागतमा ललितपुरमा यो कार्यक्रमले छोटो समयमा नै सफलता पाएको उनी बताउँछन् ।

सडकमा ‘स्मार्ट लाइट’ राखेपछि सर्वसाधारण तथा यात्रुलाई धेरै नै सहज भएको प्राधिकरणको ठम्याइ छ । ललितपुरमा ‘स्मार्ट लाइट’ राखिएपछि देशका विभिन्न नगरपालिकाले प्राधिकरणसँग यो प्रविधि राख्नका लागि प्रस्ताव गरेका छन् ।

चितवनको भरतपुर नगरपालिकाले ८० किलोमिटर क्षेत्रमा ‘स्मार्ट लाइट’ राख्नका लागि ठेक्का नै लगाइसकेको छ । प्राधिकरण र भरतपुर नगरपालिकाको वित्तीय सम्झौतामा १३ करोड रुपैयाँमा यसको ठेक्का लगाइएको हो ।

यसैगरी, कञ्चनपुरको भीमदत्त, झापाको कन्काई, उदयपुर, पोखरा, फिदिमलगायत २७ वटा नगरपालिकासँग प्राधिकरणले लागत साझेदारी गरेको छ । साझेदारीमा नगरपालिकाले ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत रकम लगानी हुनेछ ।

पोखरा महानगरपालिकाले ८० किलोमिटरमा ‘स्मार्ट लाइट’ जडानका लागि टेण्डर प्रक्रिया अगाडि बढाएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार काठमाडौं रिङरोडभित्रका सबै मुख्य ठाउँमा १३ करोड रुपैयाँको लागतमा ‘स्मार्ट लाइट’ राखिंदैछ ।

प्रबन्धक ज्ञवालीका अनुसार ‘स्मार्ट लाइट’ वातावरणमैत्री हुनुका साथै वैज्ञानिक पनि छ । यसले चरा–चुरुङ्गी र मानिसका आँखालाई पनि असर गर्दैन । उनका अनुसार यसले सडक बत्तीको दीर्घकालीन समस्यालाई समाधान गर्नेछ । ‘यो लाइट जडान गरेपछि कम्तीमा १० वर्षसम्म परिवर्तन गर्नुपर्दैन’, उनले भने ।

‘स्मार्ट लाइट’ को सबै सफ्टवेयर विलिङ हुने गर्छ । यो लाइट राखिएको कुनै पनि ठाउँमा बत्ती बिग्रिएमा सफ्टवेयर आफैंले सूचना दिने गर्छ, उनी भन्छन् ।

योसँगै प्राधिकरणले काठमाडौंका मुख्य शहरमा ‘माष्ट’ (कुनै पनि चोकको अग्लो ठाउँमा राखिएको लाइटले चारैतिर उज्यालो छर्ने) लाइट व्यवस्था गर्ने भएको छ । यसले आफ्नो क्षेत्रदेखि पाँच सय मिटर वरिपरि पूर्ण प्रकाश छर्छ । ‘यो रंगशालामा राखिने फ्लड लाइट जस्तो हो’, उनले भने ।

ज्ञवालीका अनुसार काठमाडौं भित्रका मुख्य ७० ठाउँमा ‘माष्ट’ राख्नका लागि टेण्डर भइसकेको छ । ‘स्मार्ट लाइट’ ले रातिको विद्युत् खपत बढाउनेछ । यसले समग्र अर्थतन्त्रमा ठूलो योगदान गर्छ । ‘हेर्दा एउटा लाइटको कुरा छ, तर यो समृद्धिसँग जोडिएको छ’ उनले भने, ‘उज्यालो हुनासाथ राति अबेरसम्म बजार खुल्छन् । मानिस अबेरसँग सहजै आवतजावत गर्न सक्छन् । उज्यालोमा सर्वसाधारण सुरक्षित गन्तव्यमा पुग्छन् ।’

प्राधिकरणले एक÷डेढ वर्षमा नै देशका मुख्य शहरमा लाइटको सबै समस्या समाधान गर्ने बताएको छ ।

ज्ञवालीका अनुसार प्राधिकरण देशका विभिन्न शहर र सार्वजनिक ठाउँमा झिलिमिली लाइट राख्ने योजनामा पनि छ । ‘स्मार्ट लाइट’ ले नेपालको पर्यटन व्यवसायमा पनि सहयोग पु¥याउने उनी बताउँछन् । ‘पर्यटक राति अबेरसम्म बजार र नयाँ ठाउँमा घुम्न मन पराउँछन् । उज्यालो लाइटले उनीहरूलाई सहजै घुम्न सघाउ पु¥याउँछ’, उनले भने ।

ज्ञवालीका अनुसार स्मार्ट लाइटको जडान निर्माणको ठेक्का जुन ठेकेदारले लिन्छ उसले पाँच वर्षसम्मको मर्मतसम्भार गर्नुपर्नेछ । लाइट बिग्रिएको ४८ घण्टाभित्र मर्मत गरिसक्नुपर्नेछ । यदि मर्मत नगरेको खण्डमा उसको बैंक ग्यारेन्टी जफत हुने ज्ञवालीको भनाइ छ ।

देशभरि नै ‘स्मार्ट लाइट’ विस्तार गरेसँगै यसलाई अझ व्यवस्थित बनाउनका लागि एक महिना अगाडि प्राधिकरणले ‘नेशनल स्मार्ट स्टेट लाइट प्रमोशन’ कार्यक्रम ल्याएको छ । अब यसैले नै ‘स्मार्ट लाइट’ को सबै कार्यक्रम हेर्नेछ ।

प्राधिकरणका अनुसार नेपालमा ‘स्माट लाइट’को अवधारणा दुई वर्षअघि मात्र भित्रिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *